Logo

Student Corner

म र मेराे जीवन

Written by: Manaswi Sapkota - 26004, Grade IX

Posted on: 19 January, 2023

बस चढ्दै थिएँ र मैले एउटा अनौठो मान्छे देखेँ । ऊ अग्लो थियो र टोपी लगाइरहेको थियो । म उभिरहेको थिएँ भने ऊ बसिरहेको थियो । ऊ किताब पढ्दै थियो । पुस्तककाे नाम थियो ‘शङ्का’। त्यो मान्छेले मास्क लगाएको थियो र उसका आँखा मात्र देखिन्थे । जब उसले मलाई हेर्‍याे, मैले उसलाई धेरै लामो समयदेखि हेरिरहेको रहेछु । मैले यति लामो समयसम्म उसलाई हेरिरहेको छु भन्ने पत्तै भएन । मैले अर्को दिशातिर हेरेँ र ऊ किताब पढ्न थाल्याे । बस राेकियाे र म बसबाट ओर्लेँ । मलाई थाहा छैन । मैले किन उसलाई अनौठो वा रोचक व्यक्तिकाे रूपमा पाएँ ? सायद, त्यो किताबको शीर्षक पाे थियो कि ?  जसले मलाई जिज्ञासु बनायो । उसको पहिरन पनि एकदमै आकर्षक थियो । ऊ अवश्य पनि हुनेखाने परिवारकाे मान्छे हाे ।  याेभन्दा अगाडि देखेकाे थिइन । सायद, आज उसकाे आफ्नाे गाडीमा समस्या आएर पाे हाे कि, सार्वजनिक बसमा यात्रा गरेकाे । त्याे अपरिचित व्यक्तिका बारेमा के के साेच्न पुगेछु ।

म आफ्नो काममा गएँ । काम सकेपछि नजिकैकाे  चिया पसलमा चिया पिइरहेको थिएँ । त्यही पसलमा अकस्मात कलेज पढ्दाकाे पुरानाे साथीसँग भेट भयाे । ऊ धेरै परिवर्तन भएकी रहिछे । पहिले ऊ साँच्चै अरूलाई दुःख दिने काम गर्थी । आज मैले उसलाई एक सभ्य र शालिन व्यक्तिको रूपमा देखेँ । उसले मलाई मेरो कामको बारेमा सोधी र मैले पनि उसकाे कामकाे बारेमा सोधेँ । ऊ विमान परिचारिकाको रूपमा काम गरिरहेकी रहिछे र ५०  भन्दा बढी देशहरू उडिसकेकी रहिछे । यसले मलाई आश्चर्यचकित तुल्यायो, किनकि मैले उसलाई यति धेरै प्रगति गर्न सक्ने व्यक्तिको रूपमा कहिल्यै देखेको थिइन । हामी केही समय कुरा ग‍‍र्‍याैँ  र आआफ्ना घर फर्कियाैँ ।

घर फर्किंदै गर्दा सडक नजिकैकाे खेल मैदानमा फुटबल खेलिरहेका केटाकेटीहरूलाई देखेँ । तिनीहरू चिच्याइरहेका थिए । एउटा बच्चाले "ओई बल यता पास गर् " भनेर कराउयो र अचानक मलाई मेरो बाल्यकालको याद आयो । म बाल्यकालतिर फर्किएँ । म हाइस्कुलमा पढ्दै थिएँ । मसँग धेरै साथीहरू थिए र स्कुलपछि प्रशस्त खाली समय हुन्थ्याे । मैले राम्रो अङ्क ल्याउँथेँ त्यसैले मेरा आमाबाबुले मलाई दिनहुँ खेल्न बाहिर जान दिनुहुन्थ्यो । मैले छिमेकमा स्कुलमा सङ्गै पढ्ने बाहेकका  साथीहरू पनि  बनाए र तिनीहरूसँग हरेक दिन खेल खेल्थेँ । एक दिन म नराम्ररी लडेर खुट्टाकाे हड्डी नै भाँचियो । मैले लगभग दुई महिनासम्म घरमै थन्केर बस्नु परेकाे थियाे । तर पनि सन्चाे भएपछि खेल्न छोडिनँ ।  केही समयपछि विभिन्न कामहरू गर्नुपर्‍यो । मैले जीवनमा स-साना कुराको आनन्द लिन छोडेँ । आजकल मसँग रमाइलो गर्नका लागि समय पनि हुँदैन । 
कुरा खेलाउँदा खेलाउँदै केही समयपछि घर पुगेँ । मैले खाना खाएँ । बाँकी रहेकाे कार्यालयको काम सबै पूरा गरेँ । सुत्न तरखर गर्न थालेँ र  दिनभरिका भए गरेका गतिविधि दिमागमा नाच्न थाले । बसमा देखेकाे मान्छे सम्झदा मैले पनि पढ्नुपर्छ जस्तो लाग्यो  ।  मेरो पुरानो साथीसँगकाे भेट् साँच्चै रमाइलाे थियो । तर यसले मलाई अलि दुःखी बनायो किनभने अहिले म हुर्किसकेको छु र जागिर पाएको छु । मसँग धेरै साथीहरू छैनन् । मसँग धेरै सहकर्मीहरू छन् । मैले जीवनको मजा लिन सकिरहेको छैन । केटाकेटीले ससाना कुरामा रमाइलो गरेको देख्दा आफैमा नरमाइलाे अनुभूति हुन्छ । म सधैँ तनावमा हुन्छु । म सबै समय थकित भएकाे महसुस गर्छु । बुबाआमाले मप्रति धेरै गर्व गर्नुहुन्थ्यो । अहिले मबाट निराश हुनुहुन्छ किनभने मैले अझै पनि पदोन्नति पाएको छैन । म अझै अविवाहित छु ।  म साँच्चै चाहन्छु कि छुट्टीमा जान सकूँ र जीवनको आनन्द लिन सकूँ। यी कुरा सोच्दै म निदाएँ । म भोलिपल्ट बिहान उठेँ र उही कार्य दोहोरियाे । म बसमा चढेँ ; काममा गएँ ; घर फर्किएँ;  खाना खाएँ र आफ्नो जीवनलाई पश्चातापमा पारेँ । जीवन यसरी नै ……… ।