Logo

Student Corner

कम्प्युटर

Written by: Bibechana Dangol - 30009, Grade V

Posted on: 17 January, 2023

कम्प्युटर आधुनिक युगको एकदमै आवश्यक यन्त्र हो । यो कार्यक्रमका दृष्टिले विद्युतीय बहुउपयोगी यन्त्र  हो । कम्प्युटरलाई नेपालीमा सुसाङ्ख्य पनि भन्ने चलन छ । कम्प्युटरमा सि. पि. यु., मदर बोर्ड, मोनिटर जडान गरिएको हुन्छ। कम्प्युटरको मुख्य भाग सि. पि. यु. हो । कम्प्युटरले मानिसको निर्देशनअनुसार काम गर्छ । यसको मेमोरीमा तथ्याङ्क भण्डारण गरिन्छ । विशेष गरी कम्प्युटर दुई वटा तत्त्वहरू मिलेर बनेको हुन्छ, ती हुन् हार्डवेयर र सफ्टवेयर ।  यी हार्डवेयर र सफ्टवेयरले एक अर्काबिना केही गर्न सक्दैनन् । आजको युगमा कम्प्युटरबिना जीवन कल्पना गर्न सकिँदैन । मानिसलाई धेरै समय लाग्ने काम कम्प्युटरले थोरै समयमा गर्न सक्छ । कम्प्युटर मानिसद्वारा बनाइएको एकदम उत्कृष्ट यन्त्र हो, जसले हाम्रो जीवन सहज र सरल बनाएको छ। कम्प्युटरलाई  पाँच पुस्तामा वर्गीकरण गरिएको छ ।  पहिलो पुस्ताको कम्प्युटर (१९४०-१९५६), दोश्रो पुस्ताकाे (१९५६-१९६३), तेश्रो पुस्ताकाे (१९६४-१९७४), चौथो पुस्ताकाे (१९७१-अहिलेसम्म), पाँचौ पुस्ताकाे (अहिले र पछिको)  गरी पाँच पुस्तामा वर्गीकरण गरिएको छ । चार्ल्स बाब्बेजले सन् १८२२ मा पहिलोपल्ट कम्प्युटर आविष्कार गरेका हुन् ।  चार्ल्स बाब्बेजलाई कम्प्युटरको पिता पनि भनिन्छ । आधुनिक कम्प्युटरहरू अत्याधुनिक काममा प्रयोग हुन्छन् । कम्प्युटर विभिन्न उद्देश्यका लागि विभिन्न क्षेत्रहरूमा प्रयोग हुन्छन् । कम्प्युटर शिक्षा,प्राविधिक,स्वास्थ्य, कलकारखाना, बैंकिंग, होटेल, सपिङ्ग महल, मनोरञ्जनलगायत विभिन्न क्षेत्रहरूमा प्रयोग हुन्छन् । आजको युवा पुस्ता कम्प्युटरप्रति धेरै नै आकर्षित छ । हामी कम्प्युटरमा गीत सुन्न, गेम खेल्न  र सिनेमा हेर्न सक्छौँ।  डाक्टरहरूले  कम्प्युटरको सहयोगले विभिन्न रोग पत्ता लगाएर उपचार गर्न सक्छन् । इन्जिनियर र आर्किटेक्टहरूले विभिन्न डिजाइन तथा हिसाब गर्न सक्छन् ।  त्यस्तै अन्तरिक्षमा विभिन्न खोज र अनुसन्धानका लागि पनि कम्प्युटरको प्रयोग हुन्छ ।  वैज्ञानिकहरूले कम्प्युटर जडित अन्तरिक्ष यान चन्द्रमा, मङ्गलग्रह जस्ता ठाउँहरूमा पठाइसकेका छन् । शिक्षण संस्थाहरूमा पठन पाठन गर्न र  परीक्षाको उत्तरपुस्तिका जाँच गर्न पनि कम्प्युटरको प्रयोग गर्न सकिन्छ।  कम्प्युटर जडित भू-उपग्रहहरू मौसम तथा अन्य ग्रह, ताराहरूको बारेमा अध्ययन गर्न पनि प्रयोग गर्न सकिन्छ। कम्प्युटरको प्रयोग आजको समयमा अति नै बढिरहेको छ । यसका राम्रा र नराम्रा पक्षहरू दुबै छन् । कम्प्युटरको नराम्रो पक्ष भनेको यसको धेरै प्रयोग गर्नाले आँखा कमजाेर हुन्छ, बालबालिकाहरूको पढाइमा नराम्रो असर गर्छ , स्वास्थ्यमा नराम्रो असर गर्छ ।  यसको सही सदुपयोग गर्न सकियो भने यो वरदान साबित हुन्छ । यसको दुरुपयोग गरियो भने यसले नराम्रो असर गर्छ।