Logo

Student Corner

विद्यार्थीमाथि बोझ

Written by: Aayusi Shrestha - 26002, Grade IX

Posted on: 11 January, 2023

विद्यार्थीहरू भनेका देशका भविष्य हुन् । देशका भविष्यलाई वर्तमानमा सही ढङ्गले गाेडमेल गर्नुपर्छ । तर आजकाे समयमा विभिन्न तरिकाले विद्यार्थीहरूमाथि बाेझ लादेकाे पाइन्छ । अधिकांश विद्यालयमा विद्यार्थीहरूलाई धेरै नै  गृहकार्य दिने गरिन्छ । मेरो मतलब उनीहरूले गृहकार्य दिन बन्द गर्नुपर्छ भन्ने होइन । म पूर्ण रूपमा सहमत छु कि गृहकार्य आवश्यक छ तर धेरै गृहकार्य हानिकारक हुन सक्छ । आजकल धेरै विद्यालयहरूमा विद्यार्थीहरूलाई बढी मात्रामा गृहकार्य दिइन्छ जसले विद्यार्थीहरूको जीवनमा नकारात्मक प्रभाव पार्न थालेको छ । विभिन्न अध्ययनअनुसार विज्ञले सिफारिस गरेभन्दा बढी गृहकार्य दिइन्छ । जसले गर्दा शारीरिक तथा मानसिक स्वास्थ्यमा ठुलाे समस्या  निम्त्याउँछ । यही कारणले गर्दा धेरै विद्यार्थीहरू मानसिक असन्तुलनकाे सिकार बनेका  हुन्छन् । जब विद्यार्थीहरूले धेरै गृहकार्य भयाे भन्ने गुनासो गर्छन्, अधिकांश शिक्षक र अभिभावकले यसलाई बेवास्ता गर्छन् । म आफैँ पनि एउटा विद्यार्थी भएको कारण मैले यो अनुभव गरेकी छु । धेरै दिनहरू यस्ता छन् जहाँ ती गृहकार्य पूरा गर्न राती ढिलो समयसम्म बस्नुपर्छ । कहिलेकाहीँ रातभर जागै बस्दा पनि मैले गृहकार्य पूरा गर्न सकेकी हुँदिनँ । यस्ताे अवस्थाले धेरै निराशा पैदा गर्छ । अत्यधिक गृहकार्यले विद्यार्थीहरूमा मानसिक तथा शारीरिक स्वास्थ्य समस्या निम्त्याउन सक्छ । 
जब कुनै विद्यार्थीले आफ्नो सबै गृहकार्य पूरा गर्न सक्दैन तब ऊ निराश हुन थाल्छ । त्यस्तै गृहकार्यले विद्यार्थीहरूको घुम्ने, खेल्ने, रमाउने, परिवारसँग बिताउने समयलाई पनि कम गरिदिन्छ । यी र यस्ता कुराहरूमा विद्यालय नै सचेत हुने हाे भने विद्यार्थीहरूले सही अर्थमा विद्या आर्जन गर्न सक्छन् । सबै शिक्षकहरूमा एउटै खालकाे साेच र प्रवृत्ति हुँदैन । काेही शिक्षकहरूले विभिन्न बहानामा गृहकार्यकाे बाेझ विद्यार्थीहरूमाथि थपिरहने स्वभाव पनि हुन्छ । गृहकार्यमा नै धेरै समय बिताउँदा विद्यार्थीहरूलाई रिस उठ्ने र पढाइमा रुचि र प्रेरणा गुमाउने खतरा हुन्छ ।  एक तथ्याङ्कअनुसार ५६% भन्दा बढी विद्यार्थीहरूमा स्कुलमा तनाव हुने मुख्य कारण गृहकार्य हो । विद्यालयमा वर्षभरि विद्यार्थीहरू अतिरिक्त क्रियाकलापहरू र गृहकार्यहरू गर्नैपर्ने कडा तालिकानुसार जीवन बिताउँछन् । गृहकार्यको बाेझ अत्यधिक हुने  भएकाले निद्रा कम र तनावको स्तर उच्चतम् शिखरमा पुगेकाे छ । यद्यपि कतिपयले आवश्यकताको तर्क गर्न सक्छन् । विद्यार्थीहरूले कम गृहकार्य प्राप्त गरेर बढी लाभ उठाउने छन् । गृहकार्यले थकित विद्यार्थीहरूलाई कक्षाकोठामा ध्यान दिन गाह्रो हुन्छ । गृहकार्य गराउँदा विद्यार्थीहरूलाई पढाइमा केही परिवर्तन ल्याउन सक्छाैँ हाेला तर उसकाे जीवनमा उत्पन्न हुने तनावले पार्ने प्रभावका बारेमा पनि साेच्नुपर्ने हुन्छ । दबाबमा भन्दा रूचि र रहरमा गृहकार्य गर्ने वातावरणकाे सिर्जना गर्ने कुराहरूमा केन्द्रित हुनुपर्छ । उनीहरूले यस्तै प्रकारको तनाव अनुभव गर्छन् जसले स्वास्थ्यमा विभिन्न समस्याहरू निम्त्याउन सक्छ । विद्यार्थीहरूलाई उत्प्रेरित गर्नुपर्छ र एक्लै बसेर र तनावमा परेर अतिरिक्त काम गर्नुको सट्टा छुट्टीमा आफ्नो परिवारसँग समय बिताउने मौका दिनुपर्छ । पारिवारिक सम्बन्धलाई बिर्सेर कुनै पनि कार्य गर्न सक्दैनाैँ ।
कुनै विद्यार्थीले गरेकाे गृहकार्य वा परियाेजनात्मक कार्यबाट कम अङ्क प्राप्त गर्दछन् वा समयमै पूरा गर्न कठिनाइ अनुभव गर्दछन् । तिनीहरूले आफैँमा विश्वास गुमाउन थाल्छन् । जब यस्ताे अवस्था हुन्छ, तिनीहरू कक्षामा सङ्घर्ष गर्न थाल्छन् । यस्ताे अवस्था वास्तवमा धेरै विद्यार्थीहरूमा हुन्छ, तर शिक्षकले व्यक्तिगत विविधताका आधारमा विद्यार्थीहरूकाे मूल्याङ्कन गरेकाे भेटिदैन । जसले गर्दा विद्यार्थीहरूलाई कुनै कार्य गरूँ भन्ने उत्प्रेरणा हुँदैन। अन्त्यमा, गृहकार्य महत्त्वपूर्ण भएकोले दिनुपर्छ तर यसको सीमा हुनुपर्छ किनभने धेरै गृहकार्यले विद्यार्थीको जीवनमा धेरै नकारात्मक प्रभाव पार्न सक्छ ।