Logo

Student Corner

नेपाली समाजका विकृति

Written by: Aarnov Adhikari - 23003, Grade XII

Posted on: 10 January, 2023

नेपालीहरू बसाेबास गर्ने समाज नेपाली समाज हाे । समाजलाई असर गर्ने तत्त्वहरूलाई सामाजिक समस्या भनिन्छ । सामाजिक समस्याहरूले प्रायः मानिसकाे दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्दछन् । यसले विशेष परिस्थितिहरूमा मानिसहरूको प्रतिक्रियामा पनि प्रभाव पार्छ । केही मानिसहरू सामाजिक समस्या र विकृतिबारे  अनजान भएकाले उनीहरू सामाजिक समस्याहरूमा संलग्न हुन्छन् । 
सामाजिक समस्याहरूमा बालिका बेचबिखन, सार्वजनिक स्थानमा धुम्रपान, जुवा खेल्ने, विपरीत लिङ्गका दुई व्यक्तिबीचको अनिच्छुक शारीरिक सम्बन्ध, लागुऔषध दुर्व्यसन, महिला हिंसा, चोरी, डकैती, अपहरण, हत्या, बलात्कार, भ्रष्टाचार, मदिरा सेवन आदि समस्याहरू हुन् । त्यस्ता सामाजिक समस्याहरूले हाम्राे दैनिक जीवनमा शान्ति, कल्याण, हाम्रो राष्ट्रको विकास, सुरक्षा र सद्भावमा  बाधा पुर्याएका छन् ।
नेपाल विश्वको अल्प विकसित देश मध्येको एक हो । आजको समाजमा विभिन्न प्रकारका सामाजिक समस्या र विकृतिहरू छन् । सामाजिक समस्या भनेको कुनै निश्चित स्थान वा विश्वभरका मानिसहरूको समूहलाई असर गर्ने समस्याहरू हुन् । नेपाल जातीय व्यवस्था, बालश्रम, अशिक्षा, लैङ्गिक असमानता, अन्धविश्वास, धार्मिक विवाद लगायतका अनेकौँ सामाजिक समस्याले ग्रसित छ। यी सामाजिक समस्याहरू हुनुमा कुनै एक व्यक्तिकाे मात्र भूमिका नभएर सिङ्गाे समाजकै हात छ  ।

नेपालमा धर्म र संस्कारका नाममा अनेक प्रथा र चलनहरू प्रचलनमा रहेका छन् । देउकी प्रथा एक सामाजिक प्रथा वा संस्कृतिकाे एउटा रूप हाे । जसमा सुदूरपश्चिमका पहाडी क्षेत्रमा बसाेबास गर्ने गरिब मानिसहरूले आफ्नी कन्यालाई बेचेर समर्पण गर्ने गर्छन् । त्यस्तै दाइजो प्रथा जसमा बेहुलाले बेहुलीबाट पैसा, वस्तु, दहेज  लिन्छन् । यस्तै मानिस बिरामी हुँदा धामी झाँक्री, झारफुक गर्ने, बाक्सी आदिकाे आक्षेप लगाउने   विकृतिहरू नेपाली समाजमा व्याप्त छन् ।
परम्परादेखि चलिआएका हरेक कुरालाई आधार मानेर त्यसलाई पछ्याउँदै जाँदा त्यसभित्र रहेका नराम्रा कुराहरूले मानिसलाई पछाडि पारेका छन् । कतिपय संस्कारका नाममा भएका विकृतिले समाज र देशलाईसमेत नाेक्सान पुर्याइरहेकाे हुन्छ ।  अहलेकाे समय, समाज र परिवेशअनुसार कतिपय परिवर्तन गर्नुपर्ने कुराहरू वा हटाउनुपर्ने कुराहरूलाई हामीले त्याग्न सक्नुपर्छ । यस्ता विकृतिबारे अरूलाई बुझाउन र जनचेतना फैलाउन सक्नुपर्छ ।