Logo

Student Corner

उफ्र ! सखा उफ्र !

Written by: Rushina Tamang - 26008, Grade IX

Posted on: 09 January, 2023

मन लागेकाे थियाे, त्याे दिन बाहिर घुम्न जाने । उसैमा शनिबार पनि थियाे । सधैँ काेठामा बसेर मन पनि कस्ताे कस्ताे भएकाे थियाे । कोठाको चार पर्खाल बाहिरको संसार हेर्न चाहन्थेँ । मैले घर नजिकैको महलमा जाने निर्णय गरेँ । खाना खाएपछि म त्याे महलमा जाने रमाउने भन्ने याेजना बनाएँ । महल साँच्चै नै धेरै अग्लो थियो । महलभित्र पसेपछि वरपर सबै ठाउँ हेर्न थालेँ । मैले केही नयाँ कुरा खोज्ने प्रयास गरेँ । आफू खासै घरबाट बाहिर ननिस्कने स्वभावकाे परेँ । आएकाे बेला केही आवश्यक कुराहरू लिएर जाऊँ भन्ने साेच आयाे । मैले आफ्नाे लागि कपडा नकिनेकाे पनि धेरै समय भएकाे थियाे । अनि,कपडा पसलमा गएर आफ्नो लागि नयाँ लुगा किनेँ । लामो समयसम्म आफ्नो लागि लुगा किन्न नपाउनुको कारण म गरिब हुनु होइन, बरु म अल्छी हुनु हो । मलाई सामान्यतः बाहिर जान मन लाग्दैनथ्यो । त्यसकाे कारण याे पनि हाे कि मैले प्राय सबै काम घरबाट नै गर्थेँ  त्यसैले  कोठाबाट बाहिर जाँनु पर्थेन।

खासै, म कहिले पनि बाहिर जाँदैन थिए तर, किन हाे, त्यो दिन मलाई  कोठाबाट बाहिर जान साह्रै नै मन लागिरह्याे । लुगा किनेपछि मैले चलचित्रको टिकट किनेर त्यही भवनको २५ औं तल्लामा गएँ । त्यहाँ मैले उनलाई पहिलो पटक देखेँ । उनी पनि म जस्तै चलचित्रकाे पर्खाइमा थिइन् । उनको हातमा पपकर्नको झोला र कोकको बोतल थियो । उनी पनि एक्लै थिइन् तर, उनको अनुहारमा खासै खुसी या भनाै चमक थिएन । उनका आखाँ रसाइरहेका थिए । मलाई उनी केही अलमलमा परिरहेकी जस्ताे लाग्याे ।  उनी अर्कै दिशामा हेरिरहेकी थिइन् । मलाई उनीसँग बाेलूँ बाेलूँ जस्ताे लाग्याे र  म उनीसित बोल्न गएँ । 
हाई। तिम्रो नाम के हो ?
मेरो नाम सखा हो ।
सखा ! मेरो नाम आशा हो । मैले उनीसँग  हात मिलाउँदै भने । 
तिमी पनि एक्लै आएकी हौ ? मैले सोधेँ। 
उनले उदास आँखाले अगाडि हेरिन् र अचानक मुस्कुराएर भनिन्, " अँ एक्लै आएको भन्न सक्छौ । "
उनको जवाफले मलाई लाग्न थाल्यो कि, सायद उनी एक्लै आएकी थिइनन्।

मैले सोचेँ, " यस्तो मौका फेरि सजिलै आउँदैन ।" त्यसैले उनको फाेन नम्बर लिने मनसायले मैले माेबाइल समाउन  आफ्नो खल्तीमा हात राख्दै थिएँ । हात राख्ने बित्तिकै सखाको हातमा रहेको बोतलभित्रकाे तरल पदार्थ हल्लिन थाल्यो । अनि अचानक हाम्रो वरिपरि रहेका सबै मानिसहरू चिच्याउन थाले । त्यत्राे भवन हल्लिन थाल्यो । भूकम्प गएको थियो । सबैजना वरपर दौडन थाले र भवनबाट बाहिर निस्कने प्रयास गर्न थाले । तर हामी २५ औँ तलामा थियौँ । मैले सखाको हात समातेर भवनबाट बाहिर निस्कने प्रयास गरेँ । हामी आपतकालीन ढोकाबाट दौडियौँ । अचानक सबै जनाले हामीलाई पछ्याउन थाले र सबै  सिढीँहरू भीडले भरिन थाले ।  हामी एकअर्कालाई समातेर बसेका थियाैँ । अचानक सीढीको बीचको भाग भत्कियो । मैले फर्केर हेरेँ । सखा सिँढीको माथिल्लो भागमा थिइन् भने म तल्लो भागमा थिएँ । हामी एकअर्कासँग छुटियाैँ । म डराएर उनलाई भन्दै थिएँ, "उफ्र, सखा, उफ्र।" उनले मलाई हेरिन् । उनी अचानक मलाई हेरेर मुस्कुराईन् र भनिन्, "तिमीसँग कुरा गर्दा राम्रो लाग्यो।" त्यसपछि उनी माथितिर दौडिन् । मलाई के गर्ने थाहा थिएन । मैले उनलाई रोक्न सकिनँ । आफूलाई पनि बचाउनु थियाे । त्यसैले, म भीडसँग दौडेर मुस्किले भवनबाट बाहिर निस्केँ । फर्केर हेर्दा त २५ औं तला पूरै भत्किसकेको थियो । भूकम्प गएपछि के भयो भनेर मैले सोच्न पनि सकिनँ । मलाई हेरेर मुस्कुराएकी सखा माथितिर दौडेको क्षण मेरो मानसपटलमा खेलिरह्यो । उनी किन माथि गइन् ? किन पहिले उदास थिइन ? मैले उनलाई किन बचाउन सकिन ? मैले उनलाई चिन्ने मौका पनि पाउन सकिन । तर मेरो मनमा सबैभन्दा धेरै प्रश्न उठिरहेको “उनले किन उफ्रिनन्?” थियो।