Logo

Student Corner

महिला सशक्तीकरण

Written by: Pranisha Dhital - 24054, Grade XI

Posted on: 22 December, 2022

महिलाहरूले निर्धक्क भएर आफ्नो जीवनसँग सम्बन्धित हरेक निर्णय आफैँले गर्ने अधिकार प्राप्त गर्नुलाई महिला सशक्तीकरण भनिन्छ । महिलाहरूको आर्थिक र सामाजिक स्थितिमा सुधार ल्याएर उनीहरूलाई आत्मनिर्भर बनाई उनीहरूको आत्मविश्वासलाई अझ बलियो बनाउने प्रक्रिया नै महिला सशक्तिकरण हाे । विशेषगरी पिछडिएका महिलाहरुलाई उनीहरूको हक हितको बारेमा सचेत गराई शिक्षा र रोजगारीको अवसर दिलाउने कार्यमा सबैले सहयोग गर्नुपर्दछ । महिलाहरू सिर्जनाका शक्ति हुन् । उनीहरू आफ्नो परिवारको सुख शान्ति, समृद्धिका लागि सधैभरि नि:स्वार्थ भएर खटिरहन्छन् । 
घर, परिवार,  समाज र राष्ट्रको प्रगतिमा महिलाहरूको महत्वपूर्ण भूमिका रहेको हुन्छ । संसारभरि नै जतिसुकै प्रगतिशील राष्ट्र भए पनि महिलाहरूले दुर्व्यवहार खेप्दै, अपहेलित र  उपेक्षित जीवन बिताउँदै आएको इतिहास हामीसामु छ । विकसित देशहरूले महिलाहरूलाई उनीहरूको हक, अधिकार दिलाएर महिला सशक्तीकरणलाई धेरै उचाइमा पुऱ्याइसकेका छन् । हाम्रो जस्तो देशमा भने यो निकै पछाडि परेको छ । नेपालमा महिलाहरूले कुल  जनसङ्ख्याको आधाभन्दा बढी भाग ओगटेको भए तापनि समाजमा भएका कुरीति, विकृति, विसङ्‌गति, अशिक्षा, अन्धविश्वास, लैङ्गिक विभेद , राजनीतिक अस्थिरताका कारण नै महिला सशक्तीकरण अगाडि बढ्न सकेको छैन ।
नेपाली समाजमा विवाहपछि महिलाहरूलाई सम्पत्ति ठानी आफ्नो अधीनमा राखेर विभिन्न कारण देखाई कुटपिट गरी निर्मम हत्यासम्म गर्ने कार्य नेपाली समाजमा हमाीले देखे भाेगेकै छाैँ । बाल विवाह, विधवा प्रथा, दाइजो प्रथा आदिले गर्दा नै यस्ता घटनाहरू घटिरहेका छन् । तर विडम्बना हाम्रो देशका अधिकांश महिलाहरू यसको विरोध गर्नुको सट्टा यसलाई सहेर नै जीवन बिताइरहेका छन् ।  त्यसैले महिलाहरूले पुरुषमा भर पर्नुको सट्टा समाजमा आफ्नै स्थान बनाएर आफ्नो जीवन जिउनु पर्दछ भन्ने बारेमा उनीहरूलाई सचेत गराउनु जरूरी छ । शिक्षा एक मात्र यस्तो शक्ति हो जसले समाजलाई द्रुत गतिमा परिवर्तन गराउन सक्दछ ।
समाज परिवर्तन गर्न सकेमा मात्र हामी महिला सशक्तीकरणमा अघि बढन सक्छाैँ  । महिला शिक्षित भएमा परिवार, समाज र सिङ्‌गो राष्ट्रबाट नै अज्ञानता हटेर जानेछ  अनि महिलाले पनि हरेक क्षेत्रमा पुरुष सरह योग्य नागरिकको भूमिका खेल्न सक्नेछन् । यसरी सबैको जीवन सहज बन्नेछ । फलस्वरूप समाज र राष्ट्रकाे समेत उन्नति हुनेछ ।