Logo

Student Corner

रमाइलाे घुमघाम

Written by: Anushree Acharya - 28002, Grade VII

Posted on: 22 December, 2022

२०७८/०१/०१
शनिवार 
बिहानीका रविका किरण मेरो कोठाको झ्यालमा परेसँगै मेरा आँखाका ढकनी खुले। घरमा चहल पहल थियो। आज वर्षको नयाँ दिन थियो भन्ने कुरा मैले सम्झिएँ। मेरा आफन्तहरू हाम्रो घरमा रमाइलो र जमघट गर्न आउनुभएको थियो। सबैको मुहारमा हर्षको उज्यालो देखेर मेरो मनमा हर्षको बिउँ छरिएर हुर्किदै गएको थियो। 

सबैको आ-आफ्नो व्यस्तता र काम हुन्छ । नयाँ वर्ष भए पनि सबै जना आफ्नो घरको व्यस्ततामा बाँधिएका कारण सबै जना घर फर्किनुभयो। सबैसँग भएको उत्सुकता र रमाइलोका कारण घर मलाई सुनसान र नरमाइलो लाग्यो । मैले यो कुरा आमा र बुबाबालाई पनि भनेँ । हामीले घुम्न जाने भनेर सोच्यौँ। हामीले घुम्न जाने भनेर सोँचे पनि कहाँ जाने टुङ्गो भएको थिएन।  अन्तिममा हामी कीर्तिपुर जाने निधोमा पुग्यौँ  । हामीले गाडी बोलाएर त्यहाँ गयौँ। 

हामी कीर्तिपुर जाने भनेर गाडीमा चढेर जादैँ थियौँ । त्यही बेला मैले धेरै व्यक्ति माथि  गएको देखेँ । उत्सुक हुँदै मैले आमालाई माथि के छ भनेर सोधेँ । आमाले मलाई टौदहको सुन्दर व्याख्या गर्नुभयो। मेरो मन लोभियो । त्यसैले हामी कीर्तिपुरको सट्टा टौदह जाने भयौँ । हामी त्यहीँबाट टौदहको यात्रामा लाग्यौँ ।


टौदह जाँदै गर्दा मैले धेरै कुरा देखेँ । त्यहाँ मैले सालको पात पनि देखेँ । मैले त्यो दिन थाहा पाएँ कि हामीले सालको पातमा टेक्यौँ भने हामी चिप्लिन सक्छौँ । त्यहाँ मैले चोभार पनि देखेँ। मेरा शिक्षकले भन्नुभएको थियो, “काठमाडौं पहिला एउटा पोखरी थियो। मन्जुश्रीले चोभारलाई काटेपछि सबै पानी बाहिर निस्कियो। त्यसपछि गोपाल वंश आएर त्यहाँ राज गरेका थिए।”
केही समयपछि हामी टौदह पुग्यौँ । त्यहाँको सुन्दर दृश्यले मलाई पुलकित बनायो । टौदह एउटा ताल रहेछ । त्यहाँ सुन्दर सुन्दर माछाहरू थिए। हामीले माछालाई दिने आहारा लियौँ। नयाँ वर्षको दिन भएर होला त्यहाँ भिड थियो। त्यहाँ हामीले माछालाई चारो हाल्दा सबै माछा झुम्मिएर आउँथे । आमा र बुबा थकित भएर विश्राम लिनुभयो। म र दिदी भने माछालाई चारा हाल्दै गयौँ। साझ पर्न लागेको थियो। अस्ताउँदो घामको छायाँ पानीमा पर्दा त आहा! त्यो दृश्य हेर्नै पर्ने दृश्य थियो । हामीले सबै हेरेपछि घर फर्किने बेला बाटोमा मिठा मिठा परिकार मैले देखेँ । मैले परिकारहरू खाएर जाने भनेर हामी मिठा मिठा परिकार खाएर घर फर्किन लागेका थियौँ । अचानक बाटोमा एकदम धेरै भिड देख्यौँ । के रहेछ भनेर रोकिएर हेर्यौँ त्यहाँ त फिल्म सुटिङ पो हुँदै रहेछ । मलाई पनि बाल कलाकार भएर खेल्ने रहर जाग्यो । यस्तै यस्तै कुरा मनमा खेलाउँदा खेलाउँदै गाडी अगाडि बढ्यो । एकैछिनमा घर आइपुग्यौँ । मेरो मष्तिस्कमा बाल कलाकार हुने रहरले डेरा जमाइरहेको छ अहिलेसम्म पनि । 

एक्दमै थकित भएको कारण मलाई धेरै असहज भएको थियो । त्यसैले हात मुख धोएर म खाटमा पल्टिएँ । म एकै छिन्मा भुसुक्कै निदाएछु । मनमा मेरो एउटै प्रश्न घुमिरहेको थि यो। के यो सपना नै रहन्छ कि बिपना बन्छ ?