Logo

Student Corner

भात खान पनि कसैले बिर्सन्छ ?

Written by: Rushina Tamang - 26008, Grade IX

Posted on: 20 December, 2022

हिजो मैले धेरै गृहकार्य गर्नु थियो । त्यसैले स्कुलबाट घर फर्किने बित्तिकै मैले गृहकार्य गर्न थालेँ । राती १२ बजेसम्म सक्छु र त्यसपछि मात्र सुताैँला भन्ने आशामा धेरै छिटो छिटाे लेख्न थालेँ । मैले आठ विषयका गृहकार्य गर्नु थियाे । ती मध्ये एउटा गृहकार्य पूरा गर्न कम्तिमा २ घण्टा खर्च गर्नुपर्थ्यो । एउटा  विषयकाे गृहकार्य  पूरा गर्न त लगभग ३ घण्टा खर्च गर्नु परेकाे थियाे । राति ११ बजेसम्म मेरा आँखा बन्द गरेर सुत्न तयार थिए । तर पनि म लेखिरहेँ । राति ११ः४५ बजेसम्म मेरो शरीर पनि सुत्न तयार भइसकेको थियो तर म जागिरहन बाध्य भएँ । धेरै घण्टासम्म लेखेपछि मेरो औँलाहरू सुन्निन थालेका थिए । मेरो हात दुखिरहेको थियो ।  मेरो ढाड पनि दुखिरहेको थियो  । यति धेरै समयसम्म राती बसेकाे पहिलाेपल्ट थियाे । एकै स्थितिमा बसेका कारणले। तर म लेखिरहेँ ।

मलाई पटक्कै लेख्न मन लागेन । म गएर ओछ्यानमा सुत्न चाहन्थेँ, तर शिक्षककाे डरले मैले लेखिरहेँ । मेरो सातौं गृहकार्य लगभग सकिसकेपछि मेराे सबै गृहकार्य सकियाे भनेर ढुक्क भएँ । गृहकार्य पूरा गरेपछि  म सुत्न गएँ । भोली बिहान उठेर हेर्दा घडीमा त ८:०० पाे बजेको रहेछ । मैले छिटो छिटो सबै कुरा तयार पारेर स्कूल हिडेँ। स्कूलमा म आनन्दले बसिरहेकाे थिएँ । पहिलो कक्षा सुरु भयो। गुरुले सबैजनालाई गृहकार्य माग्दै हुनुहुन्थ्यो। मैले गृहकार्य सबै गरेको छु भन्नेमा ढुक्क थिएँ । कापी खोलेर हेर्दा त गृहकार्य नै थिएन। आफैँ झसँग भएँ । हिजो राति सातौँ विषयकाे गृहकार्य सक्काउँदा सक्काउँदै आठौँ गृहकार्य त गर्नै बिर्सेछु।

मैले गुरुलाई सबै साँचो कुरा भने र गृहकार्य गर्न बिर्सेको कुरा सुनाएँ । गुरुकाे मुख पुरै रातो भयो । “गृहकार्य गर्न बिर्सेँ रे ? भात ख़ान कहिले बिर्सिन्छस् ? हँ ! “ बिर्सिन्न गुरु ” मैले सोझो रूपमा जवाफ दिएँ। “अनि गृहकार्य गर्न किन बिर्सिस् त ?” गुरुले अझ ठुलो स्वरमा कराएर भन्नुभयो । मैले गुरुलाई हिजो कति धेरै गृहकार्य थियाे, गरेँ भन्ने ठानेकाे बिर्सेछु भने ।गुरुले भन्नुभयाे, “अरू विषयहरूको गृहकार्यले मलाई के ? मलाई मेरो विषयकाे गृहकार्य चाहियाे । जा बाहिर गएर कान समातेर उभिने, हिंस्रक जनावरकाे जस्तो रिसाएको मुख देखेर र जिउ नै थर्किने गरी कराएकाे आवाज  सुनेर कान छाेप्दै म चुपचाप बाहिर गएँ । मेराे मनमा पनि एक तमासकाे रिस उत्पन्न भयाे । आफैँ बरबराउन थालेँ ।  

“भात ख़ान पनी कसैले बिर्सिन्छ र ? भात खाएन भने मानिस कसरी बाँच्छ र ? बाँच्न पो भात खाइन्छ त । मान्छे नै बाँचेन भने गृहकार्य चै मेरो भूतले गर्छ ? भात खानु र गृहकार्य गर्नुमा कति भिन्नता छ ? शिक्षकहरूले सधैँ यो कारण दिएर गाली गर्नुहुन्छ । केही बोल्न खोज्यो भने उल्टै मुखमुखै लाग्छस् भनि गाली गर्नुहुन्छ। शिक्षकहरूले हामीलाई बोल्नै नदिएपछि कसरी हामीलाई ठुलो भएपछि आफ्नो लागि बोल्न सक्छाैँ । भात खाएन भने पो मरिन्छ त, गृहकार्य गरेन भने मरिन्छ त ? के मलाई एक दिन गृहकार्य गरेन भनि रोग लाग्छ र ? बाँच्नुपर्छ त्यसैले पो भात खान बिर्सिन्न त। झन् कहिले काहीँ त गृहकार्य गर्दागर्दै भात खान पनि बिर्सेकाे अवस्था छ । अनि हिजो त मैले भात खान पनि बिर्सेको थिएँ। बाहिर बसेर रिसको झोकमा मैले यही कुराहरू गुरुलाई भनेको कल्पना गर्दै थिएँ ।