Logo

Student Corner

नेवारी संस्कृति ‘गुफा’

Written by: Joya Shrestha - 25004, Grade X

Posted on: 19 December, 2022

गुफा नेवारी परम्परामा एउटा कन्या केटी जसको महिनावारी भएको छैन उसलाई बाह्राैँ दिनसम्म एउटा अँध्याराे काेठामा बन्द गरिन्छ । त्यो कोठामा घामको किरण पनि छिर्नु हुँदैन । बाह्र दिनपछि त्यो कन्या केटीलाई सूर्यसँग बिहे गरिदिन्छन् । गुफालाई सूर्य दर्शन पनि भनिन्छ । हामी  नेवार्नीहरूको दोस्रो विवाह पनि हो । सूर्य कहिल्यै नमर्ने भएकाले गुफा पूरा गरिसकेकी नेवारी समुदायकी बालिकाकाे आफ्नो वास्तविक श्रीमानको मृत्यु भए पनि कहिल्यै विधवा बन्न सक्दैनन् भन्ने मान्यता पनि रहिआएकाे छ । केटीको महिनावारी सुरु हुनुभन्दा अघि अनिवार्य रूपमा सूर्यसँग विवाह गराउनुपर्छ । सूर्यसँग विवाह गरेपछि बालिकालाई खराब मानिसहरू र पुरुषहरूबाट बचाउँछ भन्ने जनविश्वास रहेकाे छ ।


 

पहिलो दिन सगुन दिएर भित्र्याइन्छ । हामीले त्याे समयमा आफ्ना दाजुभाइ र बाबालाई हेर्न मिल्दैन । दोस्राे दिन पनि केही गरिदैन, तेस्रो, चौथो दिन पनि केही गरिदैन, छैटाैँ दिनदेखि घरबाट फेरि सगुन दिने चलन छ  र त्यसपछि आफन्तहरू केही खाने कुरा पकाएर या केही सामान्य भाेज जस्तै गरेर भेट्न आउँछन् । चामलको पिठो तोरीको तेलमा मिसाएर शरीरमा लगाउँछन् । त्यसलाई “को” भनिन्छ । कसैकाे पुतली बारापासा राख्छन् भने कसैकाे राख्दैनन् । एघाराैँ दिनमा चाहिँ मामाघरबाट भोज पकाएर ल्याउनुपर्छ । जुन लुगा लगाएर गुफा बसेको हुन्छ  त्यो लुगा हामीले फाल्नुपर्छ । हामीले फेरि त्यही लगाउन मिल्दैन । बाह्राैँ दिनको बेला बेहुलीजस्तो बनाएर कोठाबाट निकालिन्छ । बाह्र दिनको दिन परिवारका सदस्यकाे धेरै महत्त्वपूर्ण भूमिका हुन्छ । हामीले त्यो दिन सूर्य भगवानसँग विवाह गर्छाैँ र परिवारमा भएका सबैको आफ्नाे आफ्नाे भूमिका हुन्छ । बुबाआमा र हजुरआमाको सबैभन्दा महत्त्वपूर्ण भूमिका हुन्छ । हजुरआमाले गणेश र सूर्यको पूजा गर्दा, केटीकी निनीले वा गुफामा बसेको साथीले उनलाई बाह्र दिनमा छोपेर अँध्यारो कोठाबाट बाहिर निकाल्छन् । हामीले  कुनै पनि सबभन्दा पहिले अरू केही नहेरेर सूर्यलाई हेर्नुपर्छ । सिन्दुर लगाएपछि विवाह भएको हो मानिन्छ । घरबाट र मामाघरबाट केटीलाई सगुन दिन्छन्। 


 

गुफा राख्दा  बालिकाको मृत्यु भएमा उसकाे लाशलाई  घरभित्रै गाड्नुपर्ने र उसको आत्माले घरमा सदाको लागि सताउने गरेको बुझिन्छ। नेवारी समुदायमा यस्ता धेरै घटनाहरू भएका छन् र मानिसहरूले त्यस्ताे घटनालाई ‘बारासी’ भनेर नाम दिएका छन् । माथि उल्लेख गरिएअनुसार ‘बारा’ नेवारी परम्परा हो र नेवारी भाषामा ‘सी’ को अर्थ मरेको हो, त्यसैले यसको मूल अर्थ ‘बाराको समयमा मृत्यु भएको व्यक्ति’ हो । धेरै केटीहरूले यी १२ दिनहरूमा आफ्ना अनुभवहरू सुनाउँछन्,जस्तैः छायाँ देख्नु वा उनीहरूसँग कोठामा कोही छ भन्ने महसुस गर्नु । केटीहरूले आफ्नो कपालमा तेल लगाइदिएकाे र कपाल बाटिदिएकाे तर उनीहरूले चाल नै नपाएकाे कुरा सुनाउँछन् । कसैले त अनौठो आवाज पनि सुनेको अनुभव सुनाउने गरेका छन् । यी सबै कारणले गर्दा आजकल केटीहरूलाई केही भइहाल्छ कि भन्ने डरले मानिसहरू १२ दिनको सट्टा २-३ दिन मात्र गुफा राख्ने गरेका छन् ।