Logo

Student Corner

ऊर्जा सङ्कट र यसको समाधान

Written by: Yawat Malla - 24049, Grade XI

Posted on: 14 December, 2022

ऊर्जा भनेकाे शक्तिकाे स्राेत हाे । जुन हामीले दैनिक प्रयोग गर्छौँ । कोइला, पेट्रोल, डिजेल, मट्टितेल, प्राकृतिक ग्यास, जलविद्युत, सौर्य ऊर्जा, आदि जस्ता ऊर्जाको स्रोतलाई विभिन्न प्रयोगका लागि ऊर्जा निकाल्न प्रयोग गरिन्छ । ऊर्जाका स्रोतहरू दुई प्रकारका हुन्छन्: नवीकरणीय र अनवीकरणीय । पेट्रोल, डिजेल, मट्टितेल, कोइला, प्राकृतिक ग्यास, आणविक इन्धनहरू अनवीकरणीय ऊर्जाका स्रोतहरू हुन् । समुद्री ज्वार, सौर्य ऊर्जा, वायु ऊर्जा, जलविद्युत नवीकरणीय  ऊर्जाका स्रोतहरू हुन् । 
हाम्रो देशले विभिन्न कारणले ऊर्जालाई महत्त्व दिन्छ । यो एक महत्त्वपूर्ण आर्थिक शक्ति हो । यसले नयाँ व्यापार, बजार र देशकाे आर्थिक स्राेतलाई मजबुत बनाउँछ । ऊर्जाविना दैनिक उपभोग्य वस्तुहरू साना वा ठुला स्तरमा उत्पादन गर्न असम्भव छ । हाम्रो देशमा लामो समयदेखि ऊर्जा सङ्कट एक चुनौतीका रूपमा रहेको छ । विशेषगरी नेपालजस्तो विकासोन्मुख मुलुकमा पूर्वाधार विकास गर्न र जनताको आवश्यकता पूरा गर्न ठुलो मात्रामा ऊर्जाको आवश्यकता छ । नेपालमा बाह्रै महिना बग्ने नदीहरू छन्, जुन विद्युत उत्पादनका लागि उपयुक्त छन् । तर जलविद्युत उत्पादनमा अझै पनि धेरै विकास हुन सकेको छैन ।  नेपालमा जलविद्युतको प्रचुर सम्भावना भए पनि ऊर्जाका लागि अन्य स्रोतहरूमा निर्भर रहनुपरेकाे छ । जीवाश्म इन्धनहरू त्यस्ता प्रकारका स्रोतहरूमध्ये एक हो जुन नेपालमा मात्र नभई विश्वका अन्य भागहरूमा पनि ऊर्जाको भारी माग पूरा गर्न प्रयोग गरिन्छ।

विश्वव्यापी ऊर्जा सङ्कट धेरै जसाे देशहरूले भाेगेकाे समस्या हो । अत्यधिक ऊर्जा खपत, अत्यधिक जनसङ्ख्या, विद्युत उत्पादन उपकरणको कमजोर पूर्वाधार, नयाँ पावर प्लान्टहरू सञ्चालनमा ढिलाइ, प्राकृतिक प्रकोप, कर वृद्धि जस्ता कारणले विश्वले अहिले ऊर्जा सङ्कट भोगिरहेको छ । अनवीकरणीय ऊर्जाका स्रोतहरू समाप्त हुँदै गएका कारण विश्वले अहिले ऊर्जा सङ्कटको सामना गरिरहेको छ ।
विभिन्न नवीकरणीय ऊर्जाका स्रोतहरू अपनाउनु ऊर्जा सङ्कटको लागि उत्तम उपाय हो । ऊर्जा सङ्कटबाट बच्नको लागि हामीले हाम्रो घरमा ऊर्जा बचतको अभ्यास सुरु गर्न सक्छौँ । प्रयोगमा नभएको बेला बत्ती, पङ्खा र अन्य उपकरणहरू बन्द गर्ने, ग्यासको सट्टा सौर्य ऊर्जा प्रयोग गर्ने, ट्युब वा बल्बको सट्टा एलइडी वा सिएफ एल चिमकाे प्रयाेग गर्ने गर्याैँ भने पनि धेरै ऊर्जा बचत गर्न सकिन्छ । ऊर्जाको नोक्सान नहोस् भनेर विद्युत लाइनकाे मर्मत सम्भार गर्न सकिन्छ ।