Logo

Student Corner

चन्द्रागिरिकाे यात्रा

Written by: Niharika Chapagain - 25006, Grade X

Posted on: 09 December, 2022


यही मिति मंसिर ११ गते, म मेरा कक्षा १० का केही साथीहरूसँग चन्द्रागिरि, भालेश्वर महादेवको मन्दिर भ्रमणका लागि गएकी थिएँ । विद्यालयमा अङ्ग्रेजी विषय पढाउने हाम्री गुरुआमा साम्यो हाङ्गमा राईले हामीलाई चन्द्रागिरिको भ्रमण गरेर त्यस ठाउँको इतिहासका बारेमा प्रस्तुतीकरण दिने कार्य हामीलाई सुम्पिनु भएको थियो । त्यो कार्य गर्नका लागि हामीलाई दुई दुई जनाको समूहमा विभाजन गरिएकाे थियाे तापनि हामी कक्षा १० का सात जना विद्यार्थीहरू त्याे कार्य पूरा गर्नका साथसाथै मनोरञ्जन तथा चन्द्रागिरिको इतिहास बुझ्नका लागि सँगै हिड्यौँ।

हामी सबै जनाले चन्द्रागिरि जाने बाटोमा पर्ने ठाउँ सतुङ्गलमा भेट्ने निर्णय गर्याैँ र आफ्नो यातायातको व्यवस्था आफैँ नै गर्यौँ । साथीहरू आआफ्नै तरिकाले आए भने मलाई चाहिँ बुबाले पुर्‍याइदिनुभयो । म घरबाट बिहानको ८ : ४५ मा खाना खाएर बुबासँग गाडीमा बसेँ र म सतुङ्गल ९:३० मा पुग्दा मेरा सबै साथीहरू भर्खर भर्खर आइपुगेका रहेछन्  । त्यहाँबाट मलाई छोडेर बुबा आफ्नो कामतिर लाग्नुभयो र हामी साथीहरू सबै एक स्थानीय बसको खोजीमा हिँड्दै थियौँ । केही समय हिँडेपछि हामीले बस भेट्टायौँ  तर बसबाट चन्द्रागिरि जान मिल्दैन रहेछ । हामीलाई गाडी जुन बाटोसम्म जान मिल्थ्याे त्यही बाटाेसम्म मात्र बसले छोडिदियो । त्यसपछि सँगै गफ गर्दै हामी चन्द्रागिरिको मुख्य केबलकारको टिकट काट्ने ठाउँसम्म पुग्यौँ । हामीले  बाटोमा आफ्नो परियोजना कार्यका लागि फोटाहरू पनि खिच्यौँ । हामीलाई माथि पुग्न धेरै समय लाग्यो । हामी माथि पुग्दा त १०: ३० भइसकेको रहेछ ।  

टिकट काट्नका लागि केही साथीहरू गए तर केही समयपछि के थाह भयो भने केबलकार बिग्रिएकाले बन्द पो रहेछ । मैले त घरबाट नै अनलाइन टिकट लिइसकेकी थिएँ अनि यहाँसम्म पुगेर पनि के माथि नचढी जानु भनेर हामीले तिस मिनेट जति कुर्यौँ । करिब आधा घण्टा हामीले त्यहाँ भएका आकर्षक दृश्यहरू अवलाेकन गर्दै, रमाउँदै र फोटो खिच्दै बिताएका थियौँ । त्यसपछि टिकट काउन्टर र केबलकार दुबै सुचारु भए । हामी केबलकारमा बसेर हरियाली र काठमाडौँ सहर हेर्दै माथि मन्दिर भएको ठाउँमा पुग्यौँ । माथि पुगेर चारैतिर देखिने हिमालकाे अवलाेकन गर्दै त्यो यात्राको चिनोका रूपमा एउटा फोटो खिचेर हामी मन्दिर भएको ठाउँतिर लाग्यौँ । हामी बिहान आउँदा असाध्यै चिसो थियो तर त्यतिबेला हामीले ढिला गरेर अनि अन्य कुराहरूका कारणले ११ बजिसकेको थियो । घाम लागेर हाेला हामीलाई न्यानो अनुभव भयो । पहिले त आफ्ना जुत्ताहरू खोलेर मन्दिरमा प्रवेश गर्यौँ र पुजारीका हातबाट रातो अबिर लगाएर भालेश्वर महादेवको दर्शन गर्याैँ । हरियाली वनकाे त्याे शुद्ध हावा र हिमालयको दर्शनीय दृश्यले हामी साँच्चै आनन्दित बनेका थियाैँ । भालेश्वर महादेव विराजमान हुनुभएकाे पवित्र भूमिका रूपमा पनि त्याे क्षेत्रकाे गरिमा बढेकाे कुरा थाहा पायाैँ । भालेश्वर महादेवको मन्दिरमा मनकामना पूरा हुने विश्वास रहेकाे कारणले मानिसहरू टाढा टाढाबाट आउँदा रहेछन् ।

पुजारी बुबाको अनुमति लिएर हामीले उहाँसँग फोटोहरू पनि खिच्यौँ । त्यसपछि हामी यहाँ परियोजना कार्यका लागि भ्रमण गर्न आएको भनेर थाहा पाएपछि उहाँले हामीलाई चन्द्रागिरी र भालेश्वर महादेवको इतिहास र अन्य महत्त्वपूर्ण कुराहरू बताइदिनुभयो । पृथ्वीनारायण शाहको त्यहाँ एउटा मूर्ति पनि रहेछ । त्यसको इतिहास पनि हामीले बुझ्यौँ । यी पहाडहरूबाट नै राजा पृथ्वीनारायण शाहले धेरै रमणीय र समृद्ध काठमाडौं उपत्यकाको पहिलो झलक पाएका थिए । त्यसपछि राजाको मनमा उपत्यकालाई आफ्नो राज्यमा गाभ्ने विचार जाग्याे । हामीलाई यस कुराले असाध्यै गर्व बनायो अनि त्यस ठाउँको धार्मिक र ऐतिहासिक महत्त्व बुझेपछि त्यहाँ बस्न अझ रमाइलो भयो । त्यसपछि फेरि केही फोटाहरू खिचेर हामी सबै जना आफ्नो आफ्नो बाटो लाग्यौँ । अङ्ग्रेजी विषय पढाउने गुरुआमाले दिनुभएको परियोजना कार्यले हामीलाई त्यहाँकाे इतिहाससम्बन्धी ज्ञान प्राप्त गर्ने अवसर प्राप्त भयो । त्यो दिन एक हाम्रा लागि अविस्मरणीय  बनेकाे थियो ।