Logo

Student Corner

सङ्घर्ष नै जीवन हो

Written by: Siddika Dahal - 24071, Grade XI

Posted on: 08 December, 2022

सङ्घर्ष भनेकाे जीवनका विभिन्न अप्ठ्यारा परिस्थितिसँग जुध्ने काम हाे । सङ्घर्ष नै जीवन हो भन्ने शीर्षकले निरन्तर सक्रियता तथा परिश्रम नै जीवन हो भन्ने कुरा बुझिन्छ । परिश्रमले मानव जीवनलाई सजाउन , विकास गर्न र समुन्नत बनाउन सहयोग गर्दछ । मानिसले जे पनि उच्च एवं विशिष्ट इच्छा प्राप्त गर्नका लागि अनवरत रूपमा परिश्रम गरिरहनु पर्दछ । मानव सभ्यतादेखि वर्तमान समयसम्म जे पनि उन्नति प्रगति र विकास भएका छन्, यी सबै निरन्तर श्रम र सङ्घर्षको प्रतिफल नै हुन् । तसर्थ जीवनलाई सुख, सम्पन्न र विकसित बनाउन सङ्घर्ष र निरन्तर परिश्रम गर्नुपर्छ ।
सङ्घर्ष आन्तरिक र बाहिरी  जुन पनि हुन सक्छ । कुनै पनि व्यक्तिमा आफूभित्र हुने भावना लोभ, डर, रिस आदिसँग गरिने सङ्घर्ष आन्तरिक सङ्घर्ष हाे । जीवनका विभिन्न कठिनाइ गाँस, बास, कपास, शिक्षा, प्रगति आदिका निम्ति गरिने सङ्घर्ष बाहिरी सङ्घर्ष हो । सङ्घर्ष भनेको प्रकृतिको नियममा पनि पर्दछ । चार्ल्स डार्विनले पनि जुन प्राणीले सङ्घर्ष गर्छ त्याे प्राणीकाे अस्तित्व संसारमा हुने कुरा आफ्नाे विकासवादमा उल्लेख गरेका छन् । मानिस आफ्नो आमाको गर्भबाट बाहिर निस्कन पनि सङ्घर्ष गर्दछ । आमाको कोखबाट आएपछि पनि उसले धेरै सङ्घर्ष गर्नुपर्छ । त्यसैगरी हामीले एउटा बिरुवा माटोमा रोप्छौँ तब त्यो हुरी, झरी, गर्मी, आदिसँग सङ्घर्ष गर्दै हुर्कन्छ । एउटा मूर्तिकारले चट्टानलाई मूर्तिको स्वरूप प्रदान गर्न पनि सङ्घर्ष गर्नुपर्छ ।

कुनै पनि मानिस, वस्तु, जीवजन्तु, चराचुरुङ्गी र समाज नै होस् सबै को जीवन मा सङ्घर्ष सास जस्तै महत्त्वपूर्ण हुन्छ । निरन्तर परिश्रम, सक्रियता र सङ्घर्षले केही नभएको मानिसलाई सबैकुरा पुर्याउन सक्छ । मानव जीवनको सफलताको मार्गदर्शक नै सङ्घर्ष हो । सङ्घर्षले नै मानिसलाई सफलतातर्फ निर्देश गर्छ । आफ्नो जीवनको प्रत्येक क्षणलाई  उपयोगी बनाउनु पर्छ। बितेको समयलाई सम्झिएर पश्चाताप गर्नुभन्दा अब आउने समयलाई कसरी उपयोग गरेर भरपुर मात्रामा फाइदा लिने विषयमा सोचविचार गर्नुपर्छ ।
अन्ततः जीवन सङ्घर्षको पर्याय हो । सङ्घर्षविनाको जीवन अर्थहीन हुन्छ । मानिस संसारमा जन्मिन्छ र एक दिन मर्छ । यो प्रकृतिकाे नियम नै हो ।  मानिस जन्मिनु र मर्नुको बिचमा उसले कर्म गर्ने समय प्राप्त गरेको हुन्छ । त्यो कर्म गर्ने समयलाई  उसले एक क्षण पनि खेर फाल्नु हुँदैन ।  मानिसले केही उत्तम कर्म गर्यो भने ऊ मरेर गए तापनि उसको कर्मका कारण ऊ अमर रहन्छ । दृढ विश्वास, साहस, निरन्तर परिश्रम, आट र सङ्घर्षका कारण नै मानिस आफ्नाे जीवनमा सफल बन्न सक्छ ।