Logo

Student Corner

परीक्षाको अघिल्लो रात

Written by: Sanjay Puri - 23058, Grade XII

Posted on: 07 December, 2022

परीक्षा भनेको विद्यार्थीको योग्यता र गुणस्तर जाँच्ने माध्यम हो । परीक्षा भनेकाे व्यक्तिकाे जीवनकाे सफलता निर्धारण गर्ने माध्यम पनि हाे । विद्यार्थीहरू भविष्यका देशका कर्णधार पनि  हुन् । विद्यार्थीहरू भनेका आफ्नाे प्रगतिको विभिन्न चरणहरू निर्धारण गर्ने माध्यम पनि हुन् । 
आत्मविश्वासी र असल विद्यार्थी आफ्नो परीक्षाबाट कत्ति पनि कहिले पनि डराउँदैन । असल विद्यार्थीले हरेक दिनलाई तयारीको दिनका रूपमा लिन्छ र आत्मविश्वासका साथ परीक्षालाई सहजै सामना गर्न सक्छ । परीक्षाको अघिल्लो रात उसले आफ्नो पाठ पढ्दा रमाएर पढ्छ । ऊ राम्ररी निदाउँछ र स्फूर्तिका साथ परीक्षा हलमा जान्छ । तर उदासीन विद्यार्थीको हकमा यो कुरा लागु हुँदैन । उदासीन विद्यार्थीले परीक्षालाई गम्भीरताका साथ लिदैन । अन्य समयमा पनि तिनीहरू साथीहरूसँग कुराकानी गर्ने रमाइलोमा गर्नेमा मात्र आफ्नाे समय बर्बाद गर्छन् । 
परीक्षाभन्दा अन्य समयमा पढाइमा गम्भीर नहुने विद्यार्थीहरू डर र त्रासको अवस्थामा रहन्छन् । तिनीहरू रातभर अध्ययनको लागि बस्छन् । परीक्षाकाे अगिल्लाे रात उनीहरूले पूरै पाठ्यक्रम अध्ययन गर्न गाह्रो हुन्छ । उनीहरू हडबडाउँछन् र सफलता हासिल गर्न सक्दैनन् । उनीहरू आफैँ अलमलमा परेको महसुस गर्छन् । चिन्तित भएर रात बिताउँछन् । उनीहरू विचलित र त्रसित भएर परीक्षा हलमा प्रवेश गर्छन् । तसर्थ, परीक्षाको अगिल्लो रात विद्यार्थीहरूले आफ्नो आफूलाई चिन्ताबाट मुक्त राख्नुपर्छ ।  परीक्षाको अगिल्लो रात राम्ररी निदाउनुपर्छ ताकि ताजा दिमागका साथ बिहान चाडै उठ्न सकियाेस् । यसका लागि परीक्षाको अगावै दैनिक आफ्नो काम

पूरा गर्न सकेमा मात्र उनीहरूका लागि यो सम्भव छ । नत्र चिन्ता मान्ने र हडबडाउनेसिवाय अरू केही हुन सक्दैन । विद्यार्थीहरूले याे कुरा बुझ्नुपर्छ कि परीक्षा तयारीको लागि एक दुई दिनकाे समय पर्याप्त हुँदैन । 
सङ्क्षेपमा भन्नुपर्दा विद्यार्थीहरूले दिमागमा याे राख्नु पर्छ कि समय र बगेकाे पानीले  कसैलाई  पर्खदैन। समय निरन्तर चलिरहन्छ । तसर्थ, विद्यार्थीहरूले सधैँ परीक्षा आाए जसरी पढ्नुपर्छ । नत्र अन्त्यमा पछुताउनुबाहेक अरू केही हुँदैन ।