Logo

Student Corner

राजनीति

Written by: Deepti Neupane - 23019, Grade XII

Posted on: 01 December, 2022

राज्य वा देश सञ्चालनकाे नीति वा नियम नै राजनीति हाे । राजनीतिकाे प्रभाव हरेक देशमा पर्ने गर्छ । सही र असल राजनीति नै देशविकासकाे मुख्य आधार हाे । नेपालमा पनि राजनीतिको ठुलै प्रभाव परेको छ । हामीले राजनीति देशमा मात्र नभई धेरै ठाउँमा, परिवारमा, काम गर्ने ठाउँमा जहाँ पनि देख्न सक्छाैँ । यदी हाम्रो देशमा राम्रो राजनीति भएको भए अहिलेसम्म हाम्रो देश विकसित देशहरूकाे सूचीमा आउँथ्याे हाेला । हामी नागरिकहरूले पनि सबै दाेष देशको राजनीतिलाई नै दिन्छाैँ । तर दोष देशको राजनीतिकाे मात्र हैन, दाेष नागरिककाे पनि हुन जान्छ । त्यसैले प्रतिनिधि चयन गर्दा असल, इमानदार, देश विकास गर्न सक्षम, शिक्षित प्रतिनिधि छान्नुपर्छ ।

नेपालकाे सन्दर्भमा, राजनीति हामीले काम गर्ने ठाउँमा पनि कसरी देख्न सक्छौँ भने आफ्नो नातेदार वा जजिककाे मानिसकाे राम्राे ठाउँमा बढुवा सरूवा हुने तर उस्तै मेहनत गर्दा आफ्नाे मानिस नभए उनीहरूको बढुवा नहुने, पनि एउटा खालको राजनीति नै हो । हामीले धेरै मानिसहरूको गुनासो सुन्न सक्छौँ यस विषयमा र हामीहरूले आफ्नो देशको पनि राजनीतिको गुनासो सुनिरहेका हुन्छौँ । राजनीति भन्ने शब्द सुन्दा, हामी सरकार, राजनीतिज्ञ र राजनीतिक दलहरूको बारेमा सोच्दछौँ । कुनै पनि देशमा व्यवस्थित सरकार हुन र विशेष दिशानिर्देशअनुसार काम गर्नको लागि निश्चित कानुन हुन्छ । तर यहाँ कानुनभन्दा पहिले राजनीति हावी हुन्छ । प्रत्येक देश, समूह र सङ्गठनले आफ्नो घटना, सम्भावना र थप कुराहरू व्यवस्थित गर्न राजनीतिक गरेका हुन्छन्,  न कि आफ्नाे स्वार्थ पूरा गर्न  ।

राजनीति भन्ने कुरा सत्तामा बस्नेहरूमा मात्र सीमित छैन । उही शक्ति प्राप्तिको लागि दौडमा रहेकाहरूको बारेमा पनि उत्तिकै राजनीति छ । राजनीतिक बहसका क्रममा विपक्षी दलका उम्मेदवारहरूले सत्तापक्षमाथि प्रश्न उठाउँछन् । उनीहरू जनतालाई जानकारी गराउने र उनीहरूको एजेन्डा र वर्तमान सरकारले के गरिरहेको छ भन्नेबारे सचेत गराउन चाहन्छन् । 

नेपालकाे सन्दर्भमा हेर्ने हाे भने अधिकांश राजनीतिज्ञ भ्रष्ट छन् । उनीहरूले आफ्नो पद र शक्तिको दुरूपयोग गरी निहित स्वार्थमा  लागेकाे पाइन्छ । हामी मन्त्रीहरू र तिनीहरूका परिवारहरू घोटाला र गैरकानुनी काममा संलग्न भएका समाचारहरू पढ्छाैँ र सुन्छाैँ । तर, उनीहरूसँग भएको शक्तिका कारण उनीहरू कानुनी दायराबाट टाढै रहन्छन् । उनीहरू सजिलै उम्किन सफल हुन्छन् । त्यसैले उनीहरू कुनै पनि अपराधबाट भाग्छन् । कुनै पनि राजनीतिक दल सत्तामा आउनुअघि जनतासँग धेरै वाचा गर्छ । उनीहरूले आफ्ना सबै प्रतिज्ञाहरू पूरा हुनेछन् भन्ने सोचेर सर्वसाधारणलाई प्रभावमा पार्छन् । तर, सत्ता प्राप्त हुनेबित्तिकै जनतासँग गरेका वाचा सबै बिर्सिन्छन् । तिनीहरू आफ्नो स्वार्थको लागि काम गर्छन् । 

यसै गरी हरेक चुनावमा नेता जनतालाई मूर्ख बनाउँछन् । यी सबैमा झुट बोल्ने र भ्रष्ट राजनीतिज्ञको हातबाट आम जनता मात्र पीडित छन् । धेरैजसाे देशहरूमा राजनीतिक दलहरूले धेरै राम्रोसँग भ्रष्टचार नगरी काम गर्दा देश धेरै अगाडि बढिसकेकाे छ । हामीले पनि ती देशहरूबाट धेरै कुराहरू सिक्न सक्छौँ र आफ्नो देशलाई पनि आगाडि बढाउन सक्छाैँ ।  राजनीति नै सम्पूर्ण नीतिहरूकाे मियाे भएकाे हुनाले सक्षम, सबल र असल, समाजसेवाकाे राजनीतिले नै देशकाे मुहार फेर्न सक्छ ।