Logo

Student Corner

मेरो देश नेपाल

Written by: Sheetal Mulmi - 24036, Grade XI

Posted on: 30 November, 2022

मेरो देश नेपाल दुई ठुला छिमेकी देश भारत र चीनको बिचमा अवस्थित छ । भाैगाेलिक रूपमा सानाे भए पनि दुवै छिमेकी देशहरूसँग सुमधुर सम्बन्ध बनाउँदै विकासकाे गतिमा अघि लम्किरहेकाे छ मेराे देश । नेपाल विभिन्न जातजाति र संस्कृतिको देश हो । अर्को शब्दमा भन्नुपर्दा, यो विभिन्न जातजाति र पृष्ठभूमिका मानिसहरूकाे फूलको सुन्दर बगैँचा जस्तै हो ।
नेपालमा करिब १२६ भाषाभाषीहरू छन् । जसको आफ्नै समृद्ध इतिहास र संस्कृति छ । हाम्रो देश भौगोलिक साँस्कृतिक र प्राकृतिक धार्मिक हिसाबले पनि निकै धनी हाे । समुन्द्री सतहबाट केवल ७० मिटरको तल्लो बिन्दुदेखि विश्वको सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मिटर) सम्म, हामीसँग ठाउँअनुसार फरक-फरक तापक्रम छ । फरक फरक हावापानी छ । यसलाई आफ्नो उचाइ र भौगोलिक भिन्नताका आधारमा तराई, पहाडी र हिमालय गरी तीन क्षेत्रमा विभाजन गरिएको छ भने राजनैतिक विभाजनका आधारमा  ७ प्रदेशमा विभाजन गरिएकाे छ ।
हिमाली क्षेत्रहरूमा उच्च हिमालहरू छन् जुन हेर्नको लागि आनन्द दिने र मनै लाेभ्याउने छन् । विश्वका शीर्ष १० अग्ला चुचुराहरूमध्ये, ८ ओटा नेपालमा पर्छन् । यस्तो देशकाे नागरिक हुन पाउँदा मलाई गर्व लाग्छ । नेपालमा रहेका विविध वनस्पति, जीवजन्तु, सुन्दर दृश्य, हरियाली, ऐतिहासिक तथा धार्मिक स्थलहरूले विदेशी तथा स्वदेशीहरूकाे मन लाेभ्याएका छन् । संसारभरका मानिसहरूले हाम्रो देशको हिउँले ढाकिएका हिमालहरू, नदीहरू, चट्टानहरू, झरनाहरू, तथा सुन्दर दृश्यहरू, समृद्ध वनस्पति र जीवजन्तुहरू, ठुला धार्मिक र ऐतिहासिक महत्त्वका चिज हेर्नका लागि हजारौँ डलर खर्च गरी नेपाल आउँछन् र आनन्द लिन्छन् ।

नेपाललाई कृषि प्रधान देश भनेर पनि चिनिन्छ जहाँ यहाँका मानिसकाे मुख्य आम्दानीकाे स्राेत भनेकाे कृषि हाे । धेरैजसाे नेपालीहरू कृषिलाई आफ्नो मुख्य पेसा मान्छन् । हाम्रो देशको पनि ऐतिहासिक महत्त्व छ । विश्वभर प्रचलित बुद्ध धर्मका संस्थापक तथा प्रचारक गौतम बुद्धको जन्म पनि नेपालमा भएको हो । बुद्ध शान्ति र अहिंसाका प्रतीक हुन् । हाम्रा पूर्खाले देखाएकाे वीरताले गर्दा हामी विश्वमाझ वीर नेपाली भनेर पनि परिचित छाैँ । विश्वभर साम्राज्य फैलाउने अङ्ग्रेजले नेपालमा आँखा मात्र लगायाे । शासन गर्न सकेन । वीर पूर्खाहरू लामो सङ्घर्षपछि एकजुट भएर आफ्नो देशको रक्षाका लागि लडे । त्यसैले नेपालीहरूकाे साहस र वीरता विश्वभर नै परिचित छ । वीर गोर्खालीहरू विश्वयुद्धमा लड्न गई र विभिन्न पदकहरू जिते । यसले हाम्रो देशलाई धेरै सम्मान दिनुका साथै नेपालीहरूकाे वीरता विश्वभर चर्चाकाे विषय बन्न सफल भयाे।