Logo

Student Corner

साँस्कृतिक परिवेश

Written by: Aswin Siwakoti - 23014, Grade XII

Posted on: 29 November, 2022

प्रत्येक जातिकाे आफ्नै संस्कृति हुन्छ । संस्कृतिसँग सम्बन्धित कुराहरू साँस्कृतिक हुन्छन् । हिमचुचुरा, बेँसी, पहाड, उपत्यका र समथर तराई भूभागमा बेग्लै खेतीपाती, रहनसहन, भाषाभाषी, चाडबाड, खानपानजस्ता सांस्कृतिक विविधता कुनै पनि राष्ट्रका सम्पदा हुन् । यी संस्कृति व्यक्ति र समुदायको नेपालकाे पहिचान बनेर रहेको छ । देशमा बोलिने सबै भाषा र मनाइने संस्कृति नेपाली संस्कृतिका रूपमा स्थापित छन् । यी संस्कृति, भाषाभाषी सङ्गीत तथा कलासाहित्य हाम्रा अमूल्य सम्पत्ति हुन् । ऐतिहासिककालदेखि रही आएका धार्मिक पहिचान हाम्रा अनुकरणीय सम्पदा हुन् । आधुनिकता, पश्चिमी सभ्यताको प्रकोप, सूचना सञ्चार प्रविधिको विकास र परम्परागत सभ्यता र पेसाप्रतिको प्रतिकाे आकर्षणले हाम्राे सांस्कृतिक संरक्षण र संवर्द्धन अहिले हाम्रा लागि चुनौती बनेको छ । प्रत्येक सामाजिक समूहको आफ्नो पहिचान र व्यक्तित्व हुन्छ । आफ्नै रहनसहन, खानपान, संस्कृति, भाषा, साहित्य र भौगोलिक क्षेत्रसमेत हुन्छ । मानिस आफ्नो संस्कृतिबाट भिन्न वा अलग भएर रहन सक्दैन । विदेशमा पुगेका नेपाली, नेपाली संस्कृति मिलेर मनाउने र रमाउने गर्छन् । एक आपसमा खुसी साटासाट गर्छन् । यसैले भन्न सकिन्छ संस्कृति मानवीय सभ्यताको परिचय हो र मानिस बाँच्ने आधार पनि हो । बहुसांस्कृतिक समाजमा सबै संस्कृतिका लागि समानताको आधारमा संरक्षण र विकासको अवसर प्राप्त हुने गरी सामाजिक र  सांस्कृतिक समानताका कुराहरूसमेत समावेश हुन्छन् । 

प्रत्येक जातिकाे संस्कृति आफ्नो संस्कृतिको विकास गर्न सर्वोच्च हुन्छ । अर्थात, आफ्नो संस्कृतिको विषयमा निर्णय लिने सार्वभौम अधिकार सम्बन्धित व्यक्ति र समुदायलाई मात्र हुन्छ । नेपालमा जैविक विविधता जति छ त्यति नै सामाजिक र सांस्कृतिक विविधता छ । हिमालदेखि तराईसम्मको भौगोलिकता भएको कारणले यहाँ चिसो मौसमदेखि तातो मौसमसम्मको विविध पर्यावरण भेटिन्छ । साथै समाजमा रहेका सांस्कृतिक कुसंस्कार परिवर्तनका लागि सरकार, समाज र नागरिकहरूले सांस्कृतिक सुधारमा जोड दिनुपर्छ । आज विश्वभर सांस्कृतिक पहिचान र मौलिकताको खोजी भइरहेको छ । राष्ट्र, राष्ट्रियता र संस्कृति देशका देशका महत्त्वपूर्ण सम्पत्ति हुन् ।
प्रत्येक व्यक्ति तथा समुदायलाई आफ्नो संस्कृतिको संरक्षण, विकास गर्ने व्यक्ति र समूह अधिकार सुरक्षित हुनुपर्छ । आफ्नो संस्कृति मात्रै ठिक र अरूको संस्कृति बेठिक भन्ने साेचाइ हटाउनुपर्छ । संकृति नै देश र जातिकाे मूल पहिचान र परिचय हाे भन्ने कुरा सम्झनुपर्छ ।