Logo

Student Corner

बाबाको जन्मथलाे

Written by: Sunabi Pokharel - 25018, Grade X

Posted on: 23 November, 2022

२०७८ साल फाल्गुण १३ गते  मैले आफ्नो अभिभावकसँग बाबाको जन्मघर खोटाङको खार्पा गाउँपलिका जाने निर्णय गरेँ । बाबाको जन्मघरमा परिवारका सबै सदस्यहरू गइसक्नु भएको र म मात्र जान बाँकी रहेको थियो । त्यसैले म अघिल्लो रातदेखि नै त्यो ठाउँलगायत बाटाघाटामा केकस्ता स्थानहरू रहेका होलान् भनि सोचमग्न थिएँ । मनमा कुरा खेल्दाखेल्दै अबेर मात्र निदाउन सकेँ । बिहान हामी सामान्य खाजा खाएर यात्रामा निस्कियौँ ।

हामी घरबाट हिँड्दा बिहानकाे करिब साढे ७ बजेको थियो । मलाई काभ्रेको धुलिखेलसम्म बारम्बार गइरहने भएकाले खासै नयाँ कुरा अनुभव भएन । त्यहाँबाट बाटो लागेपछि हरियाली जङ्गल, सफा हावा, नेपालथोकको पुल, सललल बगिरहेको सुनकोशी नदीको रमाइलो दृश्यवलोकन गर्दै र बाटामा ती स्थानहरूको फोटो खिच्दै गन्तव्यतर्फ अघि बढ्यौँ । करिब २ बजेतिर सुनकोशीको तिरमा बसी आमाले प्रेमपूर्वक बनाएको ढकने र आलुको तरकारी खाँदाको मज्जा मेरो जीवनको सबैभन्दा अविस्मरणीय क्षण बन्यो । बगरकाे ढुङ्गामा बसेर सफा नदीको पानीमा खुट्टा चोपल्दै र नदीको कलकल आवाज सुन्दै आधा घण्टा त्यहाँं व्यतित गऱ्यौँ । खाजा खाएर फर्किँदा त्यहाँ ठुलो वरको रूखमा पिङ्ग जस्ता लामालामा लहरा झुन्डिरहेको देखेर मेरो बाबाले हातले त्यो लहरा समाएर माथिदेखि तलसम्म सररर हुँई गर्दै पिङ्ग खेल्नुभयो । बाबाले त्यस्तो रमाइलो गरी खेलेको देखेर मलाई पनि खेलौँ खेलौँ लाग्यो तर डरले खेल्न सकिन ।

त्यसको करिब दुई घण्टापछि हामी जयराम घाट पार गरी बाबाको जन्मजिल्ला खोटाङ प्रवेश  गऱ्यौँ । जिल्ला प्रवेश गरेको करिब एक घण्टाको उकालो पार गरेपछि पवित्र तिर्थस्थल हलेसी महादेवस्थान पुगिदो रहेछ । उक्त धार्मिकस्थललाई पूर्वको पशुपति पनि भनिदो रहेछ । हलेसी महादेवस्थानमा पापद्वार, धर्मद्वार, शिवलिङ्ग, पार्वती गुफा, बसाहाथान, शङ्ख फुक्ने प्वाल जस्ता अनगिन्ती र अलौकिक स्थानहरूको दर्शन गर्न पाउँदा आफूलाई भाग्यमानी ठानेँ । यो स्थानको वर्णन जति गरे पनि अपुरै हुने ठानेकी छु । हलेसीको उत्पत्तिको कथा हजुरबुबाबाट सुन्दै हामी त्यहाँबाट करिब ५ बजे खार्पातर्फ प्रस्थान गऱ्यौँ । हामी खार्पाको शिर जसलाई मौरे भनिदो रहेछ ।  त्यहाँ पुग्दा झमक्क  रात  परिसकेको थियो ।

त्यहाँबाट करिब १ घण्टा पैदल यात्रा गरेपछि मात्र हामी बाबाको जन्मघर पुग्ने रहेछौँ । अनकन्टार जङ्गलको बाटो, अँधेरी रात, कसरी पुग्ने भनि हामी विलखबन्दमा पऱ्यौँ । बास बसौँ भने पनि उपयुक्त स्थान नभएको र जसरी पनि गाउँमा नै पुग्नुपर्ने भएकोले हामी आआफ्नो मोबाइलको बत्ती प्रयोग गर्दै गाउँतर्फ अघि बढी रातको ८ बजे हामी खार्पा गाउँपालिका पुगी एउटा नातेदारको घरमा बास बस्यौँ । भोलिपल्ट बिहानै ६ बजे भैँसीको शुद्ध दुधको चिया पिएर बाबाको जन्मघरतर्फ लाग्यौँ । साँघुरो र ओरालै ओरालो बाटो हिँड्दा म पटकपटक लडेकी थिएँ ।

बाबाले मलाई नभनिकन स्थानीय फूल र पानीअमलाको बुकी बनाएर हातमा लिइरहनु भएको रहेछ । घरतर्फ लाग्ने बाटामा पुगेपछि मलाई स्वागतार्थ बाबाले उक्त बुकी हातमा दिएर "ल है छोरी, स्वागत छ, यही हो हाम्रो घर ।" भनेको क्षण मेरो जीवनको दोश्रो अविस्मरणीय क्षण बन्यो । घर वरिपरि रहेका सुन्तला, आँप, निबुवा, लिच्चीलगायतका थुप्रै फलफूलहरूका रुखहरू देखेर म त दङ्ग नै परेँ । त्यहाँ पुगेपछि हाम्रो जग्गा कति हो ? भनेर मैले प्रश्न गरेँ । प्रतिउत्तरमा तिम्रो आँखाले देखेजति सबै हाम्रै हो भन्ने उत्तर पाउँदा म अवाक् नै बनेँ । मेरो सोचमा त सहरको भन्दा अलिकति बढी जग्गा होला र थोरै खेतबारी होला, त्यहाँ अलिअलि सागसब्जी होलान् भन्ने थियो तर गाउँमा सबैका धेरै नै जग्गाजमिन हुँदा रहेछन् । दशबिस बोट फलफूल नहुने त कमै हुँदा रहेछन् । मेरो सोचाइ त बिल्कुल गलत हुन पो पुग्यो ।

गाउँ पुगेपछि हामी त्यहाँ डुल्न थाल्यौँ । आफन्तजनहरूको घरमा भेटघाट गर्दै जाँदा मैले ढिकी कुटेँ, जाँतोले अन्न पिधेँ, मदानीले  मोही  पारेँ  अनि त्यही मोही खाएँ पनि । त्यति मात्र नभएर त्यहाँ त रावा खोला नामक एउटा ठुलो खोला रहेछ र मैले त्यो खोलाको ताजाताजा माछा खाने मौका पाएँ । त्यहाँ बस्ने अवधिभरिमा मैले गाउँमा पालेका स्थानीय कुखुराको मासुकाे झाेल, बोइलर कुखुराको तारेका मासु, माछाको झाेल र बँदेलको मासु खाएकी थिएँ । त्यहाँको माछामासुको त भिन्नै स्वाद थियो नै तर चामल, दाल र आलुको त अझै फरक स्वाद थियो । सहरमा पो खानेकुरा किन्दा रासायनिक विषादी मिसाइएको हुन्थ्यो । गाउँमा त आफ्नै बारीमा उमारेको धानको नै चामल र आलु खाँदा त स्वर्गमा नै पुगेको अनुभूति भयो ।

सबैले तिमी को हौ ? भनेर मलाई सोध्नुभयाे । फलानोकी छोरी भनेपछि सबैले माया गर्नुभयो, चासो दिँदै थुप्रै प्रश्नहरू सोध्नुभयो । आफ्नै छोराछोरी जस्तै प्रेम गर्नुभयो । केही नखाई त हिँड्नै हुँदैन भन्नुभयो । हाम्रैमा बस्नुपर्छ है भनेर धेरैले भन्नुभयो । यी सबै कुरा देखेर मलाई सहरभन्दा त गाउँ पो बढी मनपर्यो । अनि मनमा कुराहरू खेल्न थाले । किन मान्छेहरू गाउँ छाडेर सहर जान्छन् ? 

करिब ७ दिनको बसाइपछि मैले त्यहाँ जम्मा तीन कुराको अभाव महसुस गरेँ । पहिलो, राम्रो शिक्षाको अवसर रहेनछ, दोस्रो, बिरामी हुँदा राम्रो उपचार गर्ने स्वास्थ्यसेवाको अभाव रहेछ र तेस्रो बाटोघाटोको सुविधा रहेनछ । यी तीन कुराको अभावमा रोजगारका अवसरहरू पनि हुँदा रहेनछन् । त्यही भएर मात्र मानिसहरू सहर जाँदा रहेछन् भन्ने निष्कर्षमा म पुगेँ । नत्र त मैले त्यहाँ बिताएको समय अहिले पनि सम्झिदा गाउँ त सहरभन्दा निकै नै धनी रहेछ भन्ने महसुस हुन्छ । पौडी खेल्न पाैडीपाेखरी नगई र पैसा नतिरिकन खोलामा निःशुल्क पौडी खेल्न पाउने, सहर जस्तो पैसा तिरेर तरकारी र फलफूल किन्न नपर्ने, सबैको टन्नै जग्गा हुने र सोही जग्गामा उब्जाई पनि राम्रो र शुद्ध हुने, सबै गाउँलेले सबै गाउँलेलाई चिन्ने र माया गर्ने जस्तो कुरा देख्दा त गाउँमा नै बसिरहौँ जस्तो पो लाग्यो । मेरो गाउँ अहिले विकसित नहुँदा त त्यस्तो राम्रो छ विकासको मूल फुट्यो भने कति राम्रो हुन्छ होला भन्ने सोच मेरो मनमा सदाबहार खेलिरहन्छ ।