Logo

Student Corner

प्रविधि: नकारात्मक कि सकारात्मक ?

Written by: Sunabi Pokharel - 25018, Grade X

Posted on: 18 November, 2022

इन्टरनेट, मोबाइल फोन, टेलिभिजन, कम्प्युटरलगायत अन्य थुप्रै सामग्रीको समावेशलाई हामी प्रविधि भन्छौँ । जसकाे सकारात्मक प्रयाेगले मानव जीवनलाई सहजताकाे अनुभूति प्रदान गरेकाे हुन्छ । प्रविधिले ज्ञान र सूचनाको विस्तृत र तत्काल जानकारी प्रदान गरेको तथ्यलाई पनि हामी नकार्न सक्दैनौँ । यसलाई राम्रो तथा जीवन सारथीका रूपमा लिएर हेर्ने हो भने प्रविधिबाट हामीले साँच्चै नै धेरै फाइदा पाइरहेका छौँ तर यसले हामीलाई कति अल्छी र एकाेहाेराे बनाइरहेको छ भनेर हामीले कहिल्यै सोचेका छौँ त ? भनिन्छ कि, प्रविधिले यन्त्रहरूमा निर्भरता सिर्जना गरेर हाम्रो संसारलाई एउटा सानो कोठा जस्तै साँघुरो बनाउँछ । थुप्रै सामाजिक सञ्जालमार्फत मन र मस्तिष्कलाई विचलित पारेर हाम्रो सिर्जनात्मक क्षमताहरूलाई कमजोर बनाउँदै जान्छ । म विश्वास गर्छु कि, हामी मध्ये धेरैले याद गरेका छौँ कि, हाम्रो विश्लेषणात्मक सिप आजका दिनहरूमा घट्दै आएको छ । यो किन होला त ? किनभने धेरै जसो प्रश्नका उत्तरहरू पहिले नै इन्टरनेटमा विस्तृत रूपमा उल्लेख गरिएका छन् । हामी आफूलाई ती उत्तरहरूको पर्यायवाची शब्दहरू प्रयोग गरेर केही शब्दहरू परिवर्तन गरेर जवाफहरू प्रतिलिपी गर्नबाट रोक्न सक्दैनौँ । 
प्रविधिको अत्याधिक प्रयोगका कारण मानिसहरूले एप र वेबसाइटहरू यति धेरै प्रयोग गर्न थालेका छन् कि केही मिनेटकाे खाली समय हास् वा काम नै गरिरहेको बेला भए पनि तिनीहरूले आफ्नो मोबाइल फोन वा कम्प्युटरको प्रयोग गरी नै राख्छन् । यसले हाम्रो रचनात्मक क्षमतालाई नास गरिरहेको छ र हाम्रो सिपहरू लोप हुँदै गैरहेको छ । आजकाे डिजिटल मिडियाले हाम्रो ध्यान जताततै छरिदिएको छ र हामी केवल एउटै गतिविधिमा ध्यान केन्द्रित गर्न नसक्ने भएका छौँ । हाम्रो मानव मस्तिष्क वास्तवमा थुप्रै कुरासँगै गर्न मिल्ने गरी बनेको छैन तर हामी जतिबेला पनि बहुकार्य गर्न खाेज्छाैँ । के तपाईं हामी सबैले याद गरेका छाैँ ?  जब हामी आफ्नाे गृहकार्य गर्न वा केही अध्ययन गर्न बस्छौँ तब हामी त्यसमा पूर्णतया केन्द्रित हुन सक्दैनौँ । यो किन भएको हो भने हाम्राे दिमाग हाम्रा साथीहरूले पठाएका सूचना वा हामीले केही मिनेटअघि इन्टरनेटमा फेला पारेको समाचारमा जान्छ । हामी भन्छौँ कि इन्टरनेट र प्रविधिले हाम्रो विशाल संसारलाई एउटा टेबलकाे संसारमा परिणत गरेको छ। एउटा काेठामा ल्याएर थन्क्याएकाे छ ।  तर, के तपाईंले कहिल्यै सोच्नुभएको छ कि सानो काेठा वास्तवमा राम्रो छ कि छैन ?  हामी आजको दिनमा प्रविधिसँग जोडिरहेका छौं तर मान्छेसँग होइन, समाजसँग हाेइन, परिवारसँग हाेइन । हाम्रो सामाजिक जीवनमा सकारात्मक परिवर्तन ल्याउन र मान्छेसँग चिनजान बढाउनुको सट्टा यसले हाम्रो संसारलाई एउटा सानो कोठामा कैद हुन बाध्य बनाएको छ ।
हामी प्रविधिको प्रयोगमा यति डुबेका छौँ कि हामी हाम्रो सामाजिक जीवनमा कति तल छौँ भन्ने कुराको वास्ता गर्दैनौँ । जिउँदाको जन्ती र मर्दाको मलामी भनेर मानिने छिमेकीलाई समेत हामीले चिनेका छैनौँ र चिन्न छाेड्दै छाैँ । हामीले बिर्सेका छौँ कि वास्तविक जीवनमा हामीसँग अन्तरक्रिया गर्ने व्यक्तिहरू पनि हुन्छन् । प्रविधिको प्रयोग गरेर हामी वास्तवमै उन्नत हुँदैछौँ कि अन्य व्यक्तिहरूले घाेडाकाे लगाम जस्तै गरी बनाएका निर्धारित मार्गलाई नसोचिकन पछ्याउँदै छौं ? मोबाइल फोनबाट पठाइएको घण्टीलाई प्रतिरोध गर्न सक्ने मानिसहरू कम नै हुन्छन् । यो हाम्रो लागि लत बन्न पुगेको छ । प्रविधि हामी मान्छेको लागि एक लागुपदार्थको काम गर्दै छ । यसले हामीलाई अघि बढ्न धेरै गाह्रो बनाउँदै छ । पहिले मानिसहरूले आफ्नो दिमागमा नै जटिल समस्याको समाधान गर्थे । त्यो एकदमै उत्कृष्ट थियो तर अहिले भने हामीले क्याल्कुलेटरहरूको यति धेरै प्रयोग गर्न थालेका छौँ कि हामीले ६ मा ६ जोड्दा के वास्तवमा नै १२ आउँछ भनेर खोज्नुपर्छ अर्थात् आत्मविश्वास हराउँदै गएकाे छ । हामीलाई हे गुगल  ! यस प्रश्नको उत्तर भन भन्न धेरै सजिलो लाग्छ तर यो प्रश्नको सही जवाफ लेख्न वास्तवमा ठुलो सोच्ने र व्याख्या गर्ने सिप चाहिन्छ जुन सिप प्रविधिले प्रस्फुटन हुन दिएको छैन ।
अतः हामी एक सचेत नागरिक भएकाले के राम्राे के नराम्राे सही तरिकाले मल्याङ्कन गरी आजकाे प्रविधिसँग जाेडिनु अत्यावश्यक हुन्छ । हामीले हामीलाई मात्र नसाेची भावी पिँढीलाई पनि कस्ताे प्रभाव पर्छ र पार्छ भन्ने कुराकाे हेक्का राखी समुचित ढङ्गले प्रविधिकाे प्रयाेग गर्नुपर्छ ।