Logo

Student Corner

वातावरण प्रदूषण

Written by: Amu Shakya - 27021, Grade VIII

Posted on: 14 November, 2022

वातावरण शब्दले मूल रुपमा पृथ्वी वरिपरिको हावापानीलाई जनाउँछ । यसले मानिस, जीव, वनस्पति आदिसँग प्रत्यक्ष सम्बन्ध राख्दछ । पृथ्वीको चारवटै दिशामा फिजिएको हावालाई दुषित पार्ने वा फोहर बनाउने कामलाई नै वातावरण प्रदूषण भनिन्छ । मानव सभ्यताको विकास सँगसँगै मानव समाजमा धेरै विकृति र विसङ्गतिहरूको उत्पति भएकाे छ । ती विकृति र विसङ्गतिहरूमध्ये वातावरण प्रदूषण उच्च स्थानमा रहेकाे  छ । आजको औद्योगिक सभ्यतामा देखापरेका यातायातका साधनहरू र कलकारखाना आदिबाट निस्किएको धुँवा र रसायनयुक्त पानीबाट वातावरण प्रदूषित बनेको छ । औद्योगिक कलकारखाना र अस्पतालबाट निस्कने थुप्रै फोहरमैलाहरू जथाभावी फाल्दा वायुमण्डल र नदीनालाहरू ज्यादै प्रदूषित भएका छन् ।

प्राणीकाे जीवन निर्मल वातावरणमा निर्भर हुन्छ । ब्रम्हाण्डमा पाइने जीवहरूमध्ये मानिस एक सर्वश्रेष्ठ एवम् बुद्धिमानी प्राणीका रुपमा परिचित छ । आज मानिसले विकास र उन्नतिका नाममा प्राकृतिक स्रोत जस्तै वायु, जल, जङ्गल आदिको प्रयोग गर्छन् । ती प्राकृतिक स्रोतहरू मानिसकै लाप्रवाहीका कारण विनाश हुँदै गएका छन् । यसले मानवलगायत अन्य धेरै जीवजन्तुहरूलाई हानी पुर्‍याएको छ । जस्तै समयमा वर्षा नहुने, अतिवृष्टि, अनावृष्टि र भूक्षय जस्ता समस्याहरू झेल्नुपरेको छ । यसकै कारण प्रकृति असन्तुलित हुँदै गएको छ । वातावरण प्रदुषणका कारण मौसममा मात्र समस्या हैन, मानिसमा श्वासप्रश्वास सम्बन्धी रोग, हृदयरोग, क्यान्सर लगायत धेरै मानसिक तनाव सम्बन्धी समस्याहरू देखापरेका छन् ।

अन्ततः  वातावरण प्रदूषण हटाउनका निम्ति मानिस नै अगाडि बढ्नुपर्छ । वातावरण 
विनाश भए मानिसको अस्तित्व नै सङ्कटमा पर्छ । यसबाट बच्न हामी सबै सचेत हुनुपर्छ । मानिस बिच चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने, वातावरण प्रदूषण नगर्नका निम्ति नियमहरू बनाउने, साथसाथै नियमहरूकाे उल्लङ्घन नगरी अगाडि बढेमा वातावरणलाई स्वच्छ, सफा र हराभरा राख्न सकिन्छ । यसबाट नै पशुपन्छी र मानवकाे भलाइ हुन्छ ।