Logo

Student Corner

साहसिक प्रतीक्षा

Written by: Niharika Chapagain - 25006, Grade X

Posted on: 08 November, 2022

धरानको उच्च जातिको ब्राह्मण परिवारमा जन्मिएकी प्रतीक्षाले बाल्यकालदेखि नै आरामदायी जीवन बिताउन पाएकी थी । नेपालको एक सुविधायुक्त सहरमा बसेकी उसलाई बाल्यकालदेखि नै अध्ययन गर्न प्रोत्साहित गरिएको थियो ।  नेपालको झापाकाे बेलबारीमा करिब वि.सं. २०२४ सालमा घटेको घटनामा आधारित एक कथा हो ।जहाँ प्रतीक्षा खतिवडाले नेपालका गाउँहरूमा शौचालय निर्माण गर्नका लागि लड्नु परेको थियो ।

प्रतीक्षा एक सहरमा हुर्केकी, राम्रो सुविधा, शिक्षा र जीवन प्राप्त गरेकी केटी थिई । उसको जीवनमा कुनै पनि कुराको पनि कमी थिएन । ब्राह्मण परिवारमा हुर्केको भएर होला उसलाई आफू सफा र स्वच्छ रहन मन पर्थ्यो र आफू बसेको वातावरण पनि स्वच्छ रहोस् जस्तो लाग्थ्यो । उसको सबैले व्यक्तिगत स्वच्छता कायम राख्नुपर्छ भन्ने धारणा थियो । धरानमा त्यति बेला शिक्षा आर्जन गरेर, परीक्षा दिएर, विद्यालय सकेको प्रमाणपत्र प्राप्त गर्ने एक मात्र महिला ऊ बनेकी थिई । यी सबै उसको परिवारको सुविचार र खुला सोचाइको कारण सफल भएको थियो । उसको यो उपलब्धिले गर्दा उसको टोलका धेरै छोरी चेलीलाई पढ्न दिइएको थियो । तर समाजमा सफल, असल मानिसलाई पनि बाँच्न सजिलो हुँदैन रहेछ । उपलब्धि पाउँदा पनि मानिसहरूले उसलाई छाडेनन् । छोरी चेली भएर धेरै जान्ने हुन खोजेकी भनेर उसले सदैव सुन्नु पर्थ्यो । उसले विद्यालय गएर पढ्नु पनि त्यति सजिलो थिएन । तर पनि उसले आफ्नो परिवारसँग शिर ठाडो पारेर जिउन सिकेकी थिई ।

केहि समयपछि उसले धरान कै एक विद्यालयमा एक शिक्षकको रुपमा जागिर खान थाली । त्यस विद्यालयमा काम गर्दा उसको भेट राजेश दर्जीसँग भयो । राजेश राम्रो शिक्षा प्राप्त गरेको एक अल्पसंख्यक समुदायको युवा थियो । प्रतीक्षा त्यहाँ शिक्षक हुँदाको समयमा ऊ राजेशको मायामा परी । परिवारको विरुद्ध गएर राजेश र प्रतीक्षाले विवाह गरे । अन्तरजातीय विवाह गर्नुको परिणामहरू प्रतीक्षालाई केही पनि थाहा थिएन । उसलाई सानै देखि उसको माता पिताले सुरक्षा दिनुभएको थियो र जीवनमा उसले धेरै भोग्नु परेन । तर विवाह गरेर राजेशको घर बेलबारी गएपछि ऊ अचम्ममा परी । उसको नयाँ परिवार र उसको परिवारमा सबै कुरा फरक थियो। उनीहरूको बानी, उनीहरूको खाना र उनीहरूको संस्कृति । उसको ससुराले त उसलाई काम गर्न, पहिले जसरी विद्यालय  गएर पढाउन दिएनन् । प्रतीक्षाका ससुरा बा पितृसत्तात्मक समाजको एक बलियो वकिलको जस्ता थिए । त्यो समाजका महिलाहरूले कुनै पनि किसिमको पेसा आयआर्जन गर्ने कामका लागि घरबाहिर निस्कनु अकल्पनीय थियो । प्रतीक्षालाई एकदमै अप्ठ्यारो भयो । ऊ आफ्नो घर फर्केर, राजेशलाई छाडेर जान्छु भन्न नि सक्दिन थिई । उसको घरको ढोका उसका लागि अब बन्द थियो ।

यो बाहेक प्रतीक्षाले आफ्नो नयाँ घर र नयाँ जीवनमा झेल्नु पर्ने ठुलो चुनौती थियो स्वच्छताको   । राम्रो स्वास्थ्य र व्यक्तिगत मर्यादा कायम राख्नका लागि व्यक्तिगत सरसफाई एकदमै महत्त्वपूर्ण हुन्छ । ऊ धरान सहरकी बासिन्दा थिई जहाँ अधिकांश घरमा शौचालय हुने गर्थ्यो । तर त्यस्ता सुविधाहरूको अभावमा बेलबारी उसलाई पछाडि परेको ठाउँ जस्तो लाग्यो । त्यहाँ त एउटा शौचालयसमेत पनि थिएन । दिशापिसाब जाँदा खुल्ला जङ्गल घारीमा जानुपर्ने थियो जुन कुराले उसलाई साह्रै चिन्तित बनायो । जङ्गल घारीमा जाँदा विभिन्न साँप, किराहरुको डर पनि हुन्थ्यो अनि स्वास्थ्य पनि जोखिममा हुने गर्थ्यो । सानैदेखि सफा वातावरणमा बसेकी, हुर्केकी, सहरको राम्रो शौचालय चलाएकी मानिस एक्कासी त्यस्तो ठाउँमा पुग्दा उसलाई गाह्रो पर्यो । उसले राजेशलाई एक शौचालय बनाउन सल्लाह पनि दिई तर राजेशले “यो हाम्रो संस्कृति हो । पहिलै देखिको परम्परा हो ।” भनेर उसको कुरो टालिदियो ।  

केही समयपछि राजेशको बुबाको निधन भयो । घरमा प्रतीक्षालाई रोक्ने एक मात्र शक्ति, उसको ससुरा बाको निधनपछि ऊ विभिन्न महिला सशक्तीकरण कार्यक्रम इत्यादीमा सहभागी हुन थाली । उसले तालिमहरू पनि गरी र आफू काम गर्छु भनेर अठोट लिई । तालिमपछि ऊ स्वास्थ्य मन्त्रालयको परिवार नियोजन महाशाखामा काम गर्दै बेलबारी निर्वाचन क्षेत्रको जनस्वास्थ्य व्यवसायी भई । बेलबारीमा महिलाहरूलाई महिनावारी हुँदा, सुत्केरी हुँदा ध्यान दिनुपर्ने सरसफाईको बारेमा ज्ञान रहेन छ । त्यस कारणले त्यहाँको धेरै मानिसहरूको निधन पनि भएको रहेछ । यो थाहा पाएपछि प्रतीक्षाले आगामी दश वर्षमा समुदायका २५० घर परिवारमा पुगेर महिलाहरूलाई प्रजनन स्वास्थ्य, सरसफाई पोषण र अन्य स्वास्थ्य विषयमा शिक्षा दिई ।

उसले यति गर्दा पनि आफ्नो घरमा शौचालय बनाउन सकिन । घरका अरू सदस्यले नमानेपछि आफ्ना ४ छोराछोरी लिएर ऊ घर छाडेर गई । अनि आफैँ एक घर र शौचालय बनाई । बिस्तारै समय बित्दै गएपछि उसको श्रीमान राजेशले पनि उसलाई सहयोग गर्यो । उसले बेलबारीको आफ्नो घरमा शौचालय बनाएर स्वच्छता अभियानको सुरुवात गरेकी थिई । त्यस अभियानलाई उसले नाम दिई “स्वच्छ तन स्वस्थ मन अभियान” । बिस्तारै मानिसहरूले उसलाई देखेर, पैसा बचाएर शौचालय बनाउन थाले र अहिले बेलबारीमा स्वास्थ्य, सरसफाई र शौचालयको निर्माण र त्यसको समुचित सबैमा भएको छ । बेलबारीका मानिसहरूले प्रतीक्षा खतिवडाका कारण व्यक्तिगत सरसफाईको बारेमा जानकारी प्राप्त गरे साथै विभिन्न स्वस्थका विषयहरूको बारेमा पनि जाने । प्रतीक्षाले बिस्तारै विभिन्न संस्थाहरूसँग काम गर्न थाली र बेलबारी मात्र नभएर नेपालका विभिन्न गाउँहरूमा उसले स्वास्थ्य, सफा सुगर, सरसफाईको ज्ञान बाँड्न थाली ।