Logo

Student Corner

स्मृतिमा पुस्तक

Written by: Jiya Sapkota - 25003, Grade X

Posted on: 02 November, 2022

धेरै मासिक पुस्तकहरू पढिसकेपछि एउटा कुनै न कुनै किताब त प्रिय हुन्छ नै । मैले  निक्कै राम्रा किताबहरू पढेकी छु तर तीमध्ये पनि मलाई ‘रोयल घोस्ट्स’ [royal ghosts] नामक अङ्ग्रेजी किताब साह्रै राम्रो लाग्छ । एउटा अङ्ग्रेजी किताब भए पनि यो किताबका लेखक नेपाली लेखक सम्राट उपाध्याय हुन् र यसको स्थानगत परिवेश नेपाल नै हो। यो  एउटा कथा सङ्ग्रह हो ।

यस पुस्तकका कथाहरू धेरै अनौठा छन् । जुन कथाहरूले मानिसहरूको मन छुन सक्छन् । यस पुस्तकमा रहेका कथाहरू निक्कै उत्कृष्ट छन् । यी कथाहरूमा केही हदसम्म एक अर्कासँग कथावस्तु मिल्दाजुल्दा देखिए पनि भिन्न विषय क्षेत्रलाई उजागर गरेका छन् ।  यस पुस्तकमा प्रत्येक नेपाली समाज र घरपरिवारमा हुने विभिन्न समस्याहरू देखाउने प्रयास गरेकाे छ । त्यति मात्र होइन यसले मानसिक स्वास्थ्य समस्याहरूको झलक पनि देखाउन खोजेको पाइन्छ ।

यदि हामी शीर्षकको बारेमा कुरा गर्दैछौँ भने हामी सिधै यस पुस्तकको अन्तिम अध्यायमा जान सक्छौँ । जसले यो पुस्तकको शीर्षकलाई सार्थक तुल्याएकाे छ । त्यसैले अन्तिम अध्यायलाई यस पुस्तकको मुख्य अध्यायका रूपमा लिन सकिन्छ । मलाई यो अध्याय साँच्चै मन पर्छ किनभने यसले समलिङ्गी मानिसहरूलाई विगतमा वा आजकाे मितिसम्म पनि कस्तो व्यवहार गरिएको थियाे र छ भनेर देखाउँछ। वास्तवमा अहिलेसम्म पनि हाम्रो देशमा धेरै परिवर्तन भएको छैन, परिवर्तन छिटो  हुनु भनेको  एक व्यक्तिको लागि गर्न सम्भव छ तर मानिसहरूको ठूलो समूहको लागि छिटो परिवर्तन गर्न लगभग असम्भव नै छ । यस कथाको भित्र छिर्दा यो दुइ भाइहरुको बारेमा हो, दाजुले आफ्नो भाइ समलैंगिक हो  भनेर पत्ता लगाउछ र उ दुःखका विभिन्न चरणहरू पार गर्छ र अन्त्यमा आफ्नो भाइ  जस्तो छ र जे छ त्यो स्वीकार गर्छ। कथाले व्यक्ति-व्यक्तिमा दृष्टिकोण कसरी फरक हुन्छ भनेर देखाउन असफल हुँदैन। मेरो मतलब यो पुस्तकमा विभिन्न पात्रहरू थिए जसले समलिङ्गी व्यक्तिहरूको बारेमा धेरै टिप्पणी गरेका छन् । तीमध्ये एकले आफूलाई पूर्ण रूपमा घृणा गरेको बताउँछन् भने अर्कोले समलिङ्गी हुनुमा कुनै दोष छैन र यो एकदमै सामान्य कुरा हो भनी बताउँछन् । यस पुस्तकले वास्तवमा मानिसहरूलाई समलैङ्गिकताप्रति सकारात्मक सोच राख्न प्रभावित गरेको छ। निश्चितरूपमा मानिसहरूले कम्तिमा यस्ता घटना, सूचना, विभिन्न पत्रपत्रिका, उपन्यास, कथा तथा अन्य विभिन्न पुस्तकमार्फत यस्ता विभेदबारे जानकारी लिनुपर्छ । समाजमा हरेक मानिसकाे समान अधिकार हुन्छ भन्ने कुराकाे बाेध हुनुपर्छ । नेपाली समाजमा समलिङ्गी सम्बन्ध सर्वस्वीकार्य छैन । विशेष गरी जब तपाईंले आफ्नो प्रियजनको बारेमा यस्ता सम्बन्धलाई स्वीकार गर्नुपर्छ भन्ने कुरालाई उठान गरेकाे छ । यो कठिन कुरा भए पनि असम्भव भने छैन ।

कथाले समेट्ने अन्य कुराहरूमध्ये पारिवारिक समस्या पनि पर्दछ। एउटा कथामा छोरीले आफ्नो परिवारको निर्णयलाई शिराेपर गर्नुपर्ने अवस्थालाई देखाइएको छ किनभने उसले त्याे व्यक्तिसँग विवाह गर्नुपरेको थियो जुन व्यक्तिगत रूपमा उनको रोजाइमा थिएन । उनको सम्बन्ध आफूभन्दा तल्लो जातको मानिने मानिससँग थियो । त्यसैले हाेला उनकाे त्याे वैवाहिक जीवन सफल हुन सेकन । वैधानिकरूपमा अलग भएपछि  आफैले अर्को पुरुषसँग विवाह गरिन्। जसले गर्दा आफ्नाे मान, प्रतिष्ठामा बाँचकाे परिवारमा ठुलाे ठेस लाग्याे । विशेषत : बुबाले वास्तवमा छाेरीको जीवनमा के भइरहेको थियो भनेर हेरेनन् र आफ्नाे मानसम्मान बचाउने प्रयासमा लागिरहे । बुबाले उनलाई घृणा गर्न थालेका थिए । केही समयकाे अन्तरालमा उनलाई याे कुराकाे पनि  महसुस भयाे कि उनले महिनौँदेखि कति जटिल जीवन बाँचिरहेकी थिई । यस्ता सामाजिक जीवनमा आधारित विविध विषयवस्तुकाे उठान गरी ,कथावस्तु सुहाउँदाे पात्रहरूकाे चयन गरी नेपाली समाजकाे एक दर्पणका रूपमा उभिएकाे भान गराउँछ । 
नेपाली समाजलाई यस पुस्तकमा पूर्णरूपमा समेटिएको छ । यस पुस्तकले बोलेको सबै कुरा नेपालमा प्रचलित समस्याहरू हुन्, जुन प्राय: बेवास्ता गर्छन्, गरिन्छ र पारिन्छ ।  जस्तै : नेपाली जनताको इज्जतको कुरा गर्ने हो भने त यो उनीहरूको आफ्नो वा आफ्नो नजिकको मानिसहरूको खुसीभन्दा धेरै उच्च तहमा रहेको देखिन्छ । यस पुस्तकले एउटा परिवर्तित समाजकाे परिकल्पना गरेकाे छ, जहाँ खुसी र रुचि मिसिएकाे संस्कार हाेस् । मलाई यो पुस्तकमा भएकाे सरलता, नेपाली समाजकाे समस्यालाई पस्कने लेखन शैली, पात्रविधान,  कथाका परिचित परिवेश र समस्याहरू उजागर गरेकाे भाषाशैलीकाे अद्भुत कला आदिले प्रिय पुस्तकका रूपमा रहन सफल भएकाे हाे ।