Logo

Student Corner

‘मन परेकाे एउटा किताब’

Written by: Sunabi Pokharel - 25018, Grade X

Posted on: 14 October, 2022

मैले आजको दिनसम्म थुप्रै पुस्तकहरू पढिसकेकी छु तर सबैले मेरो मन छुन सकेको भने छैन । मन परेका र मन छुन सफल भएका केही मात्र पुस्तकहरू छन् र तीमध्ये एक अङ्ग्रेजी उपन्यास ‘ब्रिज टु टेराबिथिया’ हो । ‘ब्रिज टु टेराबिथिया’ क्याथरिन प्याटरसनद्वारा लिखित एक सुन्दर उपन्यास हो । याे उपन्यास मुख्यत : मित्रता बन्धनमा आधारित छ । जेस र लेस्ली, उपन्यासका दुई मुख्य पात्र हुन् । ती मिल्ने साथी बन्छन् र साथी बन्ने बाटोमा एकअर्कासँग निकै विवादहरूको सामना पनि गर्छन् । उपन्यासको सुरुवातमा जेस पाँचौँ कक्षामा सबैभन्दा छिटो कुद्ने विद्यार्थी बन्न चाह्नथ्यो तर लेस्ली, जो नयाँ विद्यार्थी थिई, उसले दौड प्रतियोगीता विद्यालय आएको केही दिनमा नै जित्छे । यसै कारणले गर्दा जेसले पहिले लेस्लीलाई मन पराउँदैन । तर जेस र लेस्ली दुबैका अरू कोही साथी नभएकाले र एकअर्का छिमेकी पनि भएकाले साथी बन्छन् । जेसले वास्तवमा लेस्लीलाई साथी बनाउन योग्य सम्झेको हुँदैन किनभने ऊ केटी थिई । यसले हाम्रो समाजको एक नराम्रो पाटोलाई देखाएको छ । हाम्रो समाजले कहिल्यै पनि केटा र केटी साथी मात्र हुन सक्दैन भन्ने सोचलाई अघि सारिरहेको छ र केटा र केटीको मित्रताको मात्र सम्बन्ध भए तापनि मायासँग जोड्ने काम हुँदै गएको छ । उपन्यासमा मे बेले अर्थात् जेसको बहिनीको मिठाइहरू जेनिस एक बदमास् केटीले चोर्छे । यसलाई हाम्रो वास्तविक जीवनसँग जोड्न सक्छौँ । हामीले आफ्नो विद्यालयमा धेरै बदमास साथी वा विद्यार्थीहरू भेट्छौँ जसले आफूभन्दा सानाहरूलाई कुनै आफूसँग शक्ति भएको र आफू ठुलो हो भनेर देखाउनको लागि धम्काउने काम गर्छन् र बिनाकारण सजाय दिन्छन् । उनीहरूले साना भाइबहिनीलाई हेप्ने गर्छन् । धेरैजसो विद्यार्थीहरूलाई धम्की दिए तापनि आवाज उठाउन सबैले सक्दैनन् । तर वास्तविक संसारमा लेस्ली जस्ता विद्यार्थीहरू पनि छन् जो आफ्नो लागि र अरूको लागि पनि आवाज उठाएर बोल्न खोज्छन् । कथामा लेस्ली र जेस मिलेर जेनिसलाई सबक पनि सिकाउँछन् । उपन्यासको अन्तिमतिर जेसले थाहा पाउँछ कि लेस्लीको मृत्यु भयो। लेस्ली उसको एक मात्र मिल्ने साथी थिई जसले उसलाई साहसी र आत्मविश्वासी हुन सिकाएकी थिई । उसले त लेस्लीको मृत्यु भएको कुरा विश्वास नै गर्न अस्वीकार गर्छ तर बिस्तारै उसले यो कुरा सोच्दै र बुझ्दै गर्छ । भर्खर पाँच कक्षामा अध्ययनरत एक छात्रले आफ्नो साथी गुमाएकाे हुन्छ । जेसलाई मृत्युको बारेमा राम्ररी केही थाहा थिएन र उसले आफ्नो त्यति नजिकैको साथीको मृत्यु भएको थाहा पाउनु पऱ्यो । जेसको लागि मृत्यु भन्ने कुरा बुझ्न र वास्तविकतालाई स्वीकार गरेर अघि बढ्न साँच्चै नै गाह्रो काम थियो । ‘ब्रिज टु टेराबिथिया’ एकदमै पढ्न लायक र मन छुने पुस्तक हो र मलाई यो पुस्तक धेरै मन पऱ्यो । यो उपन्यास केही हदसम्म सत्य घटनासँग सम्बन्धित छ भन्ने थाहा पाएपछि मलाई साँच्चै नै भावुक बनायो र मैले जेस पात्रलाई महसुस पनि गरेँ । आफ्नाे  नजिकको मान्छे गुमाउनु भनेको कसैले महसुस गर्न चाहने कुरा होइन र मैले यस्तो पीडा पहिले कहिल्यै अनुभव गरेकी पनि छैन । तर यो किताब पढ्दा कस्तो लाग्छ भन्ने केही हदसम्म बुझ्न सकिन्छ । पुस्तकको सबैभन्दा राम्रो भाग निश्चित रूपमा जेस र लेस्ली बीचको मित्रता नै हो । यसले पाठकहरूलाई एक असल मित्रले आफ्नो जीवनमा कसरी सकारात्मक प्रभाव पार्छ भन्ने कुरा देखाउँछ । एउटा बालक जसको परिवारले उसलाई आफूले रहर गरेको र आफूलाई इच्छा भएको कुरामा कहिल्यै साथ दिएन, त्यो बालकले एउटा असल साथी पाउँछ जसले उसलाई जीवन जिउनु भनेको के हो भनेर महसुस गराउँछे र जब ऊ खुसी हुन थाल्छ र पहिलेभन्दा बढी आत्मविश्वासी हुन थाल्छ, उसले उसलाई एक्लै बनाएर संसार छोडेर जान्छे । यो साँच्चै दु:खद् कुरा हो र मलाई विश्वास छ कि यो पुस्तक  मैले मात्र नभएर अधिकांश पाठकहरूले मन पराएका छन् र मन पराउने छन् ।