Written by: Yojana Gautam - 23068, Grade XII
Posted on: 12 October, 2022
म आफूलाई खोज्दाखोज्दै हारिसकेँ,
आँसुका धारामा आफूलाई बगाइसकेँ ।
केही बन्ने सपना बोक्दाबोक्दै,
खै म कहाँ कति चुकिसकेँ ।
बुबाको त्यो सपना पूरा गर्छु भन्दाभन्दै,
आमाको त्यो दुःखको पोको मेटाउँछु भन्दाभन्दै,
आज किन यस्तो कमजाेर भइसकेँ।
खै यति गर्दागर्दै पनि म कहाँ कतै चुकिसकेँ ?
आज जिन्दगी आफूले आफैँलाई
हारिसकिस् कि ? भनेर प्रश्न मलाई गर्दै छ ।
दिल खोलेर हाँस्दा पनि यो आँखाले
किन वर्षा बगाइरहेको छ ।
किन आज दुःखको मकान नियाल्न पुगेँ
कहिले यस्तो हुन्छु भन्ने नसोचेको
आज किन सोच्न बाध्य भएँ ?
खै म खुसी हुन कहाँ कति चुकिसकेँ ।
आजभोलि सानातिना प्रश्नहरूमा अल्झिरहन्छु ।
धेरै थिए सपना मेरा खै कहाँ लुकिरहेछन् ।
लेख्नु धेरै छ सोचेकी थिएँ,
समय सान्दर्भिक नै देख्दै थिएँ,
जीवनलाई कसरी दोष दिऊँ ?
पत्तै भएन म कहाँ चुकिसकेँ ।
यो दुनियाँको भिड जति नै ठुलो किन नहोस् ।
जति नै ठुलो जमात किन नहोस्
यहाँ कसैले कसैलाई केही गर्दो रहेनछ ।
समय नै त हो दुःखी पनि छन्
र दुःख पनिआफैसँग छ ।
जीवन लामो छ, यो एउटा चक्र हो
जुन हरेक पल घुमिरहेको छ ।
विश्वास राख्नुपर्छ, त्यो चक्र घुमेर एक दिन
जीवनमा खुसीको बहार अवश्य छाउने छ।