Logo

Student Corner

दोषी काे ?

Written by: Anushka Basnet - 24011, Grade XI

Posted on: 11 October, 2022

सधैँ जस्तो आज पनि लीलाले विद्यालयबाट फर्कँदा एउटा मरेको कुकुर बाटोमा देखी । उसको दैनिकीमा नै दिनदिनै मरेका कुकुरहरू देख्नु पर्थ्याे । तल्लो घरको बाटोमुनि जहिले पनि मरिरहेका कुकुर देखिन्थे । कसैलाई थाह थिएन कुकुर कसले कसरी मार्यो, तर हरेक दिन एक एक कुकुरका शव बाटोमा देखिन्थे । अहिले त कुकुर मात्र हैन, अरू जनावरहरू पनि देखिन थालिसकेका थिए । पहिला पहिला त गाउँले जति सबै डराउँथे । लीलाको घरबाट अलि तलको घरमा कोही पनि बस्दैनथे । त्यसैले ती जनावरहरू कसले मारेको भन्ने कसैलाई अत्तोपत्तो अझै थिएन । तल्लो घर खाली भएको १५ वर्ष भइसकेको थियो । लीला एक वर्षकी हुँदै त्यो घरकी बुढी आमाले आत्महत्या गरेकी थिइन् । त्यै बुढी आमाको आत्माले त तर्साएन ? भन्ने खबर जताततै  फैलिएकाे थियो।

लीलालाई यस्तो भूतप्रेतको कुरामा विश्वास लाग्दैनथ्याे । उसलाई त गाउँकाे कुनै मान्छेले मारेर त्याे फालेको हुनुपर्छ जस्तो लाग्थ्यो । १५ वर्ष पुरानो कथा सुनाएर मान्छे तर्साउने भन्दै लीलालाई गाउँलेहरूसँग अझै रिस पनि उठ्यो । आज त उसले दैनिकी जस्तो एउटा नभई चार ओटा मरेका कुकुर देखी । कुकुरहरूको शवसँगै एउटा मरेको परेवा पनि थियो । आज त अति भयो भनेर लीलाले आफ्ना साथीहरू बटुली र राती तल्लो घरमा जाग्राम बस्ने निर्णय गरी । उसका साथीहरूले उसको सोचलाई राम्रो भने पनि नभने पनि उसलाई साथीहरूकाे कुनै वास्ता लागेन । उसलाई केवल कुकुरहरुको ज्यान लिने को रहेछ भन्ने थाह पाउनु थियो । उसका ३ ओटा मिल्ने साथीहरू पनि उसैसँग रातभरि कुकुर मार्ने दोषी हेर्न बसे । 

 रात पर्यो र ४ जना तल्लो घर पुगे । सबले आआफ्नो घरमा एक अर्काको घर जाने भनेर झुटो बोलेर तल्लो घर गए । तल्लो घरैभित्र बस्ने निधो गरे । ४ जना साथीहरू कालो रातमा अपराधी कुर्न थाले । मध्यरात भइसकेको थियो । त्यहाँ काेही पनि आएन । टाढा टाढासम्म कोही पनि थिएन । सबै थाकेका थिए । एक एक गर्दै चार जना नै निदाए । निदाएको करिब ३ घण्टा हुँदा आफ्नो घरमा "लीला लीला! काँ छेस् त ? ओइ लीला काँ गइस ?" दिदीले कराएको सुनेर लीला झसङ्ग बिउँझी । आमा र दिदीलाई तल्लो घरमा छु भनेर आउँछु भन्ने सोचले लीला तल्लो घरबाट निस्कन खोजी । घरको दैलोसम्म पुग्दा उसलाई टाउको दुःखेजस्तो भयो । बल्लतल्ल घरबाट निक्लेर ऊ आफ्नो घर पुगी । आमा र दिदीलाई सम्झाई । आमा आफ्नी छोरी र छोरीका साथीहरू सबैलाई घर बोलाउँछु भनेर तल्लो घर आफैँ गइन् । आमा तल्लो घर पुग्दासम्म लीला पनि पछिपछि गई । तल्लो घर आइपुग्नलाग्दा ठुलो स्वरले चिच्याएको आवाज सुनियो । हतार हतार तल्लो घर पुग्दा त लीलाका तीन जना साथीहरू र एउटा कुकुरको लास देखियो । त्यहाँ र वरपर टाढासम्म कोही पनि थिएन । त्यस रातको सम्झना अझै पनि लीलालाई झल्झली आउँछ । आज १३ वर्षपछि पनि लीलालाई उसको साथीले चिच्याएको आवाज याद छ । साथीलाई अन्तिम चोटी देख्दाको उसको खुसियाली याद छ । ती जनावर र आफ्ना साथीहरू मार्ने लीला नै त थिई । त्यसैले उसलाई त्यो रात सरिया मन पर्छ । आहिलेसम्म मूर्ख गाउँलेहरूले अपराधी भेट्न सकेका छैनन् । लीला अझै पनि बाटोमा खुलम खुला हिँड्छे । उसलाई कसैले केही शङ्का पनि गर्दैनन् । लीला अझै तपाईं हामी माझ हाँस्दै मुस्कुराउँदै हिँड्छे ।