Logo

Student Corner

खुसीको सफलता

Written by: Bipana Shrestha - 24017, Grade XI

Posted on: 09 September, 2022

खुसीको जन्म जुम्लाको एक गाउँमा भएको थियो । खुसी आफ्नी आमासँग बस्ने गर्थी । सानै उमेरमा बुवा गुमाएकी खुसीलाई जीवनमा धेरै पीडा थियो । जन्मिन नपाउँदै बुवालाई गुमाएको दुःख उसको मनमा थियो । उसका हरेक इच्छा र रहरलाई समाजले हाँसोको पात्र बनाएका थिए । पढ्ने, खेल्ने उमेरमा नै घर परिवारको भार थपियो । उसकाे उमेरका साना साना बच्चाहरू कापीकलम बोकेर पढ्न विद्यालय जान्थे तर खुसी भने आफ्नो जिम्मेवारीबाट थिचिएकी थिई । आफ्नो भन्नु एक आमा मात्र हुनाले खुसीले आमाको कुनै पनि कुरालाई टार्दैनथी । खुसी जहिले हरेक काम मेहेनत र इमानदारीका साथ गर्थी ।

एक दिन खुसीले आँट गरेर आमालाई म पनि पढ्न चाहन्छु भन्छे  गुनासो गर्छे । आफूले भोगेको दुःख आफ्नो छोरीले पनि भोग्न नपरोस् भन्ने उसको सोच थियो । त्यसैले आमाले खुसीको भर्ना एउटा राम्रो विद्यालयमा गरिदिन्छन् । खुसी ठुला ठुला सपना बोकेर दिनदिनै पढ्न जान्थी । विद्यालयमा पनि खुसीलाई सबैले खुब माया गर्थे । पढेका कुराहरूलाई खुसीले जीवनमा पनि लागु गर्दथी । हरेक दिन खुसीले केही नयाँ सिक्ने प्रयास गर्थी । कडा मेहेनतका साथ उसले आफ्नो पढाइ पूरा गर्छे । खुसीले आफ्नो बुवा गुमाए पनि, जीवनमा साथ दिनेहरू थुप्रै पाएकी थिई । खुसी हँसिलो मुहार र ठुलो सपना बोकेर आफ्नो जीवनलाई अगाडी बढाउन सक्दो प्रयास गर्थी । खुसी एउटा असल व्यक्ति मात्र नभई एउटा अब्बल नारी पनि थिई । उसका धेरै उद्देश्य थिए ।  जिन्दगीका हरेक पाइलामा ऊ आँटेर अगि बढ्थी । खुसी असल हुनाका कारणले सबैले उसलाई सक्दो साथ दिन्थे । परिवारमा आफू मात्र पढेलेखेको व्यक्ति हुनाले खुसीमाथि ठुलो जीम्मेवारी थियो । खुसीलाई आफ्नो घरको स्थिति पनि राम्रोसँग थाहा थियो।

उसले पढाइ सकिने बित्तिकै काम खोज्न थाली । काम गर्दै गर्दा खुसीले धेरै कुराहरू  सिकी ।  धेरै जनाको ऊमाथि भएको अपेक्षाले उसलाई भित्रभित्रै पाेलिरहेको थियो । कठिन परिस्थितिले घेरिएकी खुसीलाई उसकी आमाले हिम्मत र साथ दिन छाेडिनन् । निरन्तर अगाडि बढनुपर्छ भन्ने आँट दिन छाेडिनन् । सङ्घर्ष र मेहेनतले मात्र जीवनमा परिवर्तन ल्याउन सकिन्छ भन्ने कुरा खुसीले आफ्नी आमाबाट सिकी । त्यही जोस जाँगरका साथ खुसी खुब मेहेनत गर्छे । काम सकिने बित्तिकै खुसी घर जाँदा उसकी आमा खुसीको बाटो कुरेर बस्दै हुन्छिन् । काम गर्दा जति गारो भए पनि खुसीले कहिले आमालाई दुःख पोख्दिनथी । आमाको अगाडि मुसुक्क मुस्कुराइदिन्थी । किनकि खुसीको लागि उसको दुःख हाेइन आमाको खुसी महत्त्वपूर्ण थियो । त्यसैले खुसीले खुब मेहेनत र सङ्घर्ष गरेर जीवनलाई सफलतापूर्वक अगाडि लैजान्छे । खुसीको त्यही सफलतामा उसकी आमाको ठुलो भूमिका रहेको हुन्छ ।