Logo

Student Corner

सङ्गीतविनाकाे जीवन

Written by: Jiya Sapkota - 25003, Grade X

Posted on: 29 August, 2022

सङ्गीत कलाको एक रूप हो जुन यस ग्रहमा सबैको प्रिय हो। सङ्गीत एक व्यक्तिको लागि सुख तथा आनन्दको स्रोत पनि हुन सक्छ । मानिसहरू अनेक साङ्गीतिक रुचिकाे विविधताले भरिएको हुन्छ । त्यसैले विभिन्न मानिसहरूले विभिन्न प्रकारको सङ्गीतलाई प्राथमिकता दिन्छन् र मन पराउँछन् । सङ्गीतको विभिन्न विधाहरू हुन्छन् जस्तै; पप, रक, मेटल, पंक, ज्याज, हिप हप, कन्ट्री, इलेक्ट्रोनिक, फङ्क, आदि । सामान्यतयाः धेरैजसो मानिसहरूले यी विधाहरू मन पराउँछन् किनभने तिनीहरू यहाँ समावेश नभएका साङ्गीतिक विधाभन्दा बढी लोकप्रिय छन् र चर्चामा पर्दछन् । सङ्गीतले धेरै मानिसहरूलाई जीवन जीउने कला सिकाएकाे छ । यो धेरै मानिसहरूको लागि सङ्गीतकाे माध्यमबाट खुशीको स्रोत र आत्मविश्वासकाे आधार बनेकाे छ ।

कहिले कहिले त सोच्छु पनि, यदि सङ्गीत नै नभएको भए सङ्गीत बिनाको जीवन कस्तो हुन्छ होला भनेर। म आफैलाई प्रश्न पनि गर्छु यदि सङ्गीत थिएन भने, प्रत्येक पटक कसैले “नानु, के गर्न रुचाउछौ ?” भनेर प्रश्न गर्दा म के भन्थे होला? किनभने मेरो उत्तर त सधैँ “सङ्गीत सुन्छु” नै हुन्छ। म प्रायः अन्य विधाहरू भन्दा रक र मेटललाई अलि बढी प्राथमिकता दिन्छु । तर पप, आर एन्ड बी र अन्य सङ्गीतको विधाको रूपमा म "द वीकेन्ड" सुन्छु जो मेरो मनपर्ने सङ्गीतका कलाकार हुन् । मलाई आवाज कम भएका ती सुस्तरी-सुस्तरी बज्ने गीतहरू मन पराउन त एउटा युग नै लाग्छ होला। यस्ता गीतहरू सुन्दै न सुन्ने त हैन तर आफूलाई जे मन पर्छ त्यसमै धेरै ध्यान हुन्छ, जस्तै मलाई ठुलो आवाज हुने र चिच्याउन मिल्ने गीत सङ्गीत निक्कै राम्रो लाग्छ । समय समयमा मेरो कोठाबाट धेरै ड्याङ्गडुङ्ग आवाज आउँदा गीत न सुन्न वा ठुलाे आवाजमा नबजाउन आदेश आए पनि बरू केही उपाय खोजेर भए पनि सुन्ने गर्छु ।कहिले काहीँ त आएर आफैँ ढोका लाउने पनि गर्नुहुन्छ किनभने उहाँहरूले मेरो सङ्गीतप्रतिको लगाव बिस्तारै बुझिसक्नुभयो । सङ्गीतविनाको जीवन चाहिँ म कल्पना गर्न पनि सक्दिनँ। तीन चार बर्षअघि चाहिँ बरु सक्थे होला तर अहिले सोच्दा त यो केवल असम्भव मात्र हो भन्ने देख्छु ।

यो कुरा सत्य हो कि म लगभग हरपल सङ्गीतका साथ नै आफ्नो काम गरिरहेकी हुन्छु ।  फूलमा उसको बास्ना उसको मिठास भए जसरी नै सङ्गीत भनेको जीवनको मिठास हो। व्यक्तिगत रूपमा मेरो लागि सङ्गीत मसँग हरपल हुन्छ । यदि यो नै भएन भने त म निक्कै अलमल्लमा पर्ने छु।  हुन त धेरै सङ्गीत सुनेर पनि होला तर जब म अलमल्लमा हुन्छु म सङ्गीत नै सुन्छु, जहिले पनि म दुःखी वा निराश हुन्छु जहिले म खुसी हुन्छु वा निकै कठोर महसुस गर्छु । जब म भावनामा डुब्छु म सङ्गीत नै सुन्छु। सङ्गीत त्यहीँ हुन्छ जसले स्वर्णिम आनन्दकाे महसुस गराउँछ ।