Logo

Student Corner

विकास

Written by: Sunabi Pokharel - 25018, Grade X

Posted on: 24 August, 2022

मेरो गाउँमा, सहरिया थिए, गाउँले भए अहिले
विकासको मूल फुटी, गाउँले भए अहिले ।
हिँड्दै पुग्ने पसल जाँदा डुङ्गा चढ्छु अहिले
पसलबाट चिप्लेटीमै घर आइपुग्छु अहिले ।।

पक्की थियो बाटो पहिले, हिलाम्मे छ अहिले
खाली खुट्टै हिँडिदिन्छु क्या मस्ती छ अहिले ।
बाइक, मोटर, पेट्रोल खर्छ कति गाह्रो पहिले
पेसा, रोजगार गरी खान्थे, बसी खान्छन् अहिले ।।

सानो बाटो ठुलो बन्ने लक्ष्य हो रे अहिले
भ्यागुता र माछा हिँड्छन् त्यही बाटोमा अहिले ।
मान्छे, गाडि हिँड्यो भने बजेट आउँदैन रे
दु:ख नभै सुखका त दिन नै आउँदैन रे ।।

नाली भित्र ढल बग्थ्यो, भूमिगत थियो पहिले
माथ्लाघरे दाइ बग्यो रे त्यहि खोलामा अहिले ।
कलकल गर्ने खोला थियो, पौडी खेल्थे पहिले
ढल निकासको डम्पिङ साइट, त्यही खोला छ अहिले ।।

खेतीपाती हरियाली कति राम्रो पहिले
खेतबारी बाँझो राखी विदेश जान्छन् अहिले ।
सुल्टो विकास दौडिराथ्यो, सुन्दर गाउँथ्यो पहिले
उल्टो उल्टो काम हुँदैछ, मेरो गाउँमा अहिले ।।