Logo

Student Corner

भाग्यमानी भएको महसुस नगरेको म

Written by: Pranjal Khatiwoda - 23030, Grade XII

Posted on: 23 August, 2022

भाग्यमानी भएर महसुस नगरेको बारेमा लेख्नु नै एउटा भाग्यमानी भएको फाइदा हो । सबैले पढेका हुँदैनन्, सबैलाई लेख्न आउँदैन, सबैले सबै कुरा बुझ्दा नि बुझ्दैनन् र अर्को कुनामा हेर्दा जो भाग्यमानी छन् उनीहरूसँग यो प्रशस्त हुँदा पनि त्यो महसुस गर्न सक्दैनन् ।  किन यस्तो ? यो प्रश्नको सजिलै उत्तर कोसैले पनि दिन सक्दैन । तपाईंहरू पाठक जसले यो पढिरहेको हुनुहुन्छ, तपाईंहरू सबै भाग्यमानी हुनुहुन्छ र म बाजी ठोकेर भन्न सक्छु कसैले पनि त्यो महसुस गरेका छैनन् र केही कुरा पुगेन भनेर यत्तिकै किचकिच पनि पक्कै गरेका नै छन् । यो सत्य हो मानिस कहिल्यै सन्तुष्ट हुँदैन । सबैलाई केही न केही पुगेको चाहिँ कहिले पनि हुँदो रहेनछ । यसलाई बदल्न कोही पनि सक्दैन तर जो भाग्यमानी छन् तिनीहरूले  एकचोटी सोचेर हेर्ने हो भने उनीहरूसँग सन्तुष्ट हुने धेरै चिजहरू छन् । त्यो महसुस गर्न सके मानसिक शान्ति चाहिँ पुग्न सक्छ, र सफलता पनि प्राप्त हुन सक्छ ।  
जो कोही पनि भाग्यमानी छन्, तिनीहरूले आफू भाग्यमानी भएको कुरा महसुस चाहिँ गर्दैनन् । यसको एउटा प्रमुख उदाहरण म आफै हुँ । घरदेखि लिएर विद्यालय सबैतिर यति धेरै सुविधाहरू छन् कि कुरै छोडौँ ! तर भएर पनि केही भएन जब आफैँलाई महसुस हुँदैन, जुन कुराको अपराधी म आफैलाई मान्छु ।  अब आफ्नै कुरा गरिरहँदा, आफ्नै कलेज डियरवाककै उदहारण लिएर कुरा गर्छु । ट्युसन कक्षाहरू लिँदा त आफ्नो कलेजका बाहेक अरू धेरै विद्यार्थीहरू भेटिन्छन् । कुरा कुरामा अब आफ्नो आफ्नो कलेजको तुलना गर्ने कुरा त अहिले स्वभाभिक नै छ । यही कुरा गर्दा नै मैले आफूलाई पहिलो पटक यति धेरै भाग्यमानी मानेँ । जुन कुराहरू आफ्ना साथीहरूलाई मैले बताएकाे थिएँ । त्यो सुनेर सबै चकित भए । जुन कुरा मलाई त्यति बेरसम्म सामान्य नै लाग्थ्यो  । नलागोस पनि किन र ? सबै कुरा राम्रै, सजिलो, सुविधाले भरिएको देखेको कुरालाई सामान्य नै हुन्छ तर जसले यो कुरा आफूले महसुस गरेका हुँदैनन् तिनीहरूलाई त यो स्वर्ग जस्तै हुन्छ ।  यस्तै स्वर्गमा आजकाल धेरै मानिसहरू बाँचिरहेका छन् र आफू स्वर्गमा रहेको महसुस गरेका छैनन् । जुन हेर्दा पनि मानव समाजको लागि नै दुःख लाग्दो कुरा हो।  

झुट के बोल्नु, म आफैँ भाग्यमानी रहेको थोप्पा पनि महसुस गरिरहेको हुँदिन, रहेछु भन्ने कुरा मलाई एक घटनाबाट मात्रै अस्ति भर्खर थाहा भयो । अनलाइन ट्युसन कक्षा पढ्दा  राति ६:४५ देखि ९ बजेसम्म हुने गरेको छ र १५ मिनेट जति ब्रेक हुन्छ । शिक्षकले कक्षाको अन्तिममा केही समस्या छ पढ्न भनेर सोध्नुभयो ।  एक जना केटीले चाहिँ "सर राति यो कक्षा गरेर भएन, ब्रेक पनि थोरै भयो र खान पकाउन पनि समय भएन" भनिन् । उनले यो भनिरहेको बेला ठ्याक्कै मलाई मेरो आमाले खान पस्केर मेरो टेबुलमा ल्याएर राखदिनु भएको थियो । त्यो कुरा सुनेर नै मलाई दिक्क लागेर आयो । आफू कति आरामको जिन्दगी बाँचिरहेको छु भन्ने कुरा महसुस भयो । आफूले सब कुरा पाउँदा पनि किचकिच गर्ने मन देखेर आफैँप्रति एक किसिमको घृणा लागेर आयो ।  आफू कति भाग्यमानी रहेको र यसको महसुस नभएको कुराले आफूले धेरै कुरा सही उपयोग नगरेको देखेर खल्लो लाग्यो।  

तसर्थ, हामी सबै जो भाग्यमानी छौँ, त्यो कुरा आफैँ महसुस गरौँ, सबैले त्यो कुरा बुझौँ र त्यसकाे सही उपयोग गरौँ, किनकि यदि त्यसाे गर्न सकेनौँ र पहिलाको जस्तै सानो सानो कुरा नपाएकोमा किचकिच गर्यौँ भने मानिसको नाममा  कलङ्क नै रहनेछौ ।