Logo

Student Corner

साइबर अपराध र यसबाट बच्ने उपाय

Written by: Sauharda Bajracharya - 26010, Grade IX

Posted on: 22 August, 2022

बढ्दाे प्रविधिको यस संसारमा अधिकांश मानिसहरू इन्टरनेट र कम्प्युटरको प्रयोग गर्छन् । इन्टरनेटकाे बढ्दो प्रयाेगसँगै मानिसहरू साइबर अपराध र यसबाट कसरी बच्ने भन्नेबारे जान्न आवश्यक छ । साइबर अपराध भनेको कम्प्युटर र नेटवर्क समावेश गरी गरिने अपराध हो । यसले कसैको व्यक्तिगत सुरक्षा र आर्थिक अवस्थालाई हानि पुर्याउन सक्छ । त्यसैकारण, हामीले इन्टरनेटमा आफ्नो व्यक्तिगत जानकारी दिनुभन्दा अघि हामीले त्यो वेबसाइट विश्वासनीय छ कि छैन हेर्नुपर्छ । ठगी अपराध, अनलाइनमा सताउने, साइबर युद्ध, विज्ञापन ठगी, आदि सबै साइबर अपराध अन्तर्गत पर्छन् ।
विश्वमा धेरै मानिसहरू ठगी अपराध र विज्ञापन ठगीमा परेका छन् । सामान्यतया मानिसहरूलाई सामाजिक सञ्जालमा यहाँ क्लिक गर्नुहोस् र १ करोड जित्नुहोस् भनेर स्क्रिन प्रस्तुत गरिन्छ । धेरै मानिसहरू यस जालमा फस्छन् र आफ्नो व्यक्तिगत र अन्य जानकारीहरू राख्छन् र ठगिन्छन् । यदि, हामीले याे सबै भने अनुसारकाे गर्दै गयाैँ भने हाम्राे व्यक्तिगत विवरणबाट ह्याकरले हाम्राे सबै कुरा थाह पाउँछ । यस्तै गरी साइन अप गर्नुहोस् र सित्तैमा केही जित्नुहोस् प्रस्ताव देखेर साइनअप गरेमा हामी ठगिने डर हुन्छ । सूचना प्रविधि सुरक्षा विशेषज्ञहरूले २००१ सालदेखि नै इन्टरनेटमा ठग र घोटालाहरू छन् भन्ने कुरा थाहा पाएका थिए ।

त्यतिबेला त धेरै कम मानिसहरूसँग कम्प्युटर र इन्टरनेट थियो तर अहिले त अधिकांश मानिसहरूसँग कम्प्युटर र इन्टरनेट छ । त्यसकारण अहिले यस्ता साइबर अपराधका घटनाहरू पहिलाभन्दा अझै धेरै छन् । अहिले अधिकांश मानिसहरू इन्टरनेटमा भएकाले मानिसको व्यक्तिगत जानकारी चुहावट गर्ने, अरूको खाता ह्याक गर्ने, धम्की दिने, पैसाको लागि मानिसहरूलाई गैरकानुनी अपराध गर्न लगाउने जस्ता कार्यहरू बढ्दै गएका छन् । इन्टरनेटको माध्यमबाट मानिसहरूलाई धम्की दिएर अनि हत्या गरेका धेरै घटनाहरू पनि छन् । ह्याकरहरूले अरूको कम्प्युटर ह्याक गरेर मालवेयर र भाइरसहरू राखेका धेरै घटनाहरू पनि छन् । जसरी प्रविधिको विकास हुँदै जान्छ, अपराधीहरूले त्यसरी नै अपराध गर्ने नयाँ नयाँ तरिका खाेज्दै जान्छन् । मानिसहरू यस तरिकाको अपराध र ठगीमा पर्नुले हाम्रो समाज प्राविधिक क्षेत्रमा कति पछाडि छ भनेर देखाउँछ । हाम्रो समाजमा कम्प्युटर र इन्टरनेटको बारेमा धेरै कम मानिसहरूलाई ज्ञान भएको कारण ह्याकरहरू सजिलैसँग हाम्रो कम्प्युटरमा सजिलै ह्याक गरी चलखेल गर्छन् ।

यस्ताे साइबर अपराधबाट बच्ने चाहिँ कसरी ? हामी त्यस्ता साइबर अपराध र आक्रमणहरूबाट आफूलाई पूर्ण रूपमा जोगाउन सक्दैनौँ । हामी तिनीहरूलाई रोक्न चाहिँ सक्छौँ । इन्टरनेट चलाउँदा हामी सावधान रहनुपर्छ । हामीले जथाभावी लिङ्कहरू क्लिक गर्नु हुदैँन, थाहा नभएको साइटहरू र लिङ्कहरूमा पनि विश्वास गर्नुहुदैँन । कम्प्युटरमा बलियो पासवर्डहरू राख्नुपर्छ र हामीले पासवर्डहरू अरूलाई दिनु हुँदैन । यदि हामीले अनजानमा पनि त्यस्ता लिङ्कहरू क्लिक गर्यौँ भने हामीले तिनीहरूलाई तुरून्तै बन्द गर्नुपर्छ । यदि हामी त्यस्तो जालमा फस्यौँ भने हामीले सुरक्षा निकायमा रिपोर्ट गर्नुपर्छ । हामीले इन्टरनेटको सुरक्षित प्रयोगको बारेमा मानिसहरूलाई सचेत गराउनुपर्छ । हामीले भाइरस वा खराब सफ्टवेयर डाउनलोड गर्नु हुँदैन । हामी सुरक्षित रहन भि.पि.न प्रयोग गर्नुपर्छ र प्रविधिसँगसँगै अगाडि बढ्दै जानुपर्छ ।