Logo

Student Corner

मेरो देश

Written by: Chahat R.S. Rathour - 24018, Grade XI

Posted on: 22 August, 2022

विश्वको नक्सामा हेर्दा एसिया महादेशको दक्षिणी भागमा दुई विशाल देश चीन र भारतको बिचमा रहेको नेपाल मेरो देश हो । भौगोलिक रूपमा सानो भए पनि मेरो देश नेपाल प्राकृतिक, सांस्कृतिक, जातीय र भाषिक विविधताका कारण सुन्दर छ ।
विश्वकाे सर्वोच्च शिखर सगरमाथा मेरो देशको गौरव बनेर मुस्कुराइरहेको छ । सगरमाथाले मात्र होइन, कञ्चनजङ्घा, धौलागिरी, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लु, सैपाल, अपि, जस्ता कैयाैँ लोभलाग्दा हिम शिखहरूले मेरो देशको मुहार उज्यालो बनाएका छन् । यहाँका हिमाल, पहाड, तराईमा फैलिएको मनोरम भूभागले मेरो देशलाई सुन्दर बनाएको छ । उच्च पहाडी लेकबाट झर्ने झरना जति हेरे पनि मन अघाउँदैन । हिमालबाट निस्केर नागबेली आकारमा बग्दै मेरो देशका गाउँघर, सहर बजारबाट स्वच्छ, सफा र पवित्र नदीनालाले मेरो देशलाई जीवन दिएका छन् । अनेकतामा एकता नै मेरो देशको विशेषता हो । यहाँ अनेकाैँ जातजाति, भाषाभाषी र धर्मावलम्बीहरू आपसमा मिलेर बसेका छन् । नौरङ्गी डाँफे, एकसिङ्गे गैँडालगायत अनेकाैँ जीवजन्तु र चराचुरुङ्गीले मेरो देशको शोभा बढाएको छन्। 
नेपालको सौन्दर्य प्रकृतिमा मात्र सीमित छैन । कला, भाषा, सभ्यता,संस्कृतिमा मात्र होइन सबैमा छ । नेपालीहरूको इतिहास “वीर गोर्खाली”काे नामले विश्वभर चिनिएको छ । विश्वमा जति मुलुक भए पनि अरू  देश सामु मेरो देश नेपाल कहिले पनि झुकेको छैन । हाम्रा पुर्खाहरू  मर्नसँग डर  कहिले मानेनन् । यसैले हाम्रो देश कसैकाे कब्जामा परेन । उनीहरूका लागि मर्नु भनेकाे त देशले गर्व गर्ने व्यक्ति हुनु हाे । हाम्रा पूर्खाहरू देशको लागि आफ्नो ज्यानसमेत दिन तयार भए र दिए पनि । यति मात्र नभई मेरो देश नेपाल  शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको जन्मभूमि हो । जुन कुराले मेरो देशलाई संसारभर प्रसिद्ध बनाएको छ । जातीय विविधता, धार्मिक तथा सांस्कृतिक सद्भाव, पुर्खाको वीरताले कोरेको गौरवमय इतिहासले गर्दा मेरो देश विश्वमा अरूभन्दा बेग्लै छ । 
त्यसैले गर्वका साथ भन्छाैँ, “हामी नेपाली हाम्राे नेपाल” ।