Logo

Student Corner

माउन्ट एभरेस्ट

Written by: Purab Marahatta - 23034, Grade XII

Posted on: 03 August, 2022

विश्वको सर्वोच्च चुचुरो सगरमाथा हाम्रो मातृभूमिको गौरव र पहिचान हो । यो सर्वोच्च शिखरबाट नेपालको गौरव माथि उठेको छ । यस चुचुरोको ख्याति र आकर्षणका कारण नेपालकाे पर्यटन व्यवसाय फस्टाएको छ । यहाँ हिमालयको प्राकृतिक सौन्दर्यको आनन्द लिन धेरै विदेशी पर्यटक नेपाल आउने गरेका छन् । यो हाम्रो देशकाे लागि उपहार हो भन्दा फरक पर्दैन । यो चुचुरोको गौरवशाली कीर्तिले राष्ट्रको पहिचान मात्र होइन नेपालीको स्वाभिमान विश्वभर फैलिएको छ । हामी नेपाली गर्वका साथ भन्न सक्छौँ  कि हामी सगरमाथाकाे देशका नागरिक हौँ । सगरमाथाले पर्यटन र पर्वतारोहणको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । संसारका विभिन्न देशबाट विदेशी मानिसहरू यहाँ सगरमाथा हेर्नको लागि आउँछन् । तिनीहरूबाट हामीले विदेशी मुद्रा कमाउँछौँ । त्यसैगरी पर्यटन क्षेत्रमा काम गर्न विभिन्न सङ्घसंस्थाहरू स्थापना भएका छन् । अन्ततः यसबाट रोजगारीका धेरै अवसरहरू उपलब्ध गराउने भएकाले बेरोजगारीको समस्या पनि कम भएको छ ।
सगरमाथा हाम्रो महिमा, गरिमा र पहिचान भए पनि मानव जातिका विभिन्न गतिविधिका कारण यो अहिले प्रदूषित हुँदै गएकाे छ । उदाहरणका लागि धेरै प्लास्टिकको झोला, बोतल र अन्य सामग्रीहरू जथाभावी फाल्नाले यसकाे सुन्दरता हराउँदै गएकाे छ । सगरमाथालाई सदा सुन्दर राख्न यससँग सम्बन्धित क्षेत्रका साथै हामी सबै जिम्मेवार हुनुपर्छ । यदि यो सुरक्षित नभए हामीले आफ्नाे पहिचान जाेगाउन सक्दैनौँ । सगरमाथालाई जोगाउनु भनेको हामीले आफूलाई जोगाउनु हो भन्ने कुरा हामीले बुझ्नुपर्छ । त्यसैले यसको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो ।