Logo

Student Corner

खेलकुदको महत्त्व

Written by: Bipan Sajwal - 24015, Grade XI

Posted on: 21 July, 2022

‘खेल’ र ‘कुद’ शब्द मिलेर बनेको शब्द खेलकुद हो । यसको शाब्दिक अर्थ कुदेर खेलिने खेल हो । खेलकुद स्वस्थ जीवनको लागि अनिवार्य छ । खेलकुदबाट नै मानिस फुर्तिलो तथा जाँगरिलो हुन्छ । त्यसैले निरोगीको सूचक नै खेलकुद हो । देश जतिसुकै गरिब वा धनी होस् सबै देशमा आआफ्नो राष्ट्रिय खेलकुद हुन्छ । खेलकुदले राष्ट्रलाई,व्यक्तिलाई,टोल र समाजलाई विश्वसामु चिनाउने काम गर्दछ । खेलकुदले देशको इज्जत बढाउँछ । खेल खेल्नाले देशको मात्र नभई खेल खेल्ने खेलाडीको पनि इज्जत र धन बढ्दछ। 
खेलकुद मानिसका लागि अभिन्न अङ्ग बन्न पुगेको छ । यसको महत्त्व केटाकेटीदेखि लिएर बुढापाका सबैलाई छ । किनभने खेलकुदमा झुकाव राख्ने व्यक्ति सधैँ  स्वस्थ हुन्छ । आफ्नो काममा कहिल्यै अल्छी गर्दैन फेरि कर्तव्य र दायित्व पनि व्यक्तिलाई बोध हुन्छ । स्वस्थ रहनका लागि खेलकुदको धेरै महत्त्व छ ।
विश्वमा कतिपय व्यक्तिहरूले खेलकुदकै माध्यमबाट आफ्नो र राष्ट्रको गौरव बढाएका छन् । उनीहरूको मानमर्यादा चुलिदैँ गएको छ । कतिपयले त खेलकुदलाई नै आफ्नो पेसा बनाएर आफ्नो व्यक्तित्व विकास गरेका छन् । फुटबलकै कुरा गर्ने हो भने नेयमार,रोनाल्डो, मेस्सी ,आदिलाई नचिन्ने विश्वमा कमै छन् । उनीहरूको नाम लिने बित्तिकै खेलकुदको सम्झना हुन्छ । तसर्थ खेलकुदका पर्यायहरू अरू थुप्रै छन् । जसले नाम, दाम,इज्जत सबै कमाएका छन् । यसबाट सहजै भन्न सकिन्छ कि खेलकुदको महत्त्व मानव जीवनमा कति छ भनेर ।
खेलकुदलाई घरभित्र खेलिने र घरबाहिर खेलिने गरी दुई भागमा विभाजन गरिएको छ । घरभित्र खेलिने खेलहरूमा, लुडो, चेस, क्यारेम आदि पर्दछन् । घरबाहिर खेलिने खेलहरूमा फुटबल, क्रिकेट,लगायत अरू थुप्रै खेलहरू पर्दछन् । जे होस् दुवै खेलहरू स्वस्थ रहन उत्तिकै महत्त्वपूर्ण छ । अहिले त अविकसित राष्ट्रहरूले पनि खेलकुदका लागि छुट्टै बजेटको व्यवस्था गर्ने गरेका छन् । खेलाडीहरूलाई उच्च मनोबल बढाउनका लागि पुरस्कारको समेत व्यवस्था गरेका छन् । 
जस्तै हाम्रै देश नेपालमा पनि साफ खेलकुदमा सहभागी भई प्रथम हुने खेलाडीहरूलाई रु ५ लाख जति दिएर सम्मान गरिएको छ । म आफैँ पनि एउटा अन्तराष्ट्रिय खेलाडी हुँ र मैले पनि तेक्वान्दो खेलमा थाइल्यान्ड गई प्रथम भएर आउँदा मैले पनि नगद रु २० हजार जति सम्मान स्वरूप पाएको थिएँ  । तसर्थ खेलकुदको महत्त्व आपरिहार्य छ ।
खेलकुद मानव जीवनका लागि अभिन्न अङ्ग हो । कामको थकान मेटाउने मनमा उत्साह वृद्धि गर्न खेलकुदको गहन भूमिका हुन्छ । शिथिल पनलाई हटाउनको लागि खेलकुदले राहत दिने भएकाले खेलकुदको धेरै महत्त्व छ । यसका लागि हामीले समय छुट्याउनु पर्दछ । नियमित रूपमा व्यायाम गर्ने व्यक्ति कहिल्यै पनि प्रेसर, मधुमेह, क्यान्सर, जस्ता दीर्घ रोगी बन्नु पर्दैन ।