Logo

Student Corner

बुवा विदेश गएपछि

Written by: Aarav B.C. - 25001, Grade X

Posted on: 18 July, 2022

करिब छ महिना अघिपुस १२ गते मेरो बुबा विदेश (माल्दिभ्स) जानुभयो । उहाँ जानु भएको दिन मेरी आमा धेरै रुनुभयो किनभने उहाँ मेरो बुबाबाट टाढा हुन लाग्नु भएको थियो तर मैले आफ्नो जिम्मेवारी पहिले नै बुझेकोले म रोइनँ । बुवा जानुभन्दा अगाडि अँगालो हाल्दा मेरो आँखामा आँसुका थोपा झरेका थिए तर मैले आफ्नो भावना व्यक्त गरिनँ किनकि मलाई थाहा थियो यदि, म पनि रोएँ भने मेरी आमा झनै दुःखी हुनुहुनेछ । हामी सबैलाई धेरै दुःख लागेको थियो । म र मेरी आमा अनि हजुरआमा दुःखी थियाैँ तर मेरो भाइले त्यसमा कत्ति पनि चिन्ता गरेन । सायद ऊ त्यस्ता कुरा बुझ्न सानै थियो । त्यतिबेला मेरो घर पनि मर्मत भइरहेको थियो । घरमा बुबा नहुँदा त्यो बेला साँच्चै गाह्रो थियो । हामीले समानहरू यताउता यताउता गरिरहनुपर्थ्यो । मेरी आमा र मैले त्यस समयमा सबैभन्दा बढी काम गर्यौँ । त्यसबेला मेरो ठुली आमाले पनि हामीलाई धेरै सहयोग गर्नुभयो । बुबा विदेश जानाले धेरै गारो भयो । उहाँ एक्लैले सम्पूर्ण परिवारको हेरचाह गर्नुपर्छ । उहाँले हामीलाई खुवाउनुपर्छ । मलाई र मेरो भाइलाई स्कुल पठाउनुपर्छ । भाइलाई स्कुलबाट ल्याउनुपर्छ । उहाँले मेरी हजुरआमाको पनि हेरचाह गर्नुपर्छ । त्यसैले उहाँलाई धेरै गारो पर्याे । त्यसैले पनि मैले मेरी आमालाई सकेसम्म मद्दत गरेँ।
बिस्तारै दिन बित्दै गयो र बुबा घरमा नभएको बानी पर्यो । त्यही पनि हाम्रो मेसेन्जर वा भाइबरमा कुरा भइरहन्छ । बुबाले मलाई सधैँ आमालाई मद्दत गर्नू, उहाँको हेरचाह गर्नू, भाइलाई उसको पढाइमा मद्दत गर्नू, मेरी हजुरआमाको हेरचाह गर्नू भन्नुहुन्छ ।  बुबाका यी कुराहरूले मलाई प्रेरणा र हौसला दिन्छन् । मलाई मेरो परिवारलाई मद्दत गर्न प्रोत्साहन गर्छ । जसले मलाई परिवारप्रतिको जिम्मेवारी महसुस गराउँछ ।
बुबा गएका महिनौँपछि हजुरआमा बिरामी हुनुभयो । म निकै डराएको थिएँ । म, मेरी आमा, ठुलो बुबा मेरी हजुरआमालाई लिएर हतार हतार हस्पिटल गयौँ । मलाई हजुरआमाको हेरचाह गर्नू भनेर मेरो बुबाले भनेका शब्दहरू मैले सम्झिएँ । बेलुका ८ बजे अस्पताल गयौँ र बिहान ५ बजेसम्म बस्यौँ । डाक्टरहरूले केही परीक्षण गरे र हामीले थाहा पायौँ  कि उहाँलाई थाइराइड भएकाे रहेछ । हामी धेरै डरायौँ । बिहान ५ बजे निकै थाकेर घर पुग्यौँ । म र मेरी आमाले मेरो बुबालाई यसबारे बताइसकेपछि उहाँ पनि धेरै छक्क पर्नुभयो  र डराउनु भयो । मेरो बुबाले हामीलाई हजुरआमालाई के खुवाउने भनेर  बताउनुभयो किनभने उहाँले अब थाइराडलाई असर नगर्ने चीजहरू मात्र खानुपर्छ । 
बुबा घरमा नहुँदा यति धेरै गाह्रो हुन्छ भन्ने मलाई थाहा थिएन । हाम्रो हातमा धेरै काम र यति धेरै जिम्मेवारी पर्छ भन्ने कुरा मलाइ पत्तै थिएन ।  त्यसपछि मैले आफ्ना बुबाआमा विदेशमा काम गर्ने साथीहरूको बारेमा सोचेँ। कति गाह्रो होला उनीहरूलाई  र उनीहरूका अभिभावकलाई भनेर । साँच्चै मैले त्यस्तो जिम्मेवारी कहिल्यै पाइन र त्यस्ता कठिनाइहरूको सामना कहिलै गरेको थिइनँ ।