Logo

Student Corner

महिनावारी

Written by: Sambridhi Neupane - 23036, Grade XII

Posted on: 14 July, 2022

महिनावारी मासिक रूपमा महिलामा हुने यस्तो प्रक्रिया हो जसमा पाठेघरले योनिबाट रगत बहाउँछ । यो एक प्राकृतिक मानव प्रक्रिया हो । यो प्रजनन उमेरका केटी र महिलाहरूको लागि एक प्राकृतिक र स्वस्थ प्रक्रिया हो । यो सामान्यतया २ देखि ८ दिनसम्म रहन्छ। यो व्यक्तिअनुसार फरक हुन्छ । यस समयमा महिलाहरूलाई धेरै हेरचाह चाहिन्छ । तर हाम्रो देशको सन्दर्भमा उनीहरूले भेदभाव र अमानवीय व्यवहारको सामना गर्नु परेको देखिन्छ । 
नेपालमा महिनावारीको सामाजिक अर्थ अपवित्रता हो । उनीहरूले यस समयमा घरका अरू सदस्यलाई  छुन नपाउने चलन छ । यति मात्र नभएर कति अविकसित ठाउँहरूमा यो बेला महिलाहरूलाई छाउगाेठमा राख्ने गर्छन् । छाउपडी भनेको साना झुपडीहरू हुन् । यस्ता कुप्रथाले हाम्रो समाजमा जरा गाडेका छन् । यस समयमा महिलाहरू अपवित्र र फोहोर हुन्छन् भन्ने विश्वास छ । यस्ताे समयमा उनीहरूले उचित खाना, पानी, बास पाउँदैनन् । त्यसैले उनीहरू भोकमरी, सर्पको टोकाइ, जनावरको आक्रमण आदिको सिकार हुन्छन् । छाउपडीमा बस्ने युवतीमाथि बलात्कार र कुटपिटका घटना पनि धेरै सुनिन्छन् ।

नेपालकाे ग्रामीण क्षेत्रको तुलनामा सहरको अवस्था निकै राम्रो छ । छाउपडी जस्ता प्रथाहरू सहरमा देखिँदैन । तर यो समयमा महिलाहरूले भेदभाव सहनुपर्छ । धेरै जस्तो घरहरूमा महिलाहरूलाई भान्सामा र मन्दिरमा जाना नदिने चलन  छ । विगतमा महिलाहरूसँग उचित सेनेटरी प्याडहरू थिएनन् र जताततै रगत बगिरहेको हुन्थ्यो, त्यसैले उनीहरू भान्सामा जान पाउँदैनथे तर, अहिले यसलाई अन्धविश्वासमा परिणत गरी अपवित्र मानिन्छ।
महिनावारी महिलाहरूकाे प्राकृतिक प्रक्रिया हो । यस समयमा महिलाहरूलाई भेदभाव गर्नु हुँदैन । यस समयमा उनीहरूलाई थप हेरचाह, पोषक तत्त्व र मद्दत चाहिन्छ । यस समयमा महिलाहरूलाई आरामकाे आवश्यकता पर्छ । उनीहरूले यसमा लाज मान्नु हुँदैन । महिनावारी र सरसफाइको बारेमा जानकारी हुनु अति आवश्यक छ । युवा अवस्थाका केटीहरूलाई यसको बारेमा पर्याप्त ज्ञान हुनुपर्छ किनकि तिनीहरू नडराऊन् यसलाई सहजै लिन सकून् । अहिलेकाे २१औँ शताब्दीमा महिनावारी जस्ता प्राकृतिक प्रक्रियाका लागि कुनै पनि महिलालाई भेदभाव र दुर्व्यवहार गर्नु हुँदैन । महिलाहरूको महिनावारीमा सुरक्षित र सहज वातावरण सिर्जना गर्नु हामी  सबैकाे दायित्व हो ।