Logo

Student Corner

राजनीतिमा युवाको भूमिका

Written by: Yawat Malla - 24037, Grade XI

Posted on: 13 July, 2022

‘राज्य’ र ‘नीति’ शब्दको संयोजनले ‘राजनीति’ शब्द बनेकाे हो । राजनीति भनेकै राज्य चलाउने नीति हो । कुनै पनि राज्य तथा देश फस्टाउन र विकास हुनमा त्यस देशको राजनीतिको ठुलो  भूमिका हुन्छ । यही कारण राजनीति असल हुन महत्त्वपूर्ण हुन्छ । आज संसारमा अमेरिका, बेलायत र रुसजस्ता अन्य देशहरू शक्तिशाली भएको मुख्य कारण पनि ती देशका अटुट राजनीतिक स्थापनाहरू हुन् ।  कुनै पनि मुलुकको अर्थतन्त्र, शिक्षा र अरू क्षत्रको अवस्था पनि त्यस देशको राजनीतिमै निर्भर रहन्छ । त्यसैले राजनीतिक क्षेत्रमा युवाहरूको रुचि हुन जरुरी छ । राजनीतिमा युवाहरूको सक्रिय संलग्नता भएमा देश विकाशको गति छिटो सम्पन्न हुन सक्छ।

युवाहरूमा देश चलाउन सक्ने ऊर्जा, योग्यता र नेतृत्व हुन्छ । यी सबै विशेषताहरू देशका नाबालिग नागरिक र जेष्ठ नागरिकहरूसँग हुँदैन । युवाहरूसँग देश विकाशका लागि विभिन्न  विचारहरू हुन्छन् । यदि उनीहरूले आफ्ना विचारहरूको कार्यन्वयन गराउन एउटा सही अवसर पाएमा जुनसुकै देशले ठुलाे उचाइ छुन सक्छ । यो हाम्रो समाजको लागि राम्रो मात्र हैन, आवश्यक पनि छ । युवाहरूले अहिलेदेखि नै राजनीतिमा रुचि नदेखाएमा आउने पुस्तहरूले देश धान्न गाह्रो हुने निश्चित नै छ । यस कारण देश विकाशको लागि मात्र नभएर भविष्यमा देशको अस्तित्व र सुरक्षाका लागि पनि राजनीतिमा युवाहरूको संलग्नता सोचेभन्दा बढी महत्त्वपूर्ण छ ।

नेपालमा हेर्ने हो भने राजनीतिमा युवाहरूको संलग्नता केही वर्ष अघि थोरै मात्र थियो । तर पछिल्लो वि.सं. २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा युवाहरूको बढ्दो संलग्नताले नयाँ मोड लिएको छ । देशका विभिन्न जिल्लाका विभिन्न क्षेत्रमा युवाहरू स्वतन्त्र उमेद्वार भएर चुनावमा संलग्न भएका छन् । यसले नेपालमा युवाहरूको राजनीतिप्रति रुचि बढ्दै गएको देखाउँछ । नेपालमा पहिलेदेखि नै नागरिकहरू सही उम्मेदवार छान्नमा धेरै गल्तीहरू गर्दै आएका छन् । केही युवाहरू स्वतन्त्र उम्मेदवारका रूपमा कुनै पार्टीसँग संलग्न नभई चुनावमा उठ्छन् तर ठुला पार्टीहरूसँग जुध्न सक्दैनन् । युवाहरू पनि राजनीतिमा संलग्न भएमा उनीहरूमा एक नयाँ चेतनाको सिर्जना हुन्छ।  यस्तो चेतनाको सिर्जना भएमा इमानदार उम्मेदवारहरू निर्वाचित हुन सक्छन् र देश सम्पन्न बन्न सक्छ।  
जनताले पहिलेदेखि चिनेजानेका उमेद्वारहरूभन्दा पनि देशको सेवा गर्न अगाडि सरेका युवाहरूलाई मत दिनुपर्छ । मानिसमा जतिसुकै आत्मविश्वास र आँट  भए पनि यदि उसको समर्थन कसैले नगरेमा त्यो मानिस कुनै न कुनै मोडमा ठोक्कर खान निश्चित हुन्छ । त्यसैले सबै जनताले देशको निमित्त केही गर्छु भनेर उमेद्वार भएको युवालाई सहायता गर्नुपर्छ ।  सरकारले पनि युवाहरू राजनीतिमा संलग्न हुनका लागि सजिलो र  सरल पद्धति बनाइदिएमा युवाहरू राजनीतिमा संलग्न हुन अझ प्रोत्साहित हुन सक्छन् । रेडियो तथा टेलिभिजनमा ठुला ठुला राजनीतिक नेतामात्र नभई सफल हुन नसकेका युवा नेताहरूको बारेमा पनि प्रचारप्रसार गरिएमा युवाहरूमा एउटा नयाँ परिवर्तन ल्याउने  सिर्जना हुन सक्छ । 
तसर्थ, देशको विकाश र देशको भविष्यका लागि राजनीतिमा युवाहरूको उपस्थिति आवश्यक छ । प्रत्यक्ष रूपमा सहभागी हुन नसके पनि युवाहरूले राजनीतिमा भैरहेका परिवर्तनहरूको बारेमा जानकारी लिनुपर्छ । यो हरेक युवाको जिम्मेवारी हो ।  आफ्नो देशको समस्या समाधान गर्न आफैँ संलग्न हुनपर्छ भन्ने भावना हरेक युवासँग भएमा राजनीति सरल र लाभदायक बन्न सक्छ । राजनीतिमा युवाहरूको पर्याप्त  संलग्नता भएमा भविष्यमा नयाँ नेपालको सिर्जना हुनेछ।