Logo

Student Corner

नेपालमा बस्न सजिलो छ त ?

Written by: Sunabi Pokhrel - 25018, Grade X

Posted on: 12 July, 2022

मेरो विचारमा अहिले कक्षा ७ भन्दा माथिका विद्यार्थीहरू सबैको कलेज पढ्न विदेश जाने याेजना बनाएका छन् जस्ताे लाग्छ । कतिपय मानिसहरू नेपालका युवा विदेश गए भने नेपालमा कसले विकाश गर्छ ? “नेपालमा नै बस, देशको विकाश गर, नेपालमा पनि विश्वविद्यालयहरू छन् त” यस्ता कुराहरू भन्छन् ।
नेपालमा बसेर देशको विकाश गर्न भने जस्तो सजिलो भएको भए यति धेरै युवाहरू किन विदेश पलायन हुन्थे । साच्चिकैमा भन्नुपर्दा हाम्रो देशको राजनीतिक अस्थिरताले गर्दा नै देश विकाशको कुरा ओझेलमा पर्दै गएको छ । राजनीतिक क्षेत्रमा जान पनि त्यति सजिलो छैन । नेपालीको औसत आयु नै ७० वर्ष रहेको छ । देश चलाउने देशको नेतृत्व गर्ने मानिसको आयु ७५ वर्ष छ । नेपाली राजनीतिमा लागेका मानिसको भिजन नै छैन जोसँग भिजन छ, उसले राजनीतिमा आउने र केही गरेर देखाउने अवसर नै पाउँदैन । नियुक्ति पाउन नेताका आफन्त हुनुपर्छ। अर्को कुरा नेपालमा श्रमको मूल्य छैन । दिनभर काम गरेको पारिश्रमिक उसले पाउने घन्टामा काम गरेको  भन्दा पनि थोरै हुन्छ । उसको सिप र श्रमको कदर छैन ।
नेपालमा अहिलसम्म महिला र पुरुष बिचको विभेद पनि अन्त्य भएको छैन । समलिङ्‌गी मानिसहरू को त के कुरा नै भयो र ? तिनीहरू त  समाजमा आफ्नो पहिचान खुलाउन सक्दैनन् । केटाले केटा र केटीले केटी मन पराउने कुरा अरू मुलुकमा सामान्य मानिन्छ । तर नेपाली समाजले यो कुरा सोच्न पनि सक्दैन । सबैलाई त नभनौँ तर प्रायलाई सानैदेखि केटालाई केटी र केटीलाई केटासँग बिहे गर्नैपर्छ भनेर सिकाइएको हुन्छ । योभन्दा केही फरक गरियो भने त्यो समाज र पारिवारबाट बहिस्कृत हुन्छ । मानिसको सबैभन्दा ठुलो कुरा भनेकाे आफ्नो स्वतन्त्रता हो । विदेशमा यस्ता व्यक्तिगत स्वतन्त्रका कुरालाई खासै वास्ता गरिँदैन । उसले आफूले पाएको जीवन आफूले चाहे जसरी बिताउन पाउनुपर्छ । यी विविध कारणले पनि मानिस आआफ्ना इच्छा चाहना पूरा गर्न विदेश जाने सोचमा हुन्छन् भने घेरे जसो पढाइ र कमाइको सिलसिलामा विदेश जान खोज्छन् ।
अहिले धेरै मानिसहरूले नेपालमा पढाइ र कामको क्षेत्र धेरै राम्रो छ भन्छन् । चिकित्सा क्षेत्र , इन्जिनियरिङ, कानुन आदि । अहिलेको जमाना भनेको डाक्टर ,इन्जिनियर र पाइलट बन्न प्रोत्साहन गर्ने समय  मात्र हाेइन । नेपाली समाजलाई के कुरा बुझाउन गारो छ भने अहिले पढाइ र सिकाइका क्षेत्र व्यापक छन् । नेपाल केवल बुद्धको देश र सगरमाथाको देश भएर मात्र भएन यहाँ आफूले चाहेको जस्तो शैक्षिक वातावरण र शिक्षा दिने परिपाटी र विश्वविद्यालयको अभाव छ । भौगोलिक रूपले नेपाल विश्वकै सुन्दर देश हो तर यहाँका मानिसको सोचाइ र व्यवहारका कारण पनि मानिस विदेश जान बाध्य छन् । त्यसैले सोचेको जस्तो सजिलो पक्कै छैन नेपालमा बस्न ।