Logo

Student Corner

पूर्वाधार विकासका नाममा सास्ती

Written by: Sunabi Pokharel - 25018, Grade X

Posted on: 06 July, 2022

बाटो बिग्रेको पनि करिब करिब डेड वर्ष भइसकेछ । आज बन्ला, भोलि बन्ला भन्दाभन्दै महिनौँबाट वर्ष पुगिसकेछ । यो मेरो ठाउँको कुरा मात्र नभएर धेरै जसो ठाउँको अवस्था रहेको छ । वर्षाको दुई मौसम गइसक्दा पनि बाटो नबनेको देखेर कहिलेकाहीँ सारै नै रिस उठेर आउँछ । मलाई लाग्छ यो सबै अव्यवस्थित विकासको कारण भइरहेको छ । 
दुई वर्षअघि बाटोघाटो पिच गरिएको थियो र दुई ओटा गाडी मज्जाले ओहाेरदाेहाेर गर्न मिल्ने थियो । त्यसपछि बाटो बढाउने निहुँमा सबै खनियो र बाटो त बढ्यो तर बाँकी सबै बिग्रिए । न बाटोको बिचमा भएको पोल सारेको छ, न त बाटो पिच गरिएको छ । भर्खरै माटो र ढुङ्गा बाटोभरि थुपारिएको थियो । त्यो समयमा गाडी चढ्न त टाढैको कुरा राम्ररी हिँड्न पनि सकिने अवस्था थिएन । कैयौँ हप्तापछि बल्ल त्यसलाई पेलियो । पेलेपछि त अलिक आनन्द हुन्छ कि भन्ने महसुस भएको थियो तर, हाम्रो सोचाइ गलत साबित हुन पुग्यो । त्यही समयमा पिच गरेको भए कुरा नै त्यही सकिन्थ्यो तर हैन । नगरपालिकालाई वर्षा आउने कुरा त थाहा नै थिएन होला । त्यसैले माटो पेलेको बाटो केवल भल बग्ने खोला बन्न पुगेको छ । यही बाटो नजिकै नगरपालिका छ । नगरपालिकामा काम गर्ने  सबै मान्छे यही बाटो हुँदै जान्छन् । दु:ख त उनीहरूले पनि देखेकै हुन् तर खै त काम भएको ? आज भर्खरै उजुरी दिन वडा कार्यालय पनि गएका थियौँ तर बजेट भाद्रसम्म छुट्टाइँदैन भन्ने उत्तर आयो । बाटो हिलाम्मे भएका कारण मेरो आफ्नै छिमेकी चिप्लिएर खुट्टा भाँचियो । कुनै न कुनै प्रकारले सम्पूर्ण सवारी साधन र मानिसलाई क्षति पुगेको छ । अब मलाई भन्नुस् सरकारले बनाएको बाटो हिलाम्मे भएर मानिस घाइते हुँदा उपचार गर्न चाहिने पैसा के सरकारले बेहोर्छ त ? अवश्य बेहाेर्दैन । अब भन्नुस् त यसरी हुन्छ त हाम्रो देशको विकास ? प्राविधिकहरू पनि भ्रष्ट भएको कारण अनुगमन गर्दा गुणस्तरहीन सामग्रीको प्रयोग र लापरवाहीले काम गरेको देखिन्छ । अहिलेका युवा विदेसिनु र नफर्किनुको मुख्य कारण यहाँको सडक लगायतका सम्पूर्ण भौतिक संरचना पनि हो । विदेश गएर चिल्लो बाटोमा सरर कुदेका युवाहरूलाई फेरि नेपाल फर्केर खाल्डा र खुल्डीमा कुद्न के मन लाग्ला त ? पक्कै पनि लाग्दैन । यस्तो हुँदा पनि सम्बन्धित निकाय चुप लगेर बसेको देखिन्छ । मैले भनेको कुरा सुनेर धेरैले भन्नु होला कि युवाहरूले आफ्नै देशमा चिल्ला बाटा बनाउनका लागि त काम गर्नु पर्ने हो नि तर सबैलाई थाहा भएकै कुरा हो, कि नेपालमा हामी आमजनताले विकास गर्न कति गाह्रो काम हो । अन्तत: देश विकासको एकदमै आवश्यक पूर्वाधारमध्ये सडक एक हो । यसैको प्रयोगले सामान तथा मानिसहरूलाई एक ठाउँबाट अर्को ठाउँमा जान्छन् । यस्तो मूख्य पूर्वाधारमा नै यस्तो खेलवाड हुन थालेपछि शिक्षा, स्वास्थ्यजस्ता अरू पूर्वाधारहरूको विकास गरी कसरी देश अघि बढ्ला  ? याे आजकाे साेचनीय विषय हाे ।