Logo

Student Corner

सपना र सहर

Written by: Smriti Lama - 25015, Grade X

Posted on: 29 June, 2022

रिमान नामकाे युवक आफ्नो पढाइका लागि गाउँबाट सहर प्रवेश गर्छ । ऊ आफ्नो पढाइ पूरा गर्न आफ्नो घरपरिवार सबै छाेडेर आएको हुन्छ । सुरुसुरुमा त उसलाई सहरकाे वातावरण न्यास्रो लाग्छ । जब ऊ सहरिया वातावरणमा घुलमिल हुन्छ तब उसलाई त्यस्तो नराम्रो महसुस हुँदैन । ऊ एक्लो छोरो हुनाले उसका आमाबुवाले उसलाई एकदमै माया गर्नुहुन्थ्यो । उसलाई अतिकति पनि केही भयो कि दुवै जना आत्तिइहाल्थे । जब रिमान घर छाेडेर सहर लाग्यो, तब उसका आमाबुवालाई पनि उसकाे धेरै सम्झना आउन थाल्याे । 

सुरुसुरुमा त उसले आफ्नो आमाबुवालाई दिनमा २,३ पटक फोन गर्ने गर्थ्यो । उसका आमाबुवा पनि एकदमै छाेरासँग कुरा गर्न चाहन्थे । जब रिमान सहर गयो त्यो दिनदेखि उसका बुवाआमाले राम्ररी खान पनि खाएका थिएनन् । उता रिमान भने बिहान क्याम्पस जाने अनि एकैचोटी बेलुकी पख घर फर्किने गर्थ्यो । उसकाे जीवन उसले सोचेको र चाहेको भन्दा बेग्लै भइसकेको थियो । ऊ आफ्नाे पढाइ सकेपछि वकिल बन्ने सपना बोकेको थियो । त्यही सपना बोकेर नै ऊ सहर पढ्न आएको थियो । तर रिमान आफ्ना साथीको सङ्गतले बिग्रिन थालिसकेकाे थियाे । उसले चुरोट, रक्सी, गाँजा आदि नशालु पदार्थ खान थाल्छ । क्लब जाने उसकाे दैनिकी जस्तै हुन्छ । 

यसरी नै उसकाे जिन्दगीमा पहिरो गएकाे उसले पत्तो पाएन । पहिले उसले घरमा हुँदा थाेरै पनि बचत गर्थ्यो तर जबदेखि ऊ सहर आयो, उसले सबै बिस्तारै बिर्सन थाल्याे । क्याम्पसमा पनि उसकाे पढाइ खस्किरहेको थियो । दैनिक क्यामपस पनि जाँदैनथ्यो । साथीहरूसँग मोजमस्ती गर्दै दिन बिताउन थाल्यो । 

एक दिन त उसलाई र उसका साथीहरूलाई पुलिसले गाँजा खाएको देखेर समात्छ । पुलिसले सबै सोधपुछ गरेर उसकाे घरमा पनि खबर गरिदिन्छ । उसका बुवाआमा यो खबर सुन्ने बित्तिकै सहर आउँछन् । उनीहरू आफ्ना छोरोको यस्ताे हालत देखेर अति दुःखी हुन्छन् । रिमानको स्वास्थ्य अवस्था राम्रो थिएन । हेर्दैमा ऊ १ / २ हप्तादेखि केही नखाएको जस्ताे देखिन्थ्याे । उसलाई कसैले अपहरण गरेर राखेकोजस्तै हालत देखिन्थ्याे । उसका आमाबुवाले उसकाे स्वास्थ्य जाँचका लागि लिएर गए । स्वास्थ्य जाँचपछि डाक्टरले उसलाई सुधार केन्द्रमा राख्ने सल्लाह दिए ।  रिमान अहिले सुधार गृहमा वकिल बन्ने सपनाहरू बुनेर दिन काटिरहेको छ ।