Logo

Student Corner

साँझको समय

Written by: Niharika Chapagain - 25006, Grade X

Posted on: 23 June, 2022

निर्मला जोशी आफ्नो घरको कौसीमा बसेर साग केलाउँदै थिई । उसकाे छोरा सुरेश र बुहारी रमिला दुवै आआफ्ना काम र जागिरमा गएका थिए । उसकी नातिनी सुबेक्षा कलेज गएकी थिई । सुबेक्षा ११ कक्षामा पढ्थी । ऊ आफ्नी हजुरआमालाई असाध्यै माया गर्थी । साँझको समय थियो । निर्मला घरमा एक्लै थिई । ऊ सब्जी केलाउँदा केलाउँदै गम्भीर सोचमा पर्न थाली । ऊ अहिले ७० वर्षकी भैसकेकी थिई । उसलाई बुढेसकाल पनि लागिसकेको थियो । भन्छन् नि बुढेसकाल लागेपछि मान्छेलाई आफ्नो जीवनकालको घटनाहरू स्मरण हुन्छ । उसलाई पनि आफ्नो बाल्यकालको सम्झना आउन थाल्यो । 

ऊ जब १० वर्षकी थिई तब उसले आफ्नो घरको पुरै जिम्मेवारी लिनु परेको थियो । उसको बुबा ताप्लेजुङ्ग जिल्लाको थुम्बेदिनमा रहेको एक सरकारी विद्यालयमा ‘हेड मास्टर’ थिए । उसका एक दाजु र दुई बहिनीहरू पनि थिए । उसको दाजु ऊभन्दा ३ बर्षले जेठा थिए । उसकी आमाको बिहे १५ वर्षको उमेरमा भएको थियो । त्यसैले होला उसका दाजु बहिनीहरू पनि धेरै नै थिए । उसकी आमा फेरि सुत्केरी भएकी थिईन् । उनी बिरामी भएर लखतरान अवस्थामा लडिरहेकी थिईन् । त्यसबेला उसले आफ्नो परिवारको रेखदेख गर्नुका साथै विद्यालय गएर पढ्नु पनि पर्थ्यो । उहिले निर्मला सानी हुँदा, घरका काम पुरुषहरूले गर्दैनथे । त्यसैले उसका दाजुले पनि उसलाई सहयोग गर्दैनथे । विद्यालयकाे आफ्नाे कामका साथसाथै बहिनीहरू पनि अलिक सानै भएर होला उसले एक्लैले घरकाे सबै कम गर्नुपर्थ्याे । विद्यालय पुग्न करिब २ घण्टा डाँडाकाँडा हुँदै हिड्नु पर्थ्यो ।

ऊ करिब २२ वर्षकी हुँदा उसले तराई क्षेत्रमा बस्ने ठिटो जयदेवसँग आफ्ना बुबाआमाको सल्लाहअनुसार विवाह गरेकी थिई । उसलाई याद छ, विवाहको दिन उसका साथीहरूले उसलाई खुब जिस्काएका थिए । विवाह भव्य रूपमा सम्पन्न भएको थियो । उसले विवाह गर्नुभन्दा पहिले आफ्नो पढाइ सकेकी थिइन । विवाहपछि पनि उसलाई आफ्नो शिक्षा आर्जन गर्ने सपना पूरा गर्न मन थियो । उसले आफ्नो यो चाहाना आफ्नो श्रीमान् जयदेवलाई पनि सुनाएकी थिई । जयदेवलाई उसको यो सपनाबाट केही समस्या थिएन । जयदेवका मातापिताले पनि उसलाई पढाइबाट वञ्चित गर्न चाहेनन् । जब उनीहरूले पढ्नका लागि निर्मला काठमाडौँ जानुपर्छ भनेर थाहा पाए, तब उनीहरू उसलाई एक्लै पठाउन चाहेनन् । त्यही पनि निर्मला, जयदेवका मातापिताकाे असहमतिमा पनि ऊ आफ्नो पढाइ पूरा गर्न काठमाडौँको आई । 

निर्मला काठमाडौँबाट फर्केको दिन हरेक पल्ट जयदेवका मातापिताले उसको खुब कुरा काट्थे । भन्थे, “यो काठमाडौँ एक्लै बस्छे, कोसँग बस्छे कुन्नि ! कतै अर्कै केटासँग लागेर लाजमर्दो भएर त हिँड्दिन ?” यस्ता कुरा सुन्दासुन्दै जसोतसो गरेर निर्मलाले स्नातक उत्तीर्ण गरी र तराई फर्की । ऊ घर फर्केपछि उसले जागिर खाने विचार गरी । त्यतिबेला उनीहरूको घरको आर्थिक स्थिति त्यति राम्रो थिएन ।

जागिर खोज्ने क्रममा ऊ गर्भवती भई र उसले घरमै बस्नु पर्ने भयो । समय बित्दै गयो । गर्भवती निर्मलालाई गर्भवती भए पनि घरको सबैजसाे काम गर्न लगाइयो । त्यति मात्र कहाँ हो र जयदेवका मातापिताले निर्मलालाई यातना दिन थाले । गर्भवती महिलालाई किचकिच गरेर सबै काम लगाएर मानसिक तनाव दिन्थे । निर्मलाले हरेक कुरा सहेर सुरेशलाई जन्म दिइन् । सुरेश जन्मिएको १ वर्षपछि उसले जागिरको लागि काठमाडौँ जानु पर्ने भयो । उसले जागिरका लागि ६ महिना तालिम गर्नुपर्थ्याे । जब निर्मलाले आफ्नो छोरालाई जयदेवका आमाबुबालाई जिम्मा दिएर काठमाडौँ हिँड्न लागेकी थिई तब उनीहरूले भनेका थिए, “हाम्रो बुढेसकालमा जति खेर पनि काम लगाएकी छे । कहिले पढ्न काठमाडौँ जान्छु भन्छे; कहिले जागिरका लागि । हैन, तेरो काठमाडौँमा चाहिँ को छ र तेरो ? हामी तेरो छोरालाई पाल्न सक्दैनौँ । जाने भए तेरो छोरालाई पनि लिएर जा!”  त्यसो भनेको जयदेवले पनि सुनेको थियो । उसलाई आफ्नै मातापिताकाे यस्ताे व्यवहार देखेर अचम्म लाग्याे । उहाँहरूले निर्मलालाई त बुहारी हो भनेर गाली गर्नुहुन्थ्यो र जयदेव केही बोल्न सक्दैनथ्यो । तर आफ्नै नातिलाई कसैले यस्ताे गर्छ र ? जयदेवलाई साह्रै रिस उठ्यो । उसले सुरेश र निर्मलालाई लिएर आँफूसँग भएकाे जति पैसा बोकेर घर छाडेर काठमाडौँतिर लाग्यो। 

निर्मला आफ्नो सम्झनाबाट फर्किई र ऊ यति एकोहोरिएकी थिई कि उसलाई आफ्ना आखाँबाट आँसु झरेको थाहा पनि भएन । उसलाई अझै याद छ, ऊ र जयदेवले काठमाडौँमा आफ्नो घर बनाउन र सुरेशलाई हुर्काउन गरेको सङ्घर्ष । निर्मलाले आफ्नो जीवनमा यति भोगेकी थिई कि उसले आफ्नी बुहारीलाई आफ्नै छोरीझैँ व्यवहार गर्थी । निर्मलाले आफ्नी बुहारीलाई धेरै माया  गर्थी । जयदेव आफ्ना मातापितालाई सधैँ याद गर्थ्यो तर उसले आँफू कहिले पनि उहाँहरूलाई भेट्न जाने कुरा गरेन । १० वर्ष भैसकेको छ अहिले जयदेवको निधन भएको । निर्मला सधैँ यसरी नै  जीवनको सम्झनामा डुबिरहन्छे ।