Logo

Student Corner

नेपालको शिक्षा प्रणालीका नकारात्मक पक्षहरू

Written by: Sunabi Pokharel - 25018, Grade X

Posted on: 13 June, 2022

पढाइ भनेको व्यवहारिक बढी र सैद्धान्तिक कम हुनुपर्छ भन्ने मेरो मात्र नभएर धेरैको मान्यता रहेको छ । संसार अहिले धेरै परिवर्तन भइसकेको छ तर हाम्रो देशको पाठ्यक्रम भने अहिले पनि जस्ताको त्यस्तै (परम्परित )नै रहेको छ । अहिलेसम्म पनि हामी जीवनाेपयोगी कुराभन्दा बढी सिद्धान्तमा आधारित कुराहरूलाई प्राथमिकत दिँदै आइरहेका छौँ । के यस्ताे पद्धति उचित होला त ? मलाई त कदापि उचित लाग्दैन । 

केही समय अगाडिको कुरा हाे, हामी मानव विकास सूचकाङ्क निकाल्ने सूत्र पढिरहेका थियौँ । सोही कक्षा पढ्दै गर्दा मैले धेरै पटक हाइ पनि गरेँ । अनि ध्यान दिन पनि निकै नै गाह्रो भैसकेको थियो । मैले गुरुलाई सोधेँ, "जीवनको कुन चाहिँ मोडमा आएर मैले यो सूत्रको प्रयोग गरेर मानव विकास सूचकाङ्क निकाल्ने छु, सर ? गुरुले भन्नुभयाे, "के गर्नु नेपाली पाठ्यक्रम नै यस्तै छ । हामीले १-१० कक्षासम्म पढ्ने कुराको जम्मा १० प्रतिशत भविष्यमा काम लाग्छ । मलाई आफैँ मैले त्यो बेला पढेको कुरा याद छैन किनभने त्यो उपयोग नै भएको छैन, अहिलेसम्म ।" भन्दै प्रतिक्रिया दिनुभयो । यो कुरा सुनेर मेरो दिमागमा अरू धेरै कुरा खेल्न थाले । हामी सामाजिकका केही पाठहरूमा नेपाल अल्पविकसित राष्ट्र हो । अल्पविकसित राष्ट्रहरूमा घुसखाेरी धेरै मात्रामा हुन्छ । अल्पविकसित राष्ट्रहरूमा राजनीतिमा युवाहरूलाई छिर्न दिँदैनन् । नातागोतालाई बढी प्राथमिकता दिइन्छ भन्ने कुरा सुन्दै र देख्दै आइरहेका छौँ । त्यसपछिकै केही पाठमा हाम्रो देशमा गौतम बुद्ध जन्मेका हुन् । सगरमाथा पनि हाम्रो देशमा नै छ । विश्वका ७ सर्वोच्च हिमाल हाम्रो देशमा छन् । भृकुटी पनि हाम्रै देशकी छोरी हुन् । त्यसैले हामीले हाम्रो देशमाथि गर्व गर्नुपर्छ भनेर पढ्छौँ । अघिल्लो पाठसम्म भ्रष्टचारले सीमा नाघेको देशमाथि बुद्ध र भृकुटी जन्मिएका कारण गर्व गर्नुपर्छ भन्ने कुरा गर्दा मलाई त कहिले काहीँ हाँसो पो लागेर आउँछ । हुन त सबैको दृष्टिकोण र बुझाइ फरक फरक हुन्छ । मेराे कुरामा धेरै जना असहमत पनि हुन सक्छन् तर मलाई भने भविष्यमा चित्रकार बन्ने मान्छेलाई सलफरमा कति ओटा एटम छ भन्ने कुरा थाह पाएर पक्कै पनि कतै काम लाग्छ जस्तो लाग्दैन । हो, म मान्छु कि ज्ञान कहिल्यै धेर हुँदैन तर धेर नहुँदैमा सबै ज्ञान उपयोगी हुन्छ भन्ने पनि त छैन नि । एकजना शिक्षकले भन्नुभएको थियो कि ८ घन्टी पढाएर विद्यार्थीले धेरै बुझ्ने हैन उल्टै अल्छी लागेर केही बुझ्दैनन् । बरू दिनमा ४-५ घण्टी कक्षा राखेर ठिक्क पढायो भने बच्चाको मस्तिष्कले पनि दिनभरि पढेको कुरालाई बुझेर लेखेर र पढेर भ्याउँछन् । हुन पनि हो, एउटा कक्षा सकेर कापीकिताब थन्काउन नपाउँदै अर्को कक्षा सुरु हुन्छ अनि राम्ररी अघिल्लो कक्षामा पढेको कुरा याद पनि हुँदैन । हाम्रो देशका अधिकांश विद्यालय र कलेजहरूमा करियर काउन्सिलिङ वा केवल काउन्सिलिङ पनि हुँदैन । काउन्सिलिङ गर्नाले विद्यार्थीको मानसिक स्वास्थ्यको बारेमा ज्ञान हुन्छ र केही मानसिक समस्या छ भने त्यसको हल पनि गर्न सकिन्छ । करियर काउन्सिलिङ गर्ने प्रचलन सुरु गर्‍यो भने धेरै मानिसले जीवनमा के गर्दा र के बन्दा आफ्नो लागि राम्रो हुनेछ भन्ने कुरा थाहा पाउँछन् । आफूलाई के बन्न मन लागेको भन्दा पनि आफ्नो शक्ति र कमजोरीहरू के रहेछन् भनेर काउन्सिलिङले पत्ता  लगाउन मद्दत गर्छ । जसले गर्दा सबैले आफ्नो जीवनको सही उद्देश्य पाउन सक्छन् ।  

अन्तत: मेरो विचारमा हाम्रो देशको शिक्षा प्रणालीमा बदल्नु पर्ने थुप्रै कुराहरू छन् । यस्ता कुराहरूलाई बदल्न सकियाे भने पढाइ अझै प्रभावकारी हुनेछ । त्यति मात्र नभएर सरकारद्वारा छापिएका किताबहरू लामाे समयसम्म अद्यावधिक भएका हुँदैनन् । ४-५ वर्षदेखि एउटै तथ्याङ्क भएका र अद्यावधिक नभएका कारण हामीले निजी प्रकाशनबाट प्रकाशित बढी मूल्यमा किताब किन्नुपर्छ । राम्रो पढाइ भनेको उत्तीर्ण भएर मात्र हुँदैन । संसारका अन्य कुराहरूसँग परिचित हुनु पनि पढाइभित्रै पर्छ ।