Logo

Student Corner

नवदुर्गा देवगणको मुकुट

Written by: Joya Shrestha - 25004, Grade X

Posted on: 10 June, 2022

नवदुर्गाको मुकुट भक्तपुरका चित्रकार जातका मानिसहरूले मात्र बनाउँछन् । हाल यो मुकुट पूर्ण चित्रकार र उनीहरूका परिवारले बनाउँदै आएका छन् । नवदुर्गा देउता राख्ने घर छुट्टै हुन्छ र त्यहाँ चाहिँ  वर्षभरि नै भक्तजनहरूको दर्शनको लागि राखिन्छ । नवदुर्गाको मुकुट बनाउनेहरूका लागि छुट्टै घरको पनि व्यवस्था गरिएको हुन्छ।

सुरुमा नवदुर्गा देवगणकाे मुकुट बनाउनका लागि कालो माटो ल्याइन्छ । त्यो कालो माटो जहाँतही पाइँदैन । त्याे माटो ल्याईसकेपछि त्यसमा  एक नम्बरी कपास मिसाएर लगातार तीनचार दिनसम्म कुटिन्छ । नवदुर्गा देवगणको मुकुद जम्मा तेह्र वटा हुन्छ । ती हरेक मुकुट लगभग दशदेखि तेह्र किलाेसम्मका हुन्छन् । एक मुकुट बनाउन लागि दुई जना मानिसले माटोलाई लगभग दुईदेखि तीन दिनसम्म कपास मिसाउदै कुट्नुपर्छ । यसरी हरेक तेह्र वटा मुकुट बनाउनको लागि माटो कुट्नको लागि तीस जना जति मानिसहरूकाे आवश्यकता पर्छ । यसरी माटोलाई कुटेपछि कुन देवगणको मुकुट बनाउने सोहीअनुसार त्यसकाे आकार दिइन्छ । सबै देवगणहरूको मुकुटको आकार दिई सकेपछि सबै मुकुटहरूलाई घाममा लगेर सुकाइन्छ । तीनचार दिनसम्म सुकाएपछि त्यो मुकुट रङ्ग लगाउनका लागि तयार हुन्छ । ती मुकुटहरूमा मसिना मसिना ब्रुसको सहायताले विभिन्न रङ्गहरू लगाइन्छ ।  मुकुट सुक्न लगभग दशदेखि पन्ध्र दिनसम्म लाग्छ । यसरी तेह्र ओटा मुकुट बनाउन तीनदेखि चार महिनासम्म लाग्छ । जसरी भए पनि नवदुर्गाकाे नवमीको दिनसम्म मुकुट बनाई सक्नुपर्छ । 

अहिलेसम्मकाे परम्परालाई हेर्दा यी मुकुट बनाउन र रङ लगाउन भक्तपुरका चित्रकारहरू जातबाहेक अरू कसैले सकेका छैनन् । मेरा बाजे र मामाहरूले यो मुकुट बनाउँदा मैले प्रत्यक्ष देखेकी छु । यी मुकुट हेर्दा जति आकर्षक र राम्रो देखिन्छ बनाउन त्यति नै गाह्राे पनि छ । हरेक देवगणको मुकुटमा भिन्दाभिन्दै प्रकारकाे रङ लगाउनुपर्छ । यसरी यो मुकुट बनाउने परम्परा बर्षौँदेखि चलिआएको छ । यो मुकुट हरेक वर्ष बनाउनै पर्छ र हरेक वर्ष जलाउनै पर्छ।