Logo

Student Corner

युवाहरूको सामाजिक मान्यता र पहिचान विकासमा सञ्चारको प्रभाव

Written by: Niharika Chapagain - 25006, Grade X

Posted on: 08 June, 2022

सञ्चार सामाजिकीकरणको एउटा पक्ष हो जसलाई हामीले सामूहिक सञ्चारको मुख्य माध्यम पनि भन्न सक्छौँ। यसमा टेलिभिजन, रेडियो, सामाजिक साइटहरू, पत्रपत्रिकाहरू जस्ता सार्वजनिक सञ्चारका माध्यमहरू समावेश छन् । व्यक्तिको पहिचान भनेको गुण, विश्वास, व्यक्तित्व, व्यवहार र अभिव्यक्तिहरू हुन्; जसले सबै मानिसहरूलाई भिन्न बनाउँछ । सञ्चारले आजका युवायुवतीहरूमाथि कसरी प्रभाव पारिरहेको छ भन्ने डरलाग्दा कुराहरू देखाउने समाचारहरू हामीले प्रायः देख्ने गर्छौँ ।  हिंसा, लैङ्गिक रूढिवादी र बढ्दो यौन अस्पष्टतालाई आधुनिक सामाजिक सञ्जालको खराबीको रूपमा उल्लेख गरिएको हामीले धेरै देख्न सक्छौँ । सञ्चारको प्रभावको बारेमा बहसहरू धेरै भएका कारण प्रायः सञ्चारको वास्तविक प्रभाव के हो भनेर बुझ्न गाह्रो हुन्छ ।

सञ्चारले युवाहरूको सामाजिक पहिचान निर्माणमा गहिरो प्रभाव पार्छ । त्यसैले सुरुमा पहिचान भनेको के हो त ? वास्तविकतामा हामी जन्मदा नै एक पहिचान लिएर जन्मेका हुँदैनौँ । पहिचान भनेको त समाजले बनाएको विशेषता हो । हामीले जीवनमा सिक्ने क्रममा जब आत्म अवधाराणा प्राप्त गर्छौँ; तब हाम्रो एक पहिचान बन्छ । अर्को शब्दमा भन्नुपर्दा, हामी को हौँ भन्ने कुरा आन्तरिक र बाह्य कारकहरूद्वारा नियन्त्रित हुन्छ । यस कारण इन्टरनेट र सञ्चारलाई अहिले दैनिक जीवनको बिस्तार र सांस्कृतिक परिवर्तनको एक उपकरण मानिन्छ । यसरी पहिचान सामाजिक अवधारणाको रूपमा अझ बढी विश्वव्यापी रूपमा रूपान्तरण भइरहेको छ ।

सञ्चारको यो रूपान्तरणले आजका युवाहरूलाई कसरी प्रभाव पार्छ त ? अहिलेको समयमा युवाहरू प्रतिदिन करिब साढे छ घण्टा सञ्चारमा कुनै न कुनै रूपमा संलग्न हुन्छन् । यसरी सञ्चारमा समय बिताएपछि सञ्चार अन्तरक्रियाका साथै मनोरञ्जन गर्न मिल्ने माध्यम मात्रै नभएर अनुसन्धानकाे सहयाेगी पनि बन्न पुगेकाे छ । सञ्चार यस्ताे माध्यम पनि हाे जसले तपाईं कस्तो प्रकारको व्यक्ति बन्न चाहनुहुन्छ भन्ने निर्णय गर्न चुनौती पनि दिन्छ । सञ्चारले सामाजिक तुलनामार्फत कसैको विचार लागु गर्न सक्छ वा नष्ट गर्न पनि सक्छ । समाजिकीरणको माध्यमबाट हामीले हाम्रो संसारलाई कसरी बुझ्ने ? हाम्रो आफ्नै पहिचान कसरी प्राप्त गर्ने  र अरूसँग कसरी उचित रूपमा अन्तरक्रिया गर्ने भनेर पत्ता लगाउन पनि सिक्छौँ । यो सिक्ने प्रक्रिया विद्यालय, धार्मिक संस्था, परिवार र सञ्चार जस्ता धेरै सामाजिक पक्षहरूको सन्दर्भमा लागु हुन्छ । उदाहरणका लागि मानिसहरूले कुनै अभिनेता, सङ्गीतकार अथवा प्रेरकको व्यक्तिकाे प्रशंसा गर्छन् र साेही बाटोलाई पच्छ्याउँछन् । यो कुरा एक व्यक्तिमा सञ्चारले पार्ने प्रभावको राम्रो उदाहरण हुन सक्छ । 

सञ्चारले व्यक्तिलाई दीर्घकालीन प्रभाव र अल्पकालीन परिवर्तनहरू पनि दिने गर्छ । उदाहरणका लागि विज्ञापनले मानिसमा छोटो अवधिका लागि विभिन्न उत्पादनहरू प्रयाेगमा प्रोत्साहन गर्छ तर मानिसहरूमा त्यो इच्छा दीर्घकालीन रहँदैन । सञ्चारबाट आएका यी अल्पकालीन प्रभावहरू कोही मानिसको नक्कल गर्ने, इन्टरनेटमा देखिएका अनेकाैँ कुराहरू समावेश हुन सक्छन् । यद्यपि यी अल्पकालीन प्रभावहरू आजको युगमा त्यति प्रभावकारी हुँदैनन् । किनभने यसमा मानिसहरू सचेत भइसकेका हुन्छन् । ती विज्ञापनहरूले मानिसमा भ्रम सिर्जना गरेका हुन्छन् । उनीहरूलाई थाहा हुन्छ कि उनीहरूलाई के कुराले प्रभाव पारिरहेको छ वा छैन भनेर । जब मानिसहरू विज्ञापनहरूबाट थकित हुन्छन् तब यसतर्फ ध्यान दिन छोड्छन् । सञ्चारले मानिसकाे व्यवहारमा केही प्रभाव पारे पनि परिवारले सञ्चारभन्दा बढी हामीमाथि प्रभाव पारिरहेका  हुन्छन् । हामी जन्मेको दिनदेखि नै प्रत्यक्ष रूपमा हामीसँग सञ्चार रहेकाले हामी को हौँ र हामी भविष्यमा के बन्ने छौँ भन्ने कुरामा सञ्चारले ठुलो प्रभाव पार्छ । 

व्यक्तिकाे पहिचान भनेको एक सामाजिक धारणा हो । जब हामी कुनै पनि सञ्चारमा संलग्न हुन्छौँ, त्यसले जुनसुकै रूप लिए पनि हामीले सञ्चारबाट भिन्नाभिन्नै विचारहरू प्राप्त गर्दछौँ । अर्काे शब्दमा भन्दा सञ्चार भनेको एक फरक कुरा हो जसद्वारा हामी अरू मानिससँग आफ्ना विचार आदानप्रदान गर्दछौँ र त्यसले हामी जस्ता युवाहरूको सामाजिक र बाैद्धिक विकाशमा ठुलो भूमिका खेल्दछ ।