Logo

Student Corner

खुसीको बिहानी कथाको समीक्षा

Written by: Anuprastha Luitel - 30058, Grade V

Posted on: 03 June, 2022

‘खुसीको बिहानी’ बालकथा सङ्ग्रह हो । यसका लेखक सजनी नौबागे हुन् । यसभित्र १२ ओटा साना–साना कथाहरू रहेका छन् । यी सबै कथाहरू रमाइला र शिक्षा दिने खालका छन् । यहाँ यस किताबको अन्तिम कथा ‘खुसीको बिहानी’ को समीक्षा गरिएको छ ।

पात्रहरू

यस कथामा हजुरआमा, समिता, अमिता, बुबा, आमा, कुलदीप, सुशीला, श्यामे, छिमेकी आदि पात्रहरू आएका छन् । समिता, अमिता र कुलदीप बालपात्रहरू हुन् । यस कथामा आएका पात्रहरूमध्ये हजुरआमा र समिता मुख्य पात्र हुन् । उनीहरूको धेरै भूमिका छ । बुबा, आमा र अमिता सहायक पात्र हुन् अनि अरू सबै पात्रहरू गौण हुन् । यस कथामा सबै असल पात्र मात्र छन्, खराब पात्र कोही छैनन् ।

कथावस्तु

भुइँचालोले घर भत्काइदिएपछि दुःखी भएको परिवारमा फेरि खुसी आएको कुरा यस कथाको कथावस्तु हो । भुइँचालोमा परेर एउटा घरका हजुरआमा र नातिनी समिता घाइते भएका हुन्छन् । उनीहरू अस्पतालबाट निको भएर घर आएपछि सबै जना खुसी हुन्छन् । समिताका बुबाले छिमेकीका सहायताले घर भत्केको ठाउँमा टहरो बनाएपछि झन् खुसियाली छाउँछ । हजुरआमाले भुइँचालोमा परेर पनि सबै जना बाँच्न सफल भएकामा भगवानलाई धन्यवाद दिनुहुन्छ । हजुरआमाले नराम्रो समय वा मूलमा जन्मेकी भनेर समितालाई हेला गर्नुभएको हुन्छ । भुइँचालोमा हजुरआमालाई उसैले बचाएकी हुनाले उहाँ समितासँग  माफ माग्नुहुन्छ । बुबाले समितालाई साहसी छोरी भन्नुहुन्छ । समितालाई सधैँ स्कुल पठाउने कुरा पनि हुन्छ । समिताकी बहिनी अमिताले भुइँचालोमा भाइलाई बचाएका कारण हजुरआमाले उसलाई पनि बहादुर नातिनी भन्नुहुन्छ । पहिले हजुरआमालाई माया नगर्ने अमिता उहाँलाई माया गर्न थाल्छे । हजुरआमाको बानी परिवर्तन भएकाले सुशीला पनि त्यस घरमा काम गर्न आउँछे । श्यामे नोकर पनि रमाइलो कुरा गर्छ । त्यो परिवारका सबै जना रमाएर खुसीका साथ बस्छन् । यो पारिवारिक सामाजिक कथा हो । यसले हाम्रो समाजमा हुने घटना प्रस्तुत गरेको छ । 

परिवेश

यस कथाको स्थानगत परिवेश कुनै एक गाउँ हो । गाउँको घर, टहरो, स्कुल, अस्पताल आदि स्थान यसमा आएका छन् । यसमा हजुरआमा, बुबाआमा, नातिनातिनीहरू सँगै बस्ने संयुक्त परिवारलाई देखाइएको छ । भुइँचालोले घर भत्काएर दुःख पाएको परिवारमा सबै कुरा मिलेपछि खुसी आएको अवस्थाको चित्रण यस कथामा भएको छ । भुइँचालोले घर भत्काएपछिको केही दिनको घटना यसमा समयका रुपमा आएको छ ।

सन्देश

‘खुसीको बिहानी’ कथाले हामी दुःखमा आत्तिएनौँ भने पछि खुसीको बिहानी आउँछ भन्ने सन्देश दिएको छ । त्यस्तै भुइँचालो आउँदा घरबाट सुरक्षित ठाउँमा गएर बस्नुपर्छ र अरूलाई पनि सहयोग गरेर बचाउनु पर्छ भनेर यस कथाले शिक्षा दिएको छ । कसैलाई पनि हेला गर्नु हुँदैन र साना केटाकेटीलाई त झन् माया गर्नुपर्छ भन्ने सन्देश यस कथाले दिएको छ । यसो भयो भने उनीहरू असल मार्गमा हिँड्छन् भन्ने सन्देश यस कथाले दिएको छ ।

निष्कर्ष  

‘खुसीको बिहानी’ सन्देशमूलक राम्रो कथा हो । यसले हाम्रो समाजको घटनालाई देखाएको छ । यसले हामीलाई राम्रो शिक्षा दिएको छ । यसमा हामी जस्तै साना केटाकेटीलाई पनि पात्र बनाइएको छ । उनीहरूलाई माया गर्नुपर्छ भन्दै यसो गर्दा उनीहरू असल मार्गमा हिँड्छन् भन्ने सन्देश यस कथाले दिएको छ । यो कथा पढेर धेरै कुराको ज्ञान वा जानकारी पनि पाइन्छ ।