Logo

Student Corner

दुःख र सुख अर्काका साथी

Written by: Muskan Singh - 24003, Grade XI

Posted on: 29 April, 2022

'दुःख' र 'सुख' एक अर्काका सहयोगी साथी हुन् । दुःख  शब्दले मानवमनमा उत्पन्न हुने पीडा, कष्ट, कठिनाइ आदि भावलाई जनाउँछ भने ठीक विपरीत आनन्द, सहज-सन्तोषजन्य सुगम र अप्ठ्यारो परिस्थितिजन्य भाव व्यक्त गर्दछ । सुख शब्दले अवस्थालाई सङ्केत गर्दछ । मन मानवशरीरको एक यस्तो संवेदनशील अङ्ग हो जसले नजिकको परिवेशअनुसार आफूमा अन्तर्निहित भावसागरमा मानवलाई चुर्लुम्मै डुबाउन सक्छ । मानिसको जीवन सधैँ सरल रेखामा हिँडेको हुँदैन । उसले कुनै दिन दुःखका मरुभूमिमा छटपटाउनुपर्छ र कुनै दिन खुसीयालीको महासागरमा डुबुल्की लगाउने सौभाग्य पनि हासिल गरेको हुन्छ वास्तवमा जीवनको आनन्द यिनै विपरीत भावविशेषका अनुभवमा नै लुकेको हुन्छ । 

दुःख र सुख यी दुई शब्दले पनि जीवनका गम्भीर र संवेदनशील भाव अभिव्यक्त गर्दछन् । दुःख शब्दले जीवनका जटिलता, समस्यापूर्ण परिस्थिति र कठिनाइपूर्ण अवस्थालाई झल्काउँछ । क्रियाशील जीवनका प्रत्येक क्षणहरू दुःखमा रुमल्लिएका हुन्छन् । पसिना काढेर गरिने परिश्रममा दुःख नै लुकेको हुन्छ । गन्तव्यमा पुग्न कहाँ सहज हुन्छ र ? किसानले खेतमा काम गर्दाका कठिन परिस्थितिले दुःखकै सम्झना गराउँछन् । उसको खेतीलाई प्राकृतिक प्रकोपले सखाप पारी वर्षदिन खाने अन्न नष्ट गरेको अवस्थालाई कसैले सुख भन्न सक्तैन । कुनै व्यापारीले व्यापारमा गरेको लगानी डुबिरहेको अवस्था र उद्योगपतिले आफ्नो औद्योगिक प्रतिष्ठान बन्द गर्दाको स्थिति पनि दुःखपूर्ण अवस्थाकै दृष्टान्त हुन् । सफलताका सिँढीहरू चढ्दाका सबै अवस्था दुःख र सङ्कटबाट टाढा हुदैनन् । यसको ठीक विपरीत सुख शब्दले जीवनको खुसीलाई व्यक्त गर्दछ । मानिसले जब कुनै कार्यमा आफू सफल बनेको देख्छ तब ऊ सुखको सङ्गीत सुसेल्न थाल्छ । सुखका घडीमा उसले आफ्नो समय र श्रम सार्थक बनेको अनुभव गर्दछ । खेतमा काम गर्ने किसानलाई आफ्नो उत्पादन भण्डारन गर्दाको क्षण कम आनन्दपूर्ण हुँदैन । व्यापारीले आफ्नो व्यापारलाई अग्रसर गराउँदा होस् तथा उद्योगपतिले आफ्नो उद्योगको उत्पादनले राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा ख्याति आर्जन गर्दाको अवस्था होस् सुखदायक नै रहन्छन् । मानिसले गर्ने परिश्रमको गन्तव्यस्थल नै सफलता हो र सफलता नै खुसी, प्रसन्नता वा सुखको प्रतीक पनि हो ।

दुःख र सुख विपरीतार्थक शब्द हुँदाहुँदै यी दुई शब्दको अर्थगत सुसम्बन्ध पनि रहिआएको पाइन्छ । दुःखपूर्ण परिस्थितिको अन्त्यपछि मात्र मानिसले सुखको अनुभव गर्न सक्छ । मानवजीवनमा यी दुई भाववाचक नाम शब्द कुमालेको चक्र घुमेझैँ निरन्तर रूपमा घुमिरहन्छन् । यिनले जीवनका अपरिहार्य तथा शाश्वत पक्षलाई झल्काइरहेका हुन्छन् । मानिस दुःखको भुमरीमा पर्दा सारा संसार आफ्नो विपरीत बिन्दुमा उभिएर आफैँलाई गिज्याइरहेको देख्तछ । यसको विपरीत सुखपूर्ण अवस्थामा रहँदा संसारका यावत् विषय उसको सुखमा मुस्कुराइरहेका र सम्पूर्ण सृष्टिले आनन्दको वर्षा गरिरहेझैँ अनुभव गर्दछ । परिश्रम गर्दा अवश्य दुःख हुन्छ तर परिणाम हासिल हुँदा अपार आनन्दको अनुभव हुन्छ । खेती गर्दा किसान दुःखी बन्छ, उसको शरीरबाट पसिनाका धारा तरतरी चुहुन्छन् तर धान, मकै, गहुँ, तरकारी, फलफूल आदिले आफ्नो आर्थिक अवस्था सुदृढ बन्दा उसमा खुसीको सीमा नै हुँदैन । यसबाहेक यी दुई शब्दले दिन-रात, घाम-छायाँ, उज्यालो-अँध्यारो, उकाली ओराली, उन्नति-अवनति, अनुकूल-प्रतिकूल पक्ष-प्रतिपक्ष, शिशिर वसन्तजस्ता परस्पर विपरीतधर्मी भाव, प्रवृत्ति अवस्था वा विशेषतालाई पनि झल्काएकै हुन्छन् ।