Logo

Student Corner

कक्षा १२ काे अन्त्य अनि केही सम्झनाहरू

Written by: Manisha Gurung - 22030, Grade XII

Posted on: 26 April, 2022

साेचेकाे भन्दा निकै फरक वातावरण, नौला अनुहारका शिक्षकहरू र त्यसभन्दा बढी फूलबारीमा रहेका अनेकौँ फूलहरूजस्तै फरक विचार र फरक सोचका ती भिन्न अनुहारहरूलाई, म्यासेजमै कुरा गरेर एक अर्कालाई चिनेका ती व्यक्तिहरूलाई कक्षा ११ को प्रथम त्रैमासिक परीक्षाकाे पहिलो दिन थियो, हामीले हाम्रा ती साथीहरूलाई पहिलो पल्ट देखेकाे अनि भेटेको । कोरोनाको डरलाई छिचोल्दै साथीहरूको माझमा घुलमिल हुन पाएको त्यही पहिलो दिन थियो । अनलाइन कक्षामा देखेका ती अनुहारहरू साँच्चै भेट्दा आफूले सोचेभन्दा छुट्टै र बेग्लै थिए । 

जे होस्, हिजाे भेटेझैँ लाग्ने साथीहरू आज आएर एउटै परिवारका सदस्यजस्ता भएका छन् । त्यो परिवार, जसमा एक अर्कासँग मनमुटाव र झगडा भएर पनि आत्मीयताका बन्धनहरूलाई कहिले टुट्न दिएनौँ । त्यो परिवार, जसमा जति नै एक अर्कासँग रिसाए पनि एक अर्कालाई प्रोत्साहन गर्न र हरेक कुरामा साथ दिन कहिल्यै पछि हटेनौँ । त्यो परिवार, जसमा रगतको नाता पक्कै थिएन तर एक अर्कालाई भरोसा र विश्वास गर्ने शैली कुनै रगतको नातामा भन्दा कम थिएन । 

सुरु सुरुमा एक अर्काको नाम सम्झन निकै गाह्रो लाग्थ्यो । म धेरै झुक्किन्थेँ त्यसैले आफ्नै हिसाबले सम्झिने तरिकाले सबैकाे एउटा एउटा नाम राखिदिएकी थिएँ । हुन त मैले आजसम्म ‘तिम्रो नाम सम्झिन मैले यस्तो नाम राखिदिएकी थिएँ ।’ भनेर कसैलाई भनेकी छैनँ तर एक चोटी आफूले राखिदिएको नाम सम्झियो भने आफैँलाई हाँसो उठ्छ । मुख्य कुरा हिजो त्यसरी नाम सम्झिनु परेका साथीहरू आज जीवनमा बिर्सन नसक्ने व्यक्तिहरू बन्न सफल भएका छन् । 

कक्षा १२ लगभग सकिन लाग्यो तर यो दुई वर्ष यति चाँडै कसरी बित्याे, म आफैँलाई थाहा छैन । लाग्छ, साथी भन्ने सम्बन्ध नै प्रेमिल भावनाहरूको सङ्गम हाे, जहाँ हरेकसँग आफ्नै ढङ्गबाट आत्मीयता जोडिएको छ । दुई वर्षको समयमा सँगै खेल्यौँ, सँगै बस्यौँ, सँगै घुम्याैँ, सँगै पढ्याैँ अनि सँगै नाच्याैँ पनि । तिनै यादहरूकाे साथमा हामी एक अर्काबाट टाढिँदै छाैँ । 

घरमा गर्नुपर्ने गृहकार्य विद्यालयमा हतार हतार गर्ने हामी, कुनै कामकाे बुझाउने मिति आएपछि मात्र गर्न तम्सिने हामी, साँच्चै ती सबै पलहरू सम्झन लायककाा छन् तर अब केबल तिनै तितामिठा सङ्गमका यादहरू नै हामीसँग रहन्छन् । जीवनमा धेरै साथीहरू भेटिन्छन् अनि छुट्छन् तर मेरा लागि याे दुई वर्षमा भेटिएका साथीहरू फरक र महत्त्वपूर्ण बने त्यसैले त्यति छिटाे यी यादहरू बिर्सिन्छु जस्तो लाग्दैन ।

एक अर्कालाई गृहकार्य गर्न सघाउनेदेखि लिएर एक अर्कालाई जिस्काउन, झगडा गर्न, अनेक थरि नाम राख्न अनि शिक्षकहरूकाे नक्कल गर्नसमेत कसैले छोडेन । हुन त स्कुले जीवनमा याे प्रत्येक व्यक्तिले गर्ने कुरा हाे । यसमा केही नयाँ र नौला कुराहरू छैनन् तर खै किन हो आफ्नै आत्माले अनुभव गरेका ती कुराहरू सबैभन्दा प्यारा र रमाइला लाग्दारहेछन् । अनलाइन नै भए पनि रमाइला पलहरू धेरै बितायौँ । अहिले सम्झिँदा पनि हाँसाे थाम्न नसक्ने घटनाहरू पनि टन्न छन् । जति सक्यो, आआफ्नै शैलीबाट रमाइलो गर्याैं अनि याे लगभग दुई वर्षमा अर्कालाई थोरै भए पनि चिनेका छौँ, बुझेका छौँ र एक अर्काका भावनाहरूलाई नजिकबाट महसुस गरेका छौँ । 

अन्त्यमा हामी एक अर्काबाट छुटिँदै छौँ तर सँगै बिताएका पलहरू सम्झना स्वरूप मन अनि मस्तिष्कमा सधैँ बाँधेर राख्नू । भेट हुँदा जीवनको कुनै मोडमा, तर्केर हिँड्नुको सट्टा मिठो मुस्कानले हामीले बिताएका पलहरूको सम्झना छ भनेर सङ्केत गरिदिनू । सामाजिक सञ्जाल र मोबाइल नम्बर हाेला सबैसँग, आफ्नो मपाईंत्वलाई एकछिन बिर्सेर ‘के छ साथी ?’ भनेर म्यासेज गर्न नभुल्नू ।

यो दुई वर्षमा मैले प्रत्येक व्यक्तिबाट केही न केही सिकेकी छु । फरक धारणा, फरक विचार र फरक मनस्थितिकाे विविधताभित्रको एकताले धेरै कुरा सिकाएको छ र लाग्छ, हामी सबैले सिफल स्कुलले प्रदान गरेकाे प्रेमिल वातावरणमा साँच्चै किताबी ज्ञानभन्दा बढी व्यावहारिक शिक्षा प्राप्त गरेका छौँ ।