Logo

Student Corner

घान्द्रुक पदयात्रा: सुन्दर गुरुङ गाउँको यात्रा

Written by: Ishan Raj Upadhyay - 22008, Grade XII

Posted on: 08 April, 2022

पदयात्रा विगतदेखि नै सबैभन्दा मनपर्ने साहसिक गतिविधिहरूमध्ये एक रहँदै आएकाे छ । नेपाल भूदृश्य र भूगोलको हिसाबले विविधतायुक्त देश हो । हरियालीले युक्त वन, रमणीय हिमाल, बहुसांस्कृतिक मानिसलगायतका चिजहरूले नेपाललाई पर्यटकको मन पर्ने ठाउँ बनाएका छन् । घुम्नका लागि हाेस् वा पदयात्राका लागि होस्, नेपाल संसारकै सबैभन्दा मन पर्ने गन्तव्य बनेको छ । नेपाललाई प्रिय पर्यटकीय स्थल बनाउनमा याेगदान दिने गाउँहरूमध्ये एक हाे घान्द्रुक ।


घान्द्रुक नेपालको उत्तर-मध्य गण्डकी अञ्चलको कास्की जिल्लामा अवस्थित एउटा सुन्दर  गाउँ हो । घान्द्रुक पोखराबाट गर्न सकिने सबैभन्दा रमणीय र लोकप्रिय पदयात्रा हो । घान्द्रुकले अन्नपूर्ण हिमालको रमणीय दृश्य, सुन्दर सूर्योदय र सूर्यास्त हेर्ने अवसर प्रदान गर्दछ । घान्द्रुक पदयात्रा अद्भूत गुरुङ संस्कृति, सुन्दर गाउँ, भौगोलिक भिन्नता र अन्नपूर्ण तथा माछापुच्छ्रे हिमालको मनोरम दृश्यका लागि सबैभन्दा लोकप्रिय छ ।


घान्द्रुक गाउँलाई स्थानीय भाषामा ढुङ्गाको गाउँ र कोन्डा पनि भनिन्छ । पदयात्रीहरू यहाँको उचाइ, डाँडाकाे थाप्लामा रहेकाे गाउँ, गाउँमा आवतजावत गर्नका लागि बनाइएका ढुङ्गाका खुड्किलाहरू, सुन्दर हिमालका दृश्यहरू देखेर धेरै खुसी हुन्छन् । यहाँ पुग्न अपेक्षाकृत सजिलो छ र यसको उचाइ मात्र २००० मिटर छ । त्यसैले पनि होला त्यहाँ पुग्दा लेक लाग्ने कुरामा खासै चिन्ता गर्न आवश्यक छैन । कस्तो राम्रो संयोजन, हैन त ? पदयात्रामा जान चाहनेहरूले लागि घान्द्रुकलाई प्राथमिकतामा राख्नुका कारणहरू यिनै हुन् । 


घान्द्रुकको प्रमुख आकर्षण यस क्षेत्रमा बसोबास गर्ने गुरुङहरूको अनुपम संस्कृति हो । घान्द्रुकले पर्यटकलाई गुरुङ नाचले मनोरञ्जन दिई गुरुङको परम्परागत पहिरन र गहना लगाउने अवसर दिएको छ । गुरुङको नयाँ पहिरन र परम्परागत शैलीमा तस्विर खिच्न पाउँदा पर्यटकहरू निकै हर्षित हुन्छन् । खासगरी विदेशी पर्यटकका लागि स्थानीय खाना पनि प्रमुख आकर्षण हो । घान्द्रुकले पर्यटकहरूलाई घोडसवारीको सुविधा पनि दिन्छ । घान्द्रुकको माथिल्लो पहाडमा हिउँसँग खेलेर पनि पर्यटकले रमाइलो गर्न सक्छन् ।