Logo

Student Corner

महिनावारी

Written by: Yojana Gautam - 23068, Grade XI

Posted on: 08 April, 2022

म पहिलोपल्ट महिनावारी हुँदा

आमाको धोती पहिलोपल्ट

टुक्रा टुक्रा भई पहिलोपल्ट

टालो भएको थियो ।

 

हो, म पहिलोपल्ट महिनावारी हुँदा

शरीरमा अनौठो खालको डर पैदा भएको थियो,

रातो रगत शरीरबाट निस्कँदा

हो, पहिलोपल्ट मेरो आँगन परदेश भएको थियो ।


म पहिलोपल्ट महिनावारी हुँदा

सधैँ लुटुपुटु गर्ने बुवा, हजुरबुवाको काख

पहिलोपल्ट नै अन्जान भएको थियो,

आमाले खाना पकाउँदा

लुसुक्क छिरेर तरकारी चाख्ने भान्छा

पहिलोपल्ट म महिनावारी भएर छिर्दा 

अपवित्र भएको थियो ।


बिहानीको उजेलीसँगै 

घरको मन्दिरमा छिर्ने मलाई 

पहिलोपल्ट तिनै देवीहरूलाई

छुन हुन्न भनी अपवित्र घोषित गरिएको थियोे ।


पहिलोपल्ट महिनावारी हुँदा छोएको वस्तु 

सुनपानीले चोख्याएर पवित्र बनाइएको थियो, 

तर मलाई पहिलोपल्ट महिनावारी हुँदा

सात सात दिनसम्म अपवित्र बनाइएको थियो ।