Logo

Student Corner

मेरो कपाल खौरिएको छ…

Written by: Safal Gautam - 22016, Grade XII

Posted on: 06 April, 2022

मेरो प्रश्न यहाँका सबै केटाहरूलाई छ । अरू केटाहरूले लामो कपाल राखेर उनीहरू फिल्मको हिरोभन्दा कम देखिँदैनन्, जसले गर्दा हामीलाई पनि उनीहरूजस्तै बन्न मन लाग्छ, होइन त ? मलाई अरूको बारेमा थाहा छैन तर यो मेरा लागि भने दिनदिनैको सोच थियो । मैले मेरो कपाल काट्न छोड्ने र यसलाई बढ्न दिन चाहन्छु भन्ने निर्णय गरेको समय त्यतिबेला थियो, जब मैले मेरो दाइलाई त्यस्तै गरिरहेको देखेँ । म त्यो समयमा सोझो थिएँ र बच्चै थिएँ त्यसैले मलाई लाग्यो कि यदि उसले यो गर्न सक्छ भने म पनि गर्न सक्छु ।

कपाल नकाट्ने निर्णयमा अडिग रहनुको अर्को मुख्य कारण के. जी. एफ हेरेपछिकाे प्रभाव थियो । त्यो लामो कपालमा रकी कति खतरा देखिन्थ्यो, त्यसैले मलाई पनि त्यस्तै देखिन मन लाग्यो । मेरो कपाल पाल्ने यात्रा यसरी सुरु भयो । लकडाउन र कक्षा १० को अन्त्यले मेरो यो विचारलाई समर्थन गर्‍यो किनकि मेरो कपाल काट्ने कोही नाउ थिएन र मलाई मेरो स्कुलले फेरि कपाल काट्न बाध्य पार्न सक्दैनथ्यो । 

मेरो यो यात्रामा निस्सन्देह धेरै चुनौतीहरू थिए । मेरो हजुरबुबा बितेपछि कपाल काट्नुपर्ने हो कि भनेर म आत्तिन थालेँ तर पछि व्रतबन्ध गर्नेले मात्र कपाल काट्नुपर्दो रहेछ भनेर थाहा पाएपछि राहतको सास फेरेँ । यस प्रकारको सोच खराब छ, मलाई थाहा छ तर म साँच्चै मेरो लामो कपाल राख्न चाहन्थेँ, जसलाई बढ्नका लागि ३ महिना लागेको थियो ।

मैले सामना गरेको अर्को चुनौती त्यतिबेला थियो, जब मेरो थप अध्ययन पूरा गर्न उच्च शिक्षा हासिल गर्ने विद्यालय छनोट गर्ने समय आयो । पहिले मैले सुनेको थिएँ कि कलेजहरूले कपाल बढाउन अनुमति दिन्छन् तर पछि मैले सुनेँ कि त्यो केवल एक झुटाे प्रतिज्ञा थियो । अझ मैले पहिलो पटक प्रयास गर्न चाहेका कलेजहरू कपालकाे मामिलामा अत्यन्त कडा थिए ।

त्यतिबेला मैले सोचेँ कि भगवान्‌ले मलाई “कपाल काट् ।” भनिरहनुभएकाे रहेछ तर त्यसपछि मुक्तिदाताजस्तै गरी डी. एस. एसको खबर मतर्फ दौडियो । सुरुमा मलाई कुनै आशा थिएन तर जब मैले आकर्षक सेवाहरू र यस विद्यालयले विद्यार्थीहरूलाई गर्न दिने कुराहरू हेर्न थालेँ, मैले निर्णय गरेँ कि मेरो भाग्यमा यही विद्यालय लेखिएको हो । यो भन्नु ठुलो कुरा होइन तर इमानदारीपूर्वक भन्नुपर्दा म डी. एस. एसमा आउनुको मुख्य कारणहरू यसका अतिरिक्त क्रियाकलापहरू र यसले विद्यार्थीहरूलाई कपाल बढाउन अनुमति दिने नियम हुन् । 

त्यसपछि मैले जीवनको आनन्द लिन थालेँ । मेरो कपाल मैले चाहेकोजस्तो लामो भयो । मलाई लाग्यो कि म राम्रो देखिन्छु र अचानक म चर्चाकाे विषय बन्न पुगेँ तर यात्राको अंश अन्त्य हो । अन्ततः मेरो व्रतबन्धको दिन तय भएको खबरले गर्दा यो आरामदायी जीवन एक्कासि टुट्यो । मसँग कपाल पाल्नका लागि जम्मा २ हप्ता मात्र बाँकी थियो । मैले पूरै २ वर्ष पालेकाे कपाल ! सुरुमा कति खुसी थिएँ, अहिले कति दुःखी छु । 

मेरो कपाललाई बिदाइ गर्ने दिनको समय नजिक आयो । मलाई थाहा थियो कि अन्ततः कपाल काट्नु अपरिहार्य हुने छ त्यसैले मैले प्रतिरोध छोडेँ । के. जी. एफ. को रकी बन्ने सपना थियो, म के बनेँ ? हाउसफुल ४ को बाला हुन पुगेँ म । जब मेरो कपाल खौरन थालियाे, मैले मेरो कपालसँग बिताएका समयको सम्झना गर्दा विगत २ वर्षको सम्झना मेरो आँखाअगाडि चम्कियो । म कसरी दुःखी नहुनु ? मेरो कपाल मसँग महामारीभर थियो ।

ठिकै छ । मलाई लाग्छ, सबै ठिक हुने छ । कम्तीमा मसँग त्यो लामो कपालबाट बनेको टुप्पी छ । मात्रामा थोरै कपाल भए पनि, म यो टुप्पीलाई कहिल्यै काट्ने छैनँ र बढ्न सकुन्जेल यसलाई बढ्न दिने वाचा गर्छु ।