Logo

Student Corner

जीवनमा शिक्षाको भूमिका

Written by: Shreejal Khatri - 22024, Grade XII

Posted on: 01 April, 2022

मान्छे आँखा भएर मात्रै चेतनशील हुँदैन । चेतनशील हुन उसभित्र साक्षरताको ज्योति पनि  रहनु अति नै आवश्यक छ । मानिसहरू खानलाउनका लागि मात्र पनि जन्मेका होइनन् । मानिसको जीवनमा केही लक्ष्य हुनुपर्छ । केही पनि काम गर्नुभन्दा अगाडि उसले त्यसबारे कुराहरू जान्नुपर्छ, जसमा परेर मात्र होइन पढेर पनि जान्न सकिन्छ । 


शिक्षाले शिक्षित हुने मात्र होइन, प्रत्येक जीवनमा आइपर्ने कुरामा सजग हुन पनि सिकाउँछ । शिक्षा छोराका लागि मात्र होइन, छोरीका लागि पनि त्यतिकै अपरिहार्य छ । यो कुरा सहरतिर बढी प्रचलित भए पनि अचेल गाउँघरतिर पनि प्रचलनमा आएको छ । यसैले जीवन जिउनुका साथै देश विकासका कुरा तथा वर्तमान समयको परिस्थितिबारे जान्न बुझ्न पनि शिक्षाको आवश्यकता छ । यस्ता अनेक कुरामा आफ्नो ज्ञान प्रकट गरेर यसप्रति निर्णय दिन सक्ने क्षमता विकसित गर्न पनि जीवनमा शिक्षाको भूमिका अपरिहार्य छ । यो राम्रो हो र के नराम्रो हो भन्ने छुट्याउन अथवा मानिसलाई मानिस बनाउन शिक्षाको एकदम ठुलो भूमिका रहन्छ । शिक्षा भनेको परीक्षा उत्तीर्ण गरेको प्रमाणपत्र लिन वा कुनै जागिर खानका लागि मात्र उपयोगी हुने भन्ने हुँदैन । शिक्षा भनेको निकै महत्त्वपूर्ण कुरा हो । यसको केही पनि सीमा हुँदैन । त्यसैले याे प्रत्येकको व्यक्तिकाे जीवनभरिका लागि अत्यावश्यक कुरा हो ।


को मान्छेले कस्तो बानी व्यहोरा देखाउँछ भन्ने कुरा पनि शिक्षाले नै देखाउँदछ । हामीलाई शिक्षा जता पनि चाहिन्छ, चाहे त्यो ठुलै ठाउँमा होस् या सानो ठाउँमा । धनसम्पत्ति सकिए वा रुपियाँ पैसा सकिए पनि शिक्षित व्यक्तिले आपत्‌मा पर्नु पर्दैन किनभने उसलाई त्यसबेलाको के गर्नुपर्छ भनेर शिक्षाले नै सल्लाह दिन्छ अथवा शिक्षा लिएकै कारण आफ्नो बचाउका लागि उसले उपायहरू खोज्न सक्छ । आफू समस्याबाट बच्न मात्र होइन, शिक्षाबाट मानिसले आफ्नो परिवार, आफ्नो समाज र आफ्नो देशका लागि नै भलो हुने  उपाय निकाल्न सक्दछ । त्यसैले गर्दा जुन देशमा शिक्षाको अभाव छैन र राम्रो स्थिति छ, त्यहाँ व्यवस्थाको विकास पनि निकै अघि बढ्ने सम्भावना त्यति नै धेरै हुन्छ । जीवन पनि जहिले खुसीले भरिएको हुँदैन र जीवनमा निकै धेरै घटनाहरूका कारण समस्याहरू आइरहने गर्दछन् र यसको उपाय निकाल्न मानिसलाई शिक्षाले नै सजिलो पार्दछ । मानिसहरूले भन्छन्, प्रमाणपत्रहरू नै सबैभन्दा ठुला कुरा हुन् तर यस्तो होइन । प्रमाणपत्र भए तापनि यदि आफ्नो बानी व्यहोरामा नकारात्मक प्रभाव छ भने शिक्षा प्राप्त गरेको केही महत्त्व हुँदैन र कसैले पनि त्यस्ता मानिसहरूलाई काम वा जागिर दिँदैनन् । 


हाम्रोजस्तो देशमा शिक्षालाई आर्थिक उन्नति गर्ने परिधिमा राखेर हेर्ने चलन छ । शिक्षालाई सीमित घेरामा राखेर हेर्नु नै मूर्खता हो । शिक्षा त विविध विषयका समस्याको समधान गर्ने, नयाँ नयाँ उपायद्वारा दूरदर्शिता कायम गर्ने, राष्ट्रियताको भावना जगाउने, मानिसलाई मनवता सिकाउने इत्यादि पक्षहरूलाई सकारात्मक रूपमा लैजाने आधार हो त्यसैले शिक्षा निकै महत्त्वपूर्ण हुन्छ ।