Logo

Student Corner

गर्भपतनमा महिलाकाे पहुँच

Written by: Jubin Maharjan - 22026, Grade XII

Posted on: 30 March, 2022

गर्भपतन भनेको गर्भावस्थाको अन्त्य गर्ने विधि हो, जसमा जन्मनुअघि नै पाठेघरबाट भ्रूण हटाइन्छ । गर्भपतन एक धेरै विवादास्पद विषय हो किनकि यो जीवन वा मृत्युका बारेमा लिइने निर्णय हो । यो अनिच्छित गर्भावस्था समाप्त गर्ने सबैभन्दा सुरक्षित तरिकाहरूमध्ये एक हो ।


वर्तमान समयमा विश्वका अधिकांश देशहरूले गर्भपतनको पहुँचलाई अनुमति दिएका छन् । तिनीहरूमध्ये केहीले बिना प्रतिबन्ध गर्भपतन गर्ने अनुमति दिएका छन् भने केहीले आमाको जीवन बचाउनुपर्ने अवस्थामा मात्र गर्भपतन गर्ने अनुमति दिएका छन् तर अहिले पनि कतिपय देशमा महिलालाई गर्भपतन गराउने अनुमति छैन । अझै पनि गर्भपतनलाई अनुमति नदिने केही देशहरू हुन्; फिलिपिन्स, इजिप्ट, मेडागास्कर, इराक आदि । अधिकांश देशहरूले धार्मिक र भावनात्मक विश्वासका कारण गर्भपतनमा प्रतिबन्ध लगाएका छन् तर मेराे विचारमा सन्तान जन्माउने वा नजन्माउने सवालमा निर्णय गर्ने अधिकार महिलामा निहित हुनुपर्छ ।


गर्भपतनमा प्रत्येक महिलाकाे सही पहुँच हुनुपर्छ । यदि कुनै महिलामा अनिच्छित गर्भधारण भयाे भने बच्चा जन्माउने वा नजन्माउने कुरामा उनको छनाेट हुनुपर्छ । एक महिलालाई यो छनाेटमा प्रतिबन्धित गर्नु अनैतिक छ । यदि कुनै परिवारमा आर्थिक सङ्कट छ र बच्चा जन्माउने स्थिति छैन भने उनीहरूलाई गर्भपतनको अधिकार हुनुपर्छ । त्यस्ताे अवस्थामा बच्चा जन्माउँदा तिनीहरूको आर्थिक सङ्कट झन बढ्न सक्छ ।


गर्भपतनको विरुद्धमा रहेका अधिकांश मानिसहरू गर्भपतन एकदमै असुरक्षित प्रक्रिया हो भन्ने सोच्छन् तर गर्भपतन गराउनु सबै अवस्थामा हानिकारक मात्र नहुन सक्छ भन्ने कुरा उनीहरूले बुझ्दैनन् । महिलाहरूले अवैध वा घरेलु गर्भपतन गर्छन्, जुन महिलाको स्वास्थ्यका लागि निकै खतरनाक र जोखिमपूर्ण हुन्छ । पेसेवर डाक्टरले गराएको गर्भपतन सुरक्षित हुन्छ र गर्भपतन गर्न पाउनु हरेक महिलाको अधिकार हुनुपर्छ ।